Safal Khabar - अलमलिएको नेपाली समाज
शुक्रबार, २६ असार २०७७ (Friday, 10 July, 2020)
विस्तृतमा हेर्नुहोस् »
विचार

अलमलिएको नेपाली समाज
सोमबार, ०८ असार २०७७, १७ : १७
अलमलिएको नेपाली समाज
साङ्केतिक फोटो

– वीरेन्द्रमणि पौडेल

मानव हुनुको नाताले कुरा पहिले मान्छेकै गर्नुपर्छ । विगतदेखि वर्तमानसम्ममा संसारका मानव समाज परिवर्तन हुँदै गएका छन् । विश्व मानव आज विज्ञान र प्रविधिका हिसाबले र उत्पादनका हिसाबले निकै अघि बढे । बडेबडे चुनौतीसँग सजिलै सामना गर्न सक्ने भए । कुनै न कुनै कामको खोजीमा तल्लीन रहे जसका कारण मानव हितमा हुने खालका आविष्कारहरु समेत हुँदै गए । 

नेपाली समाजलाई गहिराईमा गएर अध्ययन गर्ने हो भने यो समाज खासै परिवर्तन भएको छैन । हिजो साइकल, मोटरसाइकल र अनेक नामका गाडीहरु थिएनन्, अहिले छन् । यसैलाई समाज परिवर्तन भन्न मिल्ने हो भने बेग्लै कुरा तर यदि मानसिक फराकिलोपनलाई विशुद्ध समाज परिवर्तन भनिने हो भने समाज परिवर्तन भएको छैन, जहाँको त्यहीँ छ । पहिले स्कुल, कलेजहरु थिएनन् । अक्षर पढ्ने अवसर थिएन । लेख्ने मौका थिएन । आज देशभरि कुनाकाप्चासम्म स्कुल, कलेज छन् । पढ्ने पढाउने ब्यबस्था राम्रै छ । देशमा पढेलेखेका मान्छेहरुको संख्या पनि बढेकै छ । फेरि पनि पढेलेखेका मान्छेको संख्या बढ्दैमा समाज परिवर्तन भएको भन्ने हो भने फरक कुरा, होइन भने आज पनि एक नेपाली नागरिक साँघुरो विचारको घेराभित्र थुनिएकै छ । 

Yeti Diistillery

शिक्षित होस्, अशिक्षित होस् वा अर्धशिक्षित भन्न मिल्ने खालका मानिस किन नहुन्, कुसंस्कारको जालोभित्र लपेटिएकै छन् । नेपाली समाजमा कानुनी हिसाबले बन्देज लगाइएको भएपनि भित्रभित्र जातभातका कुराले मान्यता पाएकै छन् । धनका हिसाबले आफू धनी बन्न अरुलाई गरीब बनाउने खेलमा सक्रिय भएकै छन् । विश्व मानवले बुझ्दै गएको छ कि आर्थिक भ्रष्टाचारले देशलाई कुँजो बनाउँछ, र दुनियाँको अगाडि नतमस्तक भएर बाँच्नुपर्छ । अब जहाँसम्म सवाल नेपाली नागरिक समाजको छ, समाजका गनिएका मानिएका र पढेलेखेका मानिसहरु नै आर्थिक भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । आज देशभरिका जेलहरुमा आर्थिक भ्रष्टाचार काण्डमा जति पनि थुनिएका छन् ती अपवादलाई छाडेर सबै पढेलेखेका र गनिए मानिएका मानिस नै छन् । 

यो समाजका मानिसहरु कतिसम्म नक्कली काम गर्न अभ्यस्त छन् भने कमजोर र कम बुझेका आफन्त वा दाजुभाइका जग्गा सम्पत्ति     छलछाम विद्याद्वारा कब्जा गर्छन्, समाजका टाठाबाठाहरुले औंलो नउठाउन् भन्ने उद्देश्यले तिनै टाठाबाठाहरुको नेतृत्वमा सञ्चालित स्कुल र मन्दिरलाई चर्चालायक रकम चन्दा दिन्छन् । एकातिर समाजसेवी भनाउन पाइने अर्कोतिर कमजोरको धन सजिलै पचाउन पनि पाइने । यो खालको खेल समाजका कुनाकाप्चामा आज पनि निर्धक्क खेलिएको छ । कमजोर लुटिएको लुटियै छ । नक्कली समाजसेवीहरु छातीमा नाङ्लाजत्रा ब्याच झुण्ड्याएर भाषण ठोकिरहेका पनि छन् । यो क्रमले निकै लामो समयदेखि निरन्तरता पाइएको छ । 

