स्पेनिस ला लिगा फुटबल

उपाधिको होडमा रियल मड्रिड

एजेन्सी

सोमबार, ०८ असार २०७७, ०८ : २२
उपाधिको  होडमा रियल मड्रिड

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा रियल मड्रिडले बार्सिलोनालाई पछि पारेर अंक तालिकाको शीर्षस्थानमा पुगेको छ ।

अवे मैदानमा भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई २–१ पराजित गरेको हो । पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेन । ५० औँ मिनेटमा पाएको पेनाल्टीमा सर्जियो रामोसले गोल गर्दै मड्रिडलाई अग्रता दिलाए । ७० औँ मिनेटमा करिम बेन्जिमाले गोल गरेपछि रियल मड्रिडको अग्रता दोब्बर भयो । रियल सोसिडाडका लागि ८३ औँ मिनेटमा मेरिनोले एक गोल फर्काए ।

करिम बेन्जिमा रियल मड्रिडको इतिहासमा ला लिगामा सबैभन्दा बढी गोल गर्ने खेलाडीको सूचिमा चौथो स्थानमा छन् । उनले अहिलेसम्म क्लबका लागि ला लिगामा १६५ गोल गरेका छन् । जितपछि जिनेदिन जिदानको क्लब रियल मड्रिड समान खेलबाट समान अंक तर गोल अन्तर कम भए पनि हेड टू हेडमा अघि रहेका कारण बार्सिलोनालाई पछि पारेर शीर्ष स्थानमा उक्लिएको हो ।

३० खेलबाट रियल मड्रिड र बार्सिलोनाको समान ६५ अंक भएको छ । लिगका अब ८ चरणका खेल हुन बाँकी छ । उपाधि होडमा रियल मड्रिड र बार्सिलोनाको तिब्र प्रतिष्पर्धा देखिएको छ । आइतबार राति नै भएका अरु खेलमा सेल्टा डी भिगोले एलाभेसलाई ६–० तथा भ्यालेन्सियाले ओसासुनालाई २–० ले पराजित गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस