चितवनका पत्रकारको पिसिआर परीक्षण गर्न माग

रासस

बुधबार, ३१ बैशाख २०७७, १७ : ०१
चितवनका पत्रकारको पिसिआर परीक्षण गर्न माग

चितवन । नेपाल प्रेस युनियन चितवन शाखाले आज प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै तत्काल कार्यक्षेत्रमा खटिएका पत्रकारको पिसिआर परीक्षणको व्यवस्था मिलाइदिन माग गरेको छ । युनियनका जिल्ला अध्यक्ष अनिल ढकालको नेतृत्वमा गएको टोलीले भट्टराईलाई ज्ञापनपत्र बुझाएको हो । 

    ज्ञापनपत्रमा भनिएको छ, “नेपालमा कोभिड–१९ देखिएसँगै यहाँका पत्रकारले प्रत्यक्षरुपमा कार्यक्षेत्रमा खटिएर काम गरिरहेको सर्वविधितै छ । चितवनमा रहेर कार्यक्षेत्रमा खटेर काम गरिरहेका पत्रकारको तत्काल पिसिआर परीक्षणको व्यवस्था मिलाइदिनुहुन अनुरोध छ ।” समयमा नै परीक्षण भएमा सङ्क्रमण देखिहाले ती व्यक्तिबाट धेरै फैलन नपाउने र निर्धक्कसँग काम गर्ने वातावरण सिर्जना हुने ज्ञापनपत्रमा उल्लेख छ ।  

    जिल्लाका पत्रकारलाई संस्थाले दिएको परिचयपत्रका आधारमा हिँडडुल गर्न पाउने गरी सुरक्षा निकायमा आवश्यक निर्देशन दिन र पत्रकारको सुरक्षाको माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले युनियनको मागप्रति सकारात्मक हुँदै छिट्टै कार्यक्षेत्रमा खटिएका पत्रकारको पिसिआर परीक्षण गरिने बताउनुभयो । उहाँले आफू पनि सुरक्षित भएर काम गर्न सबै पत्रकारलाई सन्देश प्रवाह गरीदिन आग्रह गर्नुभयो । (रासस)