दुनियाँ अनेकौं सिर्जनशील काममा ब्यस्त छ तर नेपालमा आज पनि काम गरेर खाँदा इज्जत जान्छ भन्ने मान्छेहरुको संख्या हजारमा होइन, लाखमा छ । एक परिवारको मुलीले महिना दिनसम्म हाडछाला घोटेर कमाइ गर्छ । त्यो कमाइमा रजाईं गर्नेहरु बाँकी सबै परिवारका सदस्य हुन्छन् । काम गर्न पर्छ भन्ने चेत कसैको दिमागमा छैन । उमेर पुगेका र पाका पुरुषहरुमात्रै होइन, सरकारी जागिरबाट सेवानिवृत्त भएकाहरु समेत समाजलाई धमिलो बनाउन कम्मर कसेर लागेका भेटिन्छन् । यिनलाई पेन्सन दिएको सेवा बापत हो । सेवा बापत अशक्त अबस्थामा बाँच्न कठिनाइ नहोस् भन्ने उद्देश्यले हो तर सरकारले पालिदिएको अबस्थामा कम्तिमा कुनै पनि खालको समाजसेवामा आफूलाई ब्यस्त राख्नु पर्नेमा सरकारी मानो खाएर समाजलाई धमिलो पार्ने काममा लाग्नुलाई उदेकलाग्दो अबस्था बाहेक अरु भन्न सकिन्न । पेन्सन हाम गर्ने सबका सब यस्तै हुन् भन्दा अन्याय हुनसक्छ तर बहुसंख्यक सरकारी सम्मानस्वरुप पेन्सन लिनेहरुले देश र जनताको लागि बाँकी जीवन प्रयोग गरेका छैनन् । 

अब महिलाहरुको कुरा गरौँ । अपवादलाई छाडेर आज पनि समाजका बहुसंख्यक महिलाहरु साँझबिहान जसोतसो ढिँडोभात पकाउने गर्छन्, बाँकी समय पूरै खेर फाल्छन् । अरु महिलाको नकारात्मक टिप्पणी गरेर वा आफ्नो फूर्तिफार्तीका कुरा गरेर जुनी काटिरहेका छन् । केही समयअघिसम्म भारतीय टेलिसिरियल हेरेर जुनी काट्थे हिजोआज मोबाइलमा फेसबुक र युट्युबमा मुन्टो जोतेको जोत्यै दिन काट्छन् । यस्तो खालको नकारात्मक सामाजिक परिवर्तन देखिएको छ । 

हिजोका दिनमा मुलुकभित्रका जनतालाई पुग्ने अन्न उत्पादन हुन्थ्यो । भोकमरी शव्द पढ्न लेख्न त पाइन्थ्यो तर त्यो शव्दसँग डराउन पर्थेन तर आज उस्तैपरे देशभित्र कुनै क्षेत्रका जनता भोकमरीको चपेटामा पर्न सक्ने खतरा बढेर गएको छ । देशभित्र अन्न उत्पादनका लागि सक्रियता बढाउनु पर्छ भन्ने चेत कसैमा खुलेन । अहिले विश्व मानवलाई नोबल कोरोना भाइरसले लखेटिरहेको छ । संसारको सबैभन्दा शक्तिशाली र धनीमध्येको एक राष्ट्र संयुक्तराज्य अमेरिका समेतले कोरोना भाइरसलाई पराजित गर्न सकेको छैन भने नेपाल त हरेक कोणबाट कमजोर छ नै, कम्तिमा यस्तो डरलाग्दो अबस्थामा हरेक नेपालीबीच एकता हुन जरुरी थियो । त्यही एकताको बलमा कोरोनाबाट बचेर आर्थिक र सामाजिक ब्यबस्थापन कसरी ठीक राख्ने छलफल र बहस गर्न पथ्र्यो । तर दुर्भाग्य ¤ आज पनि नेपाली नेपालीबीच आत्मीय एकता नभएको मात्रै होइन, सानो शीर्षकलाई समेत पहाड जत्रो बनाएर मारपिटमा उत्रिने अभ्यास गरिएको छ । 

