शंकर पोखरेलको फेरि काठमाडौंमा बाक्लियो दौडधुप !

ओलीका विशेष दुतका रुपमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल कहिले प्रचण्ड निवास त कहिले नेपाल निवास धाउन थालेका छन्

सफल खबर संवाददाता

शुक्रबार, ०५ असार २०७७, ०९ : २५
शंकर पोखरेलको फेरि काठमाडौंमा बाक्लियो दौडधुप !

काठमाडौं । जब जब पार्टीमा अप्ठयारो आइलाग्छ, प्रधानमन्त्री ले पार्टीभित्र सम्झने पात्र हुन् शंकर पोखरेल । स्थायी समिति सदस्य समेत रहेका पोखरेल अहिले प्रदेश ५ को मुख्यमन्त्री छन् । ओलीले पार्टीमा अप्ठयारो आइलाग्दा त्यसको संकट मोचनका उपाय खोज्न र नेताहरु कँहा दौडधुपमा लगाउनका लागि पोखरेललाई काठमाडौंमा बोलाएर परिचालन गर्ने गर्छन् ।  

गत वैशाखमा ओलीले पार्टी विभाजन गर्ने, सम्बैधानिक परिषद्मा प्रतिपक्ष विहिन अवस्थामा पनि बहुमतका आधारमा निर्णय लिन सक्ने जस्ता विषय समेटेर दुई अलग अध्यादेश मुलुक लकडाउनमा रहेका बेला अगाडी सारे । त्यो उनले पार्टीभित्रको आफ्नो संकट टार्नका लागि ल्याएका थिए । तर यो अध्यादेश प्रकरण पछि ओली पार्टीमा यति कमजोर भएकी उनी उक्त अध्यादेशमा एक साता सम्म पनि टिक्न सकेनन् र फिर्ता लिन बाध्य भए । त्यसबेला ओलीले पार्टीभित्र्रै आईपरेको संकट टार्न प्रदेश ५ को मुख्यमन्त्री पोखरेललाई काठमाडौं बोलाएर परिचालन गरेका थिए ।

अहिले पनि ओलीले पोखरेललाई काठमाडौं बोलाएर परिचालन गरेका छन् । पोखरेलले गत वैशाखमा प्रचण्डसँग भेटेर ओली र प्रचण्ड मिल्नुपर्ने लविङ गरेका थिए भने वरिष्ठ नेता माधव नेपाल कँहा पुगेर पूर्व एमाले समुह मिल्नुको विकल्पै नरहेको प्रस्ताव बोकेर कुदेका थिए ।  उनको त्यस्तो दोहोरो चरित्रका कारण कतिपय नेकपाका नेताहरुले पोखरेलको दोहोरो रवैया रहने गरेको भन्दै नेताहरुलाई भुलभुलैयामा नलाग्न अपिल समेत गरेका थिए । अहिले पनि प्रधानमन्त्री ओली अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) का कारण अप्ठयारोमा छन् ।

उनी संसदबाट उक्त सम्झौता पारित गर्न चाहिरहेका छन् । तर पार्टीमा उनको त्यो चाहना अनुसारको वातावरण छैन् । १६ असारभित्र यस विषयमा संसदले कुनै न कुनै निर्णय लिइसक्नु पर्ने चेपुवामा प्रधानमन्त्री छन् ।  सोही कारण आफुमाथीको समस्याको पार लगाउने उदेश्यले उनले फेरि मुख्यमन्त्री पोखरेललाई काठमाडौं बोलाएर परिचालन गरेका छन् । पोखरेल प्रदेश ५ को मुख्यमन्त्रीका अतिरिक्त त्यहाँको अर्थ मन्त्रालयको जिम्मामा पनि आफैं छन् । प्रदेशले बजेट केही दिन अगाडी मात्रै सार्वजनिक गरेको थियो ।

प्रदेश सभामा बजेटमाथीको छलफल चलाउनु पर्नेमा उनी ओलीको निम्तोमा नेकपाका नेताहरुको दैलोमा दुत बनेर जान बजेट माथीको छलफल नै रोकेर काठमाडौं आएका छन् । बुधबार उनी काठमाडौं आएका हुन् । काठमाडौं आएलगत्तै प्रधानमन्त्री ओलीसँग भेट गरेका पोखरेलले हिजोबाट नेताहरुसँगको दौडधुप बाक्लो बनाउन थालेका छन् । उनले हिजै नेकपाका अध्यक्ष प्रचण्डसँग उनकै निवास खुमलटारमा पुगेर भेटवार्ता गरेका छन् । ओलीको दुतका रुपमा अहिले उनको दौडधुप काठमाडौंमा बाक्लिएको छ । उनले हिजो नै वरिष्ठ नेता माधव नेपालसँग पनि भेटवार्ता गरेका थिए ।

तत्कालिन एमालेका एक नेताका अनुसार, २०५२ साल आसपासमा ओलीसँग दाँया अहिलेकी राष्ट्रपति विद्यादेवी भण्डारी र बाँया यिनै शंकर पोखरेल मात्र भरपर्दा नेता थिए । साथमा अन्य दुई थिए, कलिला नेतामा उदाउदै गरेका अहिलेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र मुख्य सल्लाहकार विष्णु रिमाल । यसबाहेक ओलीसँग त्यसबेला आफनो भन्ने भरपर्दाे कुनै नेता थिएनन् । त्यसपछि नै ओलीले मदन भण्डारी फाउन्डेसनका नाममा अनेक गुटबन्दी गर्दै आफनो समुह बलियो बनाउदै लगेका थिए । त्यसैको विकसित रुप हो अहिले नेकपाभित्र देखिएको ओली समुह । 

पार्टीमा त्यसबेला देखि नै ओलीका विश्वासपात्रका रुपमा रहेका पोखरेल अहिले कोरोनासँग प्रदेशमै बसेर जुध्ने रणनीति बनाउने, प्रदेशसभामा पेश भएको बजेट माथीको छलफलमा सहभागी हुने कामलाई छोडेर प्रधानमन्त्री ओली प्रति निम्तन सक्ेन सम्भावित संकट टार्नका लागि गर्नुपर्ने दौडधुपका लागि काठमाडौं आएका छन् । उनले कहिले खुमलटार, कहिले बालुवाटार र कहिले कोटेश्वर चक्कर मारिरहेका छन् । उनको त्यो चक्करले कति नेकपाभित्रको अहिले थपिदो संकट टार्ने हो वा होइन त्यो भने केही दिनभित्रै नतिजा देखिने सम्भावना रहेको नेकपाका नेताहरु चर्चा गर्न थालेका छन् ।  
 

प्रतिक्रिया दिनुहोस