हरेक प्रदेशमा दुई राष्ट्रिय राजमार्ग निर्माण

पत्रपत्रिकाबाट

शुक्रबार, १६ जेठ २०७७, ०७ : १८
हरेक प्रदेशमा दुई राष्ट्रिय राजमार्ग निर्माण

फाईल फोटो

काठमाडौँ । सरकारले हरेक प्रदेशमा कम्तीमा दुई राष्ट्रिय राजमार्ग पुग्ने गरी सडक निर्माण अगाडि बढाइने गरी आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७/७८ को बजेटमा आगामी आर्थिक वर्षभित्र सबै जिल्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने उल्लेख गरिएको छ । त्यसैगरी पूर्व–पश्चिम राजमार्गलाई आगामी तीन वर्षभित्र एसियाली राजमार्ग मापदण्ड अनुरूपको डेडिकेटेड चार लेनको द्रुत मार्गका रूपमा स्तरोन्नति गरिने पनि उल्लेख गरिएको छ ।

उक्त राजमार्ग विस्तारका लागि १२ अर्ब २१ करोड रुपियाँ विनियोजन गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यक्रम सञ्चालन गर्न एक खर्ब ३८ अर्ब ८० करोड रुपियाँ विनियोजन गरिएको छ । पुष्पलाल राजमार्गको बाँकी निर्माण कार्य आगामी तीन वर्षभित्र सम्पन्न गर्ने घोषणा गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यसका लागि आठ अर्ब २७ करोड विनियोजन गरिएको बताउनुभएको छ ।

त्यसैगरी हुलाकी राजमार्ग निर्माण कार्य आगामी तीन वर्षभित्र सम्पन्न गर्न आगामी आर्थिक वर्षका लागि सात अर्ब एक करोड विनियोजन गरिएको छ । मदन भण्डारी राजमार्ग आगामी पाँच वर्षभित्र निर्माण सम्पन्न गर्न तीन अर्ब सात करोड विनियोजन गरिएको बजेटमा उल्लेख छ ।

उत्तर र दक्षिण सडकलाई डबल लेनमा विस्तार र स्तरोन्नति गरिने बताउँदै अर्थ मन्त्री खतिवडाले मेची, तमोर, कोसी, तामाकोसी, त्रिशूली, कालीगण्डकी, भेरी, कर्णाली, महाकाली कोरिडोर आयोजना तथा राजमार्गको निर्माण तथा स्तरोन्नतिको काममा निरन्तरता दिन सात अर्ब १६ करोड रुपियाँ विनियोजन गरिएको छ । काठमाडौँ–निजगढ द्रुत मार्ग आगामी तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण कार्य अघि बढाउन आठ अर्ब ९३ करोड विनियोजन गरिएको छ । गोरखापत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस