सुरक्षाकर्मीदेखि मजदूरसम्मको कोरोना परीक्षण

रासस

बुधबार, ०७ जेठ २०७७, १९ : ५०
सुरक्षाकर्मीदेखि मजदूरसम्मको कोरोना परीक्षण

काठमाडौं । जिल्लामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि अग्रभागमा काम गर्ने सुरक्षाकर्मीदेखि मजदूरसम्मको कोरोना परीक्षण शुरु गरिएको छ । त्यसैक्रममा आज भक्तपुरका १६३ प्रहरीको कोरोना भाइरस परीक्षण गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी वृत्त जगातीको कार्यालय परिसरमा सडकमा खटिने प्रहरीको पिसिआर र आरडिटी परीक्षण गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो । 

परीक्षण गरिएकामध्ये ४७ जनाको पिसिआर र ११६ जनाको आरडिटी परीक्षण गरिएको छ । ११ जना राष्ट्रिय अनुसन्धान विभागका, ११ जना ट्राफिक प्रहरी, छ नेपाली सेना र १३५ नेपाल प्रहरीको परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो । त्यसैगरी सडकमा खटिएका सशस्त्र प्रहरी १०९ जनाको कोरोना परीक्षण गरिएको छ । जसमा ७३ जनाको आरडिटी र ३६ जनाको पिसिआर परीक्षण गरिएको सशस्त्र प्रहरी गण दुवाकोटका प्रहरी उपरीक्षक विश्व भट्टराईले जानकारी दिनुभयो । 

त्यस्तै कोरोना भाइरस सङ्क्रमणको जोखिम मजद्ूर वर्गमा पनि रहेपछि भक्तपुरका मजदूरको कोभिड–१९ को परीक्षण शुरु गरिएको छ । समानान्तर निर्माण सेवा प्रालिले आजदेखि मजदूर वर्गको स्वास्थ्यको ख्याल गर्दै कोरोना भाइरसको परीक्षण शुरु गरेको हो । भक्तपुरको सूर्यविनायक नगरपालिका अस्पताल दधिकोटमा पहिलो चरणमा समानान्तर निर्माण सेवा प्रालिअन्तर्गत सडक, विभिन्न विकासका भौतिक संरचना निर्माणको कार्यमा खटिने मजदूरको द्रतगतिको आरडिटी परीक्षण गरेको प्रालिका निर्देशक सुमन थापाले जानकारी दिनुभयो ।

यसअघि आठ जनाको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको र आज ३४ जना मजदूरको आरडिटी परीक्षण गरिएको समानान्तरका निर्देशक थापाले जानकारी दिनुभयो । परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको छ । दोस्रो चरणमा थप मजदूरको परीक्षण गराउँदै जाने र आवश्यकता परेमा मजदूरको पुनः परीक्षण गराइने निर्देशक थापाले जानकारी दिनुभयो ।

सूर्यविनायक नगरपालिका अस्पतालका स्वास्थ्य अधिकृत सुन्दरहरि श्रेष्ठले नगरपालिका अस्पतालले हिजोसम्ममा १२२ जनाको र आज ३५ जना मजदूर गरी १५७ को आरडिटी परीक्षण गराएकोमा सबैको नेगेटिभ रिपोर्ट आएको जानकारी दिनुभयो ।

अस्पतालमा दैनिक ज्वरोलगायत विभिन्न रोगको स्वास्थ्य परीक्षण, प्रसूति सेवा, परिवार नियोजन, ल्याब, स्वास्थ्य बीमाका बिरामीको परीक्षण, कोरोना परीक्षण गर्दै आएको जानकारी दिँदै एक महिनाको अवधिमा आकस्मिक कक्षमा ५१ र अन्यमा ६७० को स्वास्थ्य परीक्षण गरिएको जानकारी दिनुभयो ।