कर्णाली नदीले नेपाल–भारत सीमा क्षेत्रमा तीव्र कटान गर्दै, सीमास्तम्भ पनि नदीमा मिसिंदै

रासस

बुधबार, ०७ जेठ २०७७, १२ : १९
कर्णाली नदीले नेपाल–भारत सीमा क्षेत्रमा तीव्र कटान गर्दै, सीमास्तम्भ पनि नदीमा मिसिंदै

लम्की । कैलालीको टीकापुर–८ श्रीलङ्कास्थित कर्णाली नदीले नेपाल–भारत सीमा क्षेत्रमा तीव्र कटानी गरिरहेको छ । नदीले तीव्र कटानी गरेपछि सीमा क्षेत्रमा रहेका सीमास्तम्भसमेत जोखिममा छन् ।

यो वर्षको नदी कटानले ७०१/१ नंको सहायक सीमास्तम्भ नदीमा मिसिएको छ । नदीले दुई साताअघिदेखि कटान शुरु गरेको हो । नदीले ३०० मिटरको दूरीमा रहेको सहायक सीमा कटान बढेपछि नदीमा मिसिएको टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले बताउनुभयो । “नदी कटान तीव्र भएको छ, एक साताअघि अनुगमन गरेका थियौँ”, नगरप्रमुख रावलले भन्नुभयो, “साता नबिल्दै स्तम्भ नदीमा मिसियो ।”

प्रमुख रावलले चाहेर पनि सीमास्तम्भ जोगाउन नसकिएको बताउनुभयो । “नेपालतर्फको थुप्रै भूभाग नदीले बगाइसकेको छ”, रावल भन्नुहुन्छ, “अहिले नदी बगिरहेको ठाउँमा कुनै बेला मानवबस्ती थियो ।” यो नदी कुनै बेला कैलाली र बर्दियाको सीमा हुँदै बग्थ्यो । विसं २०४० मा नदीले धार परिवर्तन गरेर कैलालीतर्फ मोडिएको स्थानीयवासी बताउँछन् । विसं २०४० मा आएको बाढीले कैलालीका थुप्रै गाउँ नदीले बगायो । तिनै गाउँ अहिले बगर बनेका स्थानीयवासी झपट बुढाले बताउनुभयो ।

अहिलेसम्म टीकापुर नगरपालिकाभित्रका चार मुख्य र ११ सहायक सीमास्तम्भ नदीले बगाएको छ । तीमध्ये धेरैजसो मोहना नदीको कटानले बगाएको सीमा सुरक्षा बल खक्रौलाका इञ्चार्ज चन्द्रदेव भट्टले बताउनुभयो । उहाँले नदी कटानले सीमास्तम्भ हराउने क्रम जारी रहेको जानकारी दिनुभयो ।

नगरपालिकाभित्रका मुख्य सीमास्तम्भ ७०१, ७०३, ७०४ र ७०६ नदीमा मिसिएका छन् । त्यस्तै सहायक सीमास्तम्भ ७०२/२ देखि ७०२/७ सम्म, ७०४/३, ७०४/४, ७०४/६ र ७०५/३ समेत बेपत्ता अवस्थामा रहेको दुई देशको सीमा सर्भे टोलीको रिपोर्टमा उल्लेख छ । तीमध्ये धेरैजसो सीमास्तम्भ पुनःनिर्माणको समस्या भइरहेको छ । “सीमास्तम्भ भएको ठाउँमा नदी बगिरहेको छ”, सीमा सुरक्षा बल खक्रौलाका इञ्चार्ज भट्टले भन्नुभयो, “कुन ठाउँमा पुनःनिर्माण गर्ने भन्ने नै अन्योल छ ।”

कैलालीमा जम्मा २८२ सीमास्तम्भ रहेका छन् । तीमध्ये ५३ मुख्य र बाँकी सहायक सीमास्तम्भ भएको नेपालतर्फको टोली नं ४ का टोलीनेता सुदर्शन धामीले जानकारी दिनुभएको छ । “हामी मर्मतको काम गरिरहेका छौँ”, धामीले भन्नुभयो, “दुई देश नेपाल र भारत मिलेर मर्मतको काम भइरहेको छ । कतिपय सीमास्तम्भ नदी कटानका कारण बेपत्ता छन् । बेपत्ता भएका सीमास्तम्भ कसरी निर्माण गर्नु ?” (रासस)

प्रतिक्रिया दिनुहोस