नेपाली भूमिमा भारतको २२ किलोमिटर सडक

पत्रपत्रिकाबाट

आइतबार, २८ बैशाख २०७७, ०६ : ४३
नेपाली भूमिमा भारतको २२ किलोमिटर सडक

फाईल फोटो

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ को गुन्जीदेखि लिपुलेकसम्म करिब २२ किलोमिटर लामो सडक भारतले निर्माण गरेको छ । सीमावारि सडक निर्माण कहिले सुरु भयो भन्नेबारे व्यासका बासिन्दालाई समेत थाहा छैन । त्रिदेशीय सीमामा अवस्थित व्यासलाई विगतदेखि नै सरकारले चासो नदिँदा भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको स्थानीयले गुनासो गरेका छन् ।

भारतले शुक्रबार तावाघाट–लिपुलेक–मानसरोवर सडक उद्घाटन