काठमाडौं । कोभिड –१९ को नियन्त्रण तथा रोकथामका लागि कपिलवस्तुमा स्थानीय सरकारको व्यवस्थापन कमजोर देखिएको छ । जिल्लामा स्थलगत रिपोर्टिङमा सक्रिय दुई सञ्चारकर्मीसहित नौ जनामा कोरोनाको सङ्क्रमण देखिए पनि लामो समयसम्म पालिकास्तरबाट सङ्क्रमितका विषयमा चासो नभएपछि पीडित सञ्चारकर्मी सञ्चारगृहको क्वारेन्टिनमा बस्न बाध्य भएका छन् ।
दुई सञ्चारकर्मीमध्ये एक बाणगङ्गा नगरपालिका वडा नम्बर–११ भडिहवाका २४ वर्षीय पुरुष कपिलवस्तु सञ्चार सहकारीद्वारा सञ्चालित सामुदायिक रेडियो÷टेलिभिजन ‘बुद्ध आवाज’का प्राविधिक हुन् भने अर्का २९ वर्षीय पुरुष कपिलवस्तु नगरपालिका– ३ स्थित ‘कपिलवस्तु दर्पण’का प्रबन्धक तथा ‘उज्यालो पोष्ट‘का सञ्चालक हुन् । अन्य सातमा बाणगङ्गाका पाँच, मायादेवी गाउँपालिकाका तीन र कपिलवस्तु नगरपालिकाका एक सङ्क्रमित छन् ।
उनन्तीस वर्षीय सञ्चारकर्मीले कोरोना पुष्टि भएको करीब सात घण्टा भए पनि पालिकाबाट कुनै सम्पर्क र सोधपुछ नभएको गुनासो गर्दै पटकपटक घर परिवारको कन्ट्याक्ट ट्रेसिङ हुनुपर्छ भनेर माग गर्दा पनि सुनुवाइ नहुँदा स्थानीय सरकार यतिबेला लाचार भएको अनुभूति भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब कसको मुख हेरेर बसौँ त, आफँै क्वारेन्टिनमा बसिरहेको छु । जिल्लाका सञ्चारकर्मीमा कोरोना पुष्टि हुँदा ६ घण्टा पहिले थाहा पाएको स्थानीय सरकारले सङ्क्रमितको अवस्था नखोज्दा आम नागरिक कसरी सुरक्षित होलान् ?’
टेलिभिजनका प्राविधिकको पनि उस्तै गुनासो रहेको छ । उहाँलाई कोरोना पुष्टि भएको करिब ६ घण्टा हुँदा पनि कुनै सोधपुछ भएको छैन । टेलिभिजनमा कार्यरत एक पत्रकारमा कोरोना पोजेटिभ देखिएपछि उनको नजीकमा रहेर समाचार शाखा र प्राविधिक शाखामा काम गर्ने पत्रकारका लागि सञ्चारगृहको सभाकक्षमा क्वारेण्टाइन बनाइएको व्यवस्थापक भेषराज पाण्डेले बताउनुभयो । मुलुकले महामारीको पीडा खेपिरहेका बेला सञ्चारकर्मीमा सङ्क्रमण देखिए पनि जनतालाई सुसूचित गर्ने काममा खटिएका पत्रकारले क्वारेन्टिनमा बसेर भए पनि जनतालाई सुसूचित गर्ने काम नरोक्ने जनाएका छन् ।
नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले जिल्लाका १० पालिकामा नै क्वारेन्टिन भए पनि सबै अवस्थित भएको बताउँदै सञ्चारकर्मीलाई पालिकाहरुले समन्वय गरेर विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले छिटोभन्दा छिटो संक्रमित पत्रकारको सम्पर्कमा रहेका आठ पत्रकारको पिसिआर परीक्षण गर्न माग पनि गर्नुभयो ।
बाणगङ्गा नगरपालिकाका प्रवक्ता तथा २ का वडाध्यक्ष विष्णु पौडेलले प्रदेशबाट आइसोलेशनको व्यवस्था हुन्छ भनेर कुर्दा केही ढिला भएको उल्लेख गर्दै पत्रकारका लागि आइसोलेशन निर्माणको प्रक्रिया शुरु भएको बताउनुभयो । सञ्चारगृृहको क्वारेन्टिनमा समाचार शाखामा काम गर्ने पाँच र प्राविधिकतर्फ तीनसहित आठ जना छन् । कोरोना पोजेटिभ देखिएका सञ्चारकर्मी बुद्ध आवाजको भवनमा अलग्गै कोठामा रहेको र अहिलेसम्म कहाँ कसरी उपचारका लागि पठाइने भन्ने टुंगो लागेको छैन । यसरी प्राविधिकसँग सम्पर्कमा आएका अन्य आठ कर्मचारीले भने आफँै क्वारेन्टिन निर्माण गरेर समाचार सम्पे्रषण गर्ने तयारी थालेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०९ जेठ २०७७, २० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै
इजिप्टमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला