CG Landmark

कोरोना कहर : भोकसंग लड्दालड्दै ज्यान गुमाएका एक परिवारको व्यथा

पत्रपत्रिकाबाट

विहीबार, २२ जेठ २०७७, ०८ : १०
कोरोना कहर : भोकसंग लड्दालड्दै ज्यान गुमाएका एक परिवारको व्यथा

सप्तरी । लकडाउन सुरु हुनुभन्दा महिना दिनअघि ५० वर्षीय मलर सदा मजदुरीका लागि विराटनगर गएका थिए । एक महिना जति काम गरे । लकडाउन जारी रहेको महिना दिनसम्म साहुले काम गरेको पैसा दिएनन्, बन्द खुलेपछि मात्रै पैसा आउने भएपछि उनलाई विराटनगर बसिरहन मन लागेन ।

१२० किलोमिटर पैदलै यात्रा गरेर मलर आफ्नै गाउँ सप्तरीको पथरी आइपुगे । यता घरमा रित्तिएका भाँडाकुँडा र भोको पेटसहित जीवनसंगिनी जलेश्वरी सदा श्रीमान् र उनले बोकेर ल्याउने कमाइ पर्खिबसेकी थिइन् । ‘उनी त रित्तै हात आए,’ भोकसँग पराजित भएर मलरले प्राण त्यागेको १४ औं दिनमा कान्तिपुरसँग जलेश्वरीले भनिन्, ‘साहुले बन्द खुलेपछि पैसा दिन्छन्, लिन जानुपर्छ भनेका थिए, पहिल्यै गए ।’

Yeti Diistillery Tansen Cement box

विराटनगरबाट रित्तो हात फर्किएको करिब एक महिनापछि पाँचौं दिनको भोक खप्न नसकेर गत जेठ ६ गते मलर सदाको निधन भयो । ‘५ गते बेलुकासम्म केही खानेकुरा ल्याएर आउँछु भनेर कोदालो र छाता लिएर गएका थिए, नातिले खेतमा लडिरहेको खबर पो लिएर आयो,’ जलेश्वरीले भनिन्, ‘अरू कोही थिएनन्, बुहारीहरूले बोकेर ल्याए ।’

मलर अन्नको जोहो गर्न हिँडेपछि जलेश्वरी बुहारीहरूसँगै खाना पकाउने दाउरा लिन कोसीटप्पुको जंगलमा पुगेकी थिइन् । अहिले पनि झुपडीमा उनले खोजेर ल्याएको दाउरा र गुइँठाको खात छ । तर त्यसमा पकाएर खाने अन्न छैन । केही कमाउँला भनेर भारतको गुजरात गएका मलर–जलेश्वरीका तीन छोरा उतै अलपत्र छन् ।

उनीहरू यही भएको भए कमाइ गरेर ल्याउने विकल्प बाँकी रहन्थ्यो कि ? एक महिनासम्म सडकको काम गराएर विराटनगरबाट रित्तो हात पैदलै फर्काउने ठेकेदारले कमाइको ज्याला दिएको भए पनि उनको मृत्यु भोककै कारण हुँदैनथ्यो कि  जलेश्वरीको मनमा यतिबेला यस्तै प्रश्न खेलिरहेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।