बन्दाबन्दीले दुध उत्पादनमा कमी

रासस

आइतबार, २८ बैशाख २०७७, १० : ०६
बन्दाबन्दीले दुध उत्पादनमा कमी

फाईल फोटो

काठमाडौं । बन्दाबन्दीका कारण नवलपरासीमा पशु आहार सहजै रुपमा प्राप्त नहुँदा दुग्ध उत्पादनमा कमी आएको छ ।  दुग्ध विकास संस्थान सुनवल चिस्यान केन्द्र पश्चिम नवलपरासीका अनुसार बन्दाबन्दी पहिले दैनिक करीब २० देखि २२ हजार लिटर संकलन हुने गरेकामा अहिले घटेर १४ देखि १५ हजार लिटरमा प्रतिदिन झरेको छ  । 

बन्दाबन्दीका कारण पशु आहार पर्याप्त रुपमा नपाएपछि उत्पादनमा कमी आएको केन्द्रका कार्यालय प्रमुख विकास कार्की बताउनुहुन्छ । दुग्ध विकास संस्थान हेटौँडामा रहेको पशु आहार उत्पादन उद्योगमा समेत उत्पादन कमी आएको छ । संस्थानले सहकारी संस्थामार्फत सर्वसाधारणलाई पशु आहार बिक्रीवितरण गर्छ  । 

गाईभँैसीलाई आवश्यक पर्ने पशु आहार ब्रान, चापट र  पिना पाउन निकै समस्या छ ।  उत्पादन घटे पनि स्थानीय बजारमा बिक्री गर्न धैरे समस्या रहेको बर्दघाट –२ चिसापानी नमूना कृषि फर्म सञ्चालक शेरबहादुर आचार्य बताउनुहुन्छ ।  पश्चिम नवलपरासीमा  संस्थानको सुनवल र सरावल गाउँंपालिका– १, बासाबसहीमा चिस्यान केन्द्र छन् । दुवै केन्द्रमा २१ सहकारी संस्थामार्फत दूध संकलन हुन्छ । जिल्लामा संकलित दूध पोखरा र विराटनगर पठाउने गरिन्छ । पोखराको सुजल डेरी उद्योग र विराटनगरको दुध वितरण आयोजनामा  धुलो दूध बनाउने गरिएको छ । 

जिल्लास्थित  सहकारी संस्थाले दूध बिक्री गरेको एक महिनाको रकम पाउन सकेका छैनन् । बन्दाबन्दीका कारण एक महिनाअघिदेखिको रकम सहकारी संस्थालाई भुक्तानी गर्न नसकिएको प्रमुख कार्कीको भनाइ छ । यता स्थानीय बजारमा करीब ८० प्रतिशत र जिल्लाभन्दा बाहिरको निकासीमा ७० प्रतिशत कमी आएका कारण केही सरकारी संस्थाले दुधजन्य वस्तु घिउ र  छुर्पी उत्पादन गर्न थालेको सुनवल– ४ स्थित ज्ञानोदर डोरी उद्योगका सञ्चालक दयाराम भण्डारी बताउनुहुन्छ । 

जिल्लामा दैनिक रु १० देखि १२ लाख बराबरको दूध तथा दुग्धजन्य सामग्रीको कारोवार हुन्छ । दूधको खुद्रा बजार मूल्य प्रतिलिटर रु ७५ देखि ८० भए पनि  संस्थानले दूधको चिल्लोपना र बाक्लोपनाका आधारमा न्यूनतम रु ४० देखि रु ६० सम्म सहकारी संस्थामार्फत किसानलाई रकम भुक्तानी गर्दै आइरहेको छ ।   संस्थानका दुई चिस्यान केन्द्रमा करीब दुई हजार किसानले दूध संकलन गर्छन् । जिल्लामा करीब ५०  सानाठूला व्यवसायिक पशुपालन फर्म र एक दर्जन व्यावसायिक ठूला दुग्ध उद्योग सञ्चालनमा छन् । 

प्रतिक्रिया दिनुहोस