रुपन्देहीको दक्षिण भेगमा आवतजावतमा रोक

रासस

मंगलबार, ३० बैशाख २०७७, २१ : ५३
रुपन्देहीको दक्षिण भेगमा आवतजावतमा रोक

फाईल फोटो

काठमाडौँ । कोरोना सङक्रमितको सङ्ख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले हुलाकी मार्गको दक्षिण भेगको आवतजावतमा रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार हुलाकी सडकको दक्षिण क्षेत्रमा बुधबारदेखि लागू हुने गरी आवतजावत गर्न नपाइने र कार्यालयबाट जारी भएको पास रद्द गरिएको जानकारी दिनुभयो ।  

कपिलवस्तुदेखि नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सिमानासम्मको हुलाकी सडकको दक्षिणतर्फ लुम्बिनी सांस्कृतिक नगरपालिका तथा समरीमाई गाउँपालिका, मर्चवारी, कोटहीमाई र मायादेवी गाउँपालिकाका केही क्षेत्र, सिद्धार्थनगरका केही क्षेत्र, ओमसतिया गाउँपालिकाका केही क्षेत्र र रोहिणी गाउँपालिका पर्छन् ।

रुपन्देहीको हुलाकी सडकको दक्षिण क्षेत्रमा एउटा वडाबाट अर्को वडामा आवतजावतमा समेत रोक लगाइएको प्रजिअ पन्थले बताउनुभयो । मंगलबार अपराह्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रकाशन गरेको विवरणनुसार रुपन्देहीमा नौ जना कोरोना सङ्क्रमित पुष्टि भएको थियो । कोरोना सङ्क्रमित लुम्बिनीस्थित श्रीलंकाली गेष्टहाउसको क्वारेन्टाइनमा बसेकाहरु रहेको उहाँले जानकारी दिनुभयो ।

यसअघि सोमबार मात्रै लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रावासस्थित क्वारेन्टाइनमा रहेका दुई जनामा कोरोना पुष्टि भएको थियो । मर्चवारको समरीमाईको भैसागाहनस्थित मदरसाको क्वारेन्टाइनमा रहेका चार जनामा कोरोना पुष्टि भएको थियो । रुपन्देहीमा यसअघि दुई हप्ता अगाडि कोटहीमाईको मर्चवार आदर्श माविको क्वारेन्टाइनमा बसेका एक युवकमा कोरोना पुष्टि भएको थियो । रुपन्देहीमा कोरोना पोजिटिभ देखिएका सबै भारतबाट लकडाउनकै अवधिमा लुकिछिपी आएकाहरु हुन् ।