उदाहरण केही दिनअघिको रुकुम जाजरकोट हत्याकाण्डलाई लिन सकिन्छ । दलित भन्ने गरिएका एक युवा नवराज र ठकुरी भन्ने गरिएकी एक युवतीको प्रेमसम्बन्ध अघि बढेको अबस्थालाई केटी बस्ने समाजकाहरुले पचाएनन् । कुसंस्कारमा जकडिएका र यो जात त्यो जात भन्ने समाजले नवराज र उनका साथीहरुलाई लखेटीलखेटी चिर्पट र मुक्काले हिर्काए । भो भो गल्ती भो नकुट भन्दै दुई हात जोडेर माफी मागे । र पनि तिनलाई कुट्न छाडिएन । 

जन्मिँदा कसैले हातमा जात बोकेर आएको हुँदैन । जात त जन्मिएपछि कसैले भनिदिन्छ । जन्मँदा सबै एकनासले शुद्र हुन्छन् । पछि गरिने कामका आधारमा मान्छेको पहिचान बदलिन सक्छ । उमेर पाको भएपश्चात् कसैले आफूलाई मानव लगायतका प्राणीहितमा समर्पित् गर्छ भने उसलाई त्यतिबेला ब्राह्मण भन्न मिल्ला । विचारमा शुद्धता ल्याएर समाज सुधारको मार्गमा हिँड्छ भने उसलाई उत्तम मानव भन्न मिल्ला । यसको विपरित मानव मूल्य र मान्यताविरुद्ध समाजलाई प्रदुषित गर्ने काममा जोकोही लाग्छ भने आफ्नो थरको पछाडि कसैले कुनै उच्चब्राह्मण परिवारमा जन्मिएको बताएपनि उ तल्लो तहको निकृष्ट मानव हो । 

मान्छे उच्च शुद्ध कर्मले हुन्छ, न कि कुनै यो वा त्यो जातले । यसलाई ठूलै दुर्भाग्य भन्नुपर्छ नेपाली समाजको चित्त फराकिलो हुन नसक्दा, समाज परिवर्तन हुन नसक्दा फोकटमा एक जना प्रेमी नवराज लगायत अन्य पाँच जना होनाहार युवाहरुको रुकुममा ज्यान गयो । संसारमा हाताहाती महत्व हुन्छ भने युवा उमेरका मान्छेको महत्व हुने हो । युवा उमेरकाले नै संसार हाँकिरहेका हुन्छन् । उत्पादन र आविष्कार युवाहरुले नै गर्ने हो । युवाको मेहनत र बुद्धिले समाजलाई सन्तुलित राख्ने हो । बृद्धबृद्धालाई पहिले मानव समाजलाई स्थापित गर्न सेवा गरेबापत पुरस्कारस्वरुप सम्मानसहित पालनपोषण गर्नुपर्छ । बच्चाको भविष्य हुन्छ, युवाको वर्तमान हुन्छ तर बृद्धको वर्तमान र भविष्य दुवै हुँदैन । यसरी जुनकोणबाट हेर्दा पनि युवाको महत्व झल्किन्छ । र पनि समाज परिवर्तन नहुनुको कारणबाट केही दिनअघि ६ जना नेपाली युवाहरुको अनाहकमा ज्यान गयो । 

यस्ता अमानवीय घटनाहरु नेपालमा यसपटक मात्रै भएको होइन, पहिले पनि भएका हुन् तर यस्तो जघन्य हत्या नै भएको चाहीँ पहिलो नै हुनुपर्छ । यसपटक हत्यामा संलग्नहरुलाई सम्मानित अदालतले पक्कै पनि कानुन बमोजिम सजाय दिन्छ नै तर समाज परिवर्तन नभएसम्म यस्ता खालका घटनाहरु दोहोरिन्छन् भन्नेतर्फ सचेत भने हुनैपर्छ । जबसम्म नेपाली मान्छेहरुको विचारमा फराकिलोपन देखा पर्दैन तबसम्म समाज परिवर्तनको कल्पना गर्न सकिन्न । जबसम्म समाज परिवर्तन हुँदैन, तबसम्म न आर्थिक भ्रष्टाचारको अन्त्य हुन्छ, न त यस्ता खालका भेदभाव र मारपिटको अन्त्य भएर मुलुक समृद्धिको दिशातर्फ नै उन्मुख हुन्छ । पहिलो र अन्तिम सत्य योभन्दा अर्को हुन सक्दैन ।

प्रतिक्रिया दिनुहोस