कोरोना संक्रमण भएको तरकारी नल्याएको कारण पेस गर्न सर्वोच्चको आदेश

पत्रपत्रिकाबाट

मंगलबार, ३० बैशाख २०७७, ०८ : ३०
कोरोना संक्रमण भएको तरकारी नल्याएको कारण पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं । कोरोना भाइरसबाट संक्रमण भएको तरकारी तथा फलफूल भारतबाट नल्याएको कुनै आधार र कारण पेस गर्न सर्वोच्च अदालतले सोमबार सरकारलाई आदेश दिएको छ । न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले १५ दिनभित्र त्यस्तो आधार र कारण पेस गर्न आदेश दिएको हो ।

अधिवक्ता मणिराम उपाध्यायसमेतले भारतबाट तरकारी तथा फलफूल ल्याउँदा कोरोना भाइरसको संक्रमण हुन सक्ने भएकाले त्यसलाई रोकी पाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । कोरोना भाइरस तरकारी तथा फलफूलबाट पनि मानिसमा सर्न सक्ने सम्बन्धित विज्ञहरूले बताएका उल्लेख गर्दै रिट निवेदनमा त्यस्ता वस्तुलाई नेपालमा ल्याउन प्रतिबन्ध लगाउनुपर्ने माग गरिएको थियो ।

नेपालमा उत्पादन भएका तरकारी तथा फलफूलहरू कुहिएर गएको अवस्थामा पनि भारतबाट ठूलो रकम खर्च गरी त्यस्तो वस्तुको आयात गरिएको रिट निवेदनमा उल्लेख गरिएको थियो । भारतबाट आउने त्यस्ता वस्तुलाई रोक लगाउने हो भने कोरोनाको डर पनि कम हुने र नेपालमा उत्पादन भएका तरकारी पनि खपत हुने भनी बहस गर्ने कानुुन व्यवसायीहरूले उल्लेख गरेका थिए ।

रिट निवेदनको तर्फबाट बहस गर्ने कानुुन व्यवसायीहरू कीर्तिनाथ शर्मा पौडेल, अनन्तराज लुइँटेल, सन्तोष भण्डारी, लक्ष्मीनानी थापालगायतले भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले त्यहाँबाट तरकारी तथा फलफूल नेपाल ल्याउन नहुने गरी अन्तरिम आदेश दिन माग गरेका थिए । सर्वोच्चले अन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा आउँदो जेठ ४ गते सरकारी पक्षसमेतलाई बोलाएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस