कोरोनाबाट विश्वभर ९६ नेपालीको मृत्यु, ७ हजार भन्दा धेरैमा संक्रमण

सफल खबर संवाददाता

आइतबार, ०४ जेठ २०७७, ०९ : ४९
कोरोनाबाट विश्वभर ९६  नेपालीको मृत्यु,  ७ हजार भन्दा धेरैमा संक्रमण

लण्डन । कोरोना भाईरसको संक्रमणबाट विश्वभरमा ज्यान गुमाउनेको संख्या ९६ पुगेको गैर आवासीय नेपाली संघ (एनआरएन) ले जनाएको छ। एनआरएनका अनुसार कोभिड–१९ संक्रमणका कारण शनिबार सम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ९६ पुगेको हो ।

एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबै भन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा १५ जना, संयुक्त अरब इमिरेट्स्ट (युएइ) मा ९, साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्ड १, बहराइन १, स्वीडेन १ र नेपाल १, जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डा. संजिव सापकोटाले जनाएका छन्।

मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला रहेका छन् । यो साता मात्र ज्यान गुमाउनेको संख्या १८ पुगेको छ। युके १२, युएई ३, साउदी अरब २ र नेपाल १ रहेको स्वास्थ्य समितिले जनाएको छ । यस्तै, एनआरएनए स्वास्थ्य समितिका संयोजक डा। सञ्जीव सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर ६ हजार ७ सय ८१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । ती मध्य मध्यपूर्वमा ५३, अमेरिकामा २३, युरोप १९, एशियामा ५, प्रतिशतमा संक्रमणमा देखिएको छ । अष्ट्रेलियामा १ प्रतिशत भन्दा कम संक्रमण देखिएको छ भने अफ्रिकी मुलुकहरुमा रहेका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छैन् ।

संक्रमितमध्ये ३५ प्रतिशत भन्दा बढी नेपालीहरु कोरोना भाइरस संक्रमण मुक्त भबाट मुक्त भएको समितिले जनाएको छ। विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको आँकडा अनुसार ११ देशमा नेपालीहरुको ज्यान गएको छ भने बाँकी १९ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित छन्।

स्वास्थ्य समितिका अनुसार कतार २ हजार ५ सय, अमेरिका १ हजार ६ सय, युके १ हजार २ सय २१, बहराइनमा ३ सय ११, युएई २ सय, कुवेत ८४, नेपाल २८१, साउदी अरबमा ६ सय ७४, मलेसिया ४९, पोर्चुगल २९, आयरल्याण्ड २२, स्पेन १३, क्यानाडा १३, अष्टे«लिया १२, जापान १०, माल्दिभ्स १०, बेल्जियम ६, स्वीडरल्याण्ड ५, जर्मनी ४, फिनल्याण्ड ४, साईप्रस ३, न्युजिल्याण्ड ३, माल्टामा २, हङ्गकंङ्ग २, पोल्याण्ड २, म्यानमार १ र फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ ।

राहत वितरण
यसै बीच गैरआवासीय नेपाली संघले (कोभिड १९) बाट प्रभावित देशहरुमा राहत वितरण भैरहेको जनाएको छ । संघका महासचिव डा. हेम राज शर्माका अनुसार ४९ देशका ३ सय क्षेत्रमा १ हजार ६ सय भन्दा बढी स्वयमसेवक र स्वास्थ्य सेवामा ७० भन्दा बढी मेडिकल चिकित्सकहरु परिचालन गरिएको छ ।

संघका अनुसार शनिबार साँझ सम्म ३८ हजार भन्दा बढी गैरआवासीय नेपालीहरुले प्रत्यक्ष र ४० हजार भन्दा बढीले परामर्शसेवा प्राप्त गरेका छन् । मलेसिया, युएई, साउदी अरब, कुबेत, बहराइन, स्पेन, प्रोतुगल, इटाली, माल्टा, साइप्रसमा संघले करिब ५५ लाख रुपैयाँ आर्थिक सहयोग पठाएको एन आर एनले जनाएको छ।