यर्थाथपरक बजेट आएको भन्दै यसपटक नेकपा नेताहरु खुसी !

प्रचण्ड भन्छन् : समाजवाद उन्मुख बाटो पक्रिने गरी बजेट आएकोमा म खुसी छु, माधव नेपाल भन्छन, यर्थाथपरक बजेट आयो, राम्रो आयो

सफल खबर संवाददाता

शुक्रबार, १६ जेठ २०७७, ०९ : १४
यर्थाथपरक बजेट आएको भन्दै यसपटक नेकपा नेताहरु खुसी  !

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७-०७८ को बजेट समेत गरी तीन वटा बजेट ल्याए । यस अगाडी सांसदकै रुपमा र यो पटक गैह सांसदको रुपमा उनले संसदमा बजेट प्रस्तुत गरिरहंदा नेकपाका नेताहरुकै मन जित्न सक्लान् ? प्रश्न चिन्ह थियो । विगतका दुई पटकका बजेटमा सत्तारुढ दलका पार्टीकै नेताहरुको मन जित्न नसकेका अर्थमन्त्रीले प्रधानमन्त्री ओलीलाई यो पटक फेरि पार्टी नेताहरुबाटै अप्ठयारोमा पार्लान् या सन्तुलित रुपमा बजेट ल्याउलान् ? नेकपाको आम पार्टी पङक्तिमा पनि चासो थियो ।

त्यसमाथी पार्टीका २० जना स्थायी समिति सदस्यले सरकारले अनाहकमा ल्याएको र पछि फिर्ता लिएको दल विभाजन गर्न सक्ने देखि सम्बैधानिक परिषद प्रतिपक्ष बिहिन बनाउन खोज्ने गरी ल्याएको अध्यादेश, सरकारको नीति तथा कार्यक्रम, बजेट र कोभिड १९ को रोकथाम र नियन्त्रणका विषयमा छलफल गर्न पार्टी बैठक माग गरिरहेका थिए । तर प्रधानमन्त्री ओलीको अनिच्छाका कारण त्यस्तो बैठक बस्न सकिरहेको थिएन् । पार्टी बैठक समेत नबोलाई सरकारले ल्याउने बजेट कति पार्टी नेताहरुलाई चित्त बुझ्दो होला ? प्रश्न नेकपा नेताहरुकै थियो ।

ओलीले पार्टीमा सल्लाह नै नगरी आफै ब्रम्हज्ञानी भएझै प्रस्तुुत हुने शैली पूरानै थियो । यसपटक पनि उनी नीति तथा कार्यक्रममा अन्तिममा पार्टी सचिवालयमा छलफलका लागि बाध्य भएपनि बजेटमा छलफलमा बस्न तयार भएका थिएनन् । यद्यपी उनले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बजेट मन्त्रिपरिषद्बाट पारित गराउनु पूर्व बालुवाटारमा झण्डै एक घण्टा सरकारले प्रस्तुत गर्न लागेको बजेटको प्राथमिक क्षेत्रहरुका विषयमा केन्द्रीत रहेर छलफल भने गरेका थिए ।

त्यसपछि सरकारले हिजो कुल १४ खर्ब, ७४ अर्ब ६४ करोडको बजेट ल्यायो । चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड, पुँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तिय ब्यवस्थापन तर्फ १ खर्ब ७२ अर्ब ७९ करोड विनियोजन सहितको बजेट अर्थमन्त्रीले सदनमा प्रस्तुत गरे । खासगरी कोभिड १९ सँग जुध्न फ्रन्टलाइनमा खटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सबै सरकारी कर्मचारीको अतिरिक्त भत्ता कटौती गर्ने, घरेलु उत्पादनका लागि आयात हुने मेसिन तथा कच्चा पदार्थको भन्सार दर घटाउने, आयुर्वेदिक कच्चा पदार्थको भन्सार महसुल घटाउने, एक दर्जन बढी वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गर्ने, १५ प्रतिशत वन पैदावर शुल्क खारेज गर्ने र २ लाख बढीलाई रोजगारी उपलब्ध गराउने सम्मका योजना बोकेर बजेट आयो ।

निर्यातमा जोड दिने र आयात कम गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि पहलकदमी लिने योजना समेत बोकेर बजेट आयो । त्यसपछि भने नेकपा नेताहरुले पार्टीभित्र औपचारिक छलफल नभए पनि बजेटको पारम्भिक प्रतिक्रियामा चित्त बुझाई नै देखिएको छ । अध्यक्ष प्रचण्डले जनपक्षिय र समाजवाद उन्मुख बाटो पक्रिने गरी बजेट आएको भन्दै प्रशंसा गरेका छन् । वरिष्ठ नेता माधव नेपालले पनि बजेट आत्मनिर्भर अर्थतन्त्रलाई बल पुग्ने गरी राम्रो ढंगले आएको टिप्पणी गरेका छन् । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालको त्यस्तो प्रारम्भिक टिप्पणीले पनि यसपटक अर्थमन्त्री खतिवडाले पार्टी नेताहरुको मन खुसी बनाएको देखिन्छ ।
 
बजेटमा नेकपा नेताहरुका टिप्पणी कस्ता छन् ?

समाजवाद उन्मुख बाटो पक्रिने गरी बजेट आएकोमा म खुसी छु
–प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा अध्यक्ष, नेकपा

 
कोरोना महामारीको विषम परिस्थितीमा पनि निक्कै सन्तुलित बजेट आएको छ । जनतालाई राहत दिने किसिमले र सिर्जनात्मक ढंगले प्रगतिशिल, जनपक्षिय र समाजवाद उन्मुख बाटो पक्रिने गरी बजेट आएकोमा म खुसी छु । यसले सबै समुदायमा त्यसमा पनि मुख्यतः निम्न वर्गका जनतालाई सम्बोधन गर्ने, राहात दिने प्रयास गरेको छ  यो सकारात्मक छ । आन्तरिक र बाह्रय ऋण, सहयोग र राजस्वको अनुमान वस्तुवादी छ ।
  
यर्थाथपरक बजेट आएको छ, राम्रो छ
– माधव नेपाल, पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता, नेकपा

आत्मनिर्भर अर्थतन्त्रमा निर्भरमा अग्रसर हुने देखि सेवा क्षेत्रका ब्यवसायहरु, ऋणमा परेका उद्योग धन्दालाई, संकटमा परेका ब्यवसायलाई के कति मात्रामा सहुलियत दिन सकिन्छ ? कसरी रोजगारी सिर्जना गर्न सकिन्छ ? आम जनतालाई सामाजिक सुरक्षाका सवालमा के गर्न सकिन्छ ? कुनमा करको दायरा बढाउने, के मा घटाउने ? आदी इत्यादी विषय समेटेर बजेट आएको छ । यथार्थमा भन्दा राम्रो बजेट आएको छ ।
 
संकटको परिस्थितीमा राम्रो बजेट आयो
– विष्णु पौडेल, पूर्व अर्थमन्त्री तथा महासचिव नेकपा

बजेट संकटको परिस्थितीमा एकदम राम्रो आएको छ । धेरै राम्रो आएको छ । हामी कोभिड–१९ को विश्वब्यापी प्रकोपसँग जुधिरहेका छौं । यस्तो बेलामा राजस्व, स्रोत ब्यवस्थापन र विनियोजनमा स्वत चुनौती रहने हुन्छ । यस्तो प्रतिकुल अवस्थामा पनि अधिकतम सिमासम्मको स्रोत ब्यवस्थापन गर्ने, कोरोना प्रकोपको सामना गर्दै मुलुकको आर्थिक जीवनलाई गतिशिल तुल्याउने, रोजगारी सिर्जना गर्ने, उत्पादन वृद्धि गर्ने र समृद्धी हासिल गर्ने उदेश्य र योजनाका साथ बजेट आएको छ । यस हिसाबले एकदम राम्रो बजेट आएको छ ।

जँहासम्म बजेटको कार्यान्वयनको प्रश्न छ, हरेक कुराको कार्यान्वयन चुनौतिपूर्ण नै हुन्छ । चुनौति सामना गरेरै कार्यान्वयन गर्ने हो , त्यो सकिन्छ । बजेट राम्रो पनि छ, कार्यान्वयन पनि हुन्छ । बजेटले कोरोनाको चुनौतिलाई सामना गर्ने, मुलुकको आथिक वृद्धिको लक्ष्य हासिल गर्ने योजनाका साथ बजेट आएको छ, त्यो एकदम राम्रो छ ।

संकट जस्तो हो, त्यसैगरी आएको छ
– सरेन्द्र पाण्डे, पूर्व अर्थमन्त्री तथा स्थायी समिति सदस्य नेकपा

अहिलेको संकट जस्तो छ, बजेट त्यसैगरी आएको छ । स्वास्थ्य क्षेत्रलाई अलिक बढी प्राथमिकता दिएको छ । शिक्षा क्षेत्र र रोजगारीको क्षेत्रमा पनि बजेट केन्द्रीत भएसंगै तालिमको क्षेत्रमा पनि यसको ध्यान पुगेको छ । सीमा पनि त्यो देखिन्छ । तर यति भएर पनि राजस्व कम उठ्छ भन्ने आकलन गरिएको छ । वैदेशिक ऋणमा बढी भर पर्न खोजिएको देखिन्छ । त्यो उठ्न र प्राप्त हुन कठिन छ । यसकारणले आर्थिक वृद्दिदर ७ प्रतिशतमा पुग्ने भनिएको छ, त्यो पूरा हुन धेरै नै उकालो पर्ने र धेरै नै चुनौतिपूर्ण हुने देखिन्छ ।

वैदेशिक सहायता नआउदा चालु खर्च बढ्दाखेरी आन्तरिक ऋण २२५ अर्ब लिन्छु भनेको छ । त्यो २२५ अर्ब पूँजीगत खर्चमा मात्र गर्ने गरी लिन्छु भनेर भनेको कुरा राम्रो हो । तर, पैसा नउठ्दा, पैसा प्राप्त नहुँदा राजस्वमा चाप प¥यो भने, राजस्वले मात्र धानेन भने आन्तरिक ऋणबाट चालु खर्चमा जाने कुरामा दबाब पर्न सक्नेछ । त्यसतिर समय देखि नै सचेत हुनुपर्ने हुन्छ । चालु खर्च कटौती गर्छु भनेर बजेटले भनेको छ , त्यो एकदम राम्रो कुरा हो । अझ त्यसमा निर्मम भएर कार्यान्वयन तर्फ ध्यान दिनुपर्छ ।
 

प्रतिक्रिया दिनुहोस