संक्रमितको सम्पर्कका आएका ८ को पिसिआर नेगेटिभ

रासस

आइतबार, ११ जेठ २०७७, २० : ११
संक्रमितको सम्पर्कका आएका ८ को पिसिआर नेगेटिभ

काठमाडां । बूढानीलकण्ठ नगरपालिका वडा नं १२ स्थित तेन्जिङ चोकमा बसोबास गर्ने १८ वर्षीया एक युवतीमा कोरोना संक्रमण देखिएसँगै युवतीको सम्पर्कमा आएका आठ जनाको पिसिआर जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।  

राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको जाँचमा उक्त युवतीसँगै सर्लाही रामनगर – ४ बाट आएका र काठमाडौँमा युवतीको सम्पर्कका रहेका आठ जनाको  रिपोर्ट नेगेटिभ आएको नगर स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले बताउनुभयो । 

बूढानीलकण्ठ नगरपालिकामा पहिलो कोरोना संक्रमण पुष्टि भएसँगै उक्त क्षेत्र यही जेठ ५ देखि ८ गतेसम्म  सिल गरिएको थियो । पिसिआर परीक्षण पोजिटिभ आएसँगै युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको छ । नगर स्वास्थ्य प्रमुख दाहालका अनुसार नगरपालिकामा आरडिटी र पिसिआर परीक्षण जारी छ । जोखिम क्षेत्र र अग्रमोर्चाको परीक्षणपछि अन्य क्षेत्रमा पनि निरन्तरता दिइने जनाइएको छ  । 

 नगरपलिकाले हालसम्म ४६६ जनाको आरडिटी  र १०१ जनाको पिसिआर परीक्षण गरेको बताइएको छ । चार सय ६६ आरडिटीमध्ये ३२ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।  त्यस्तै नगरपालिकाले नगरका सम्पूर्ण जनप्रतिनिधि तथा स्वास्थ्य, सुरक्षा र  सञ्चारकर्मीलगायत ९३ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको जनाएको छ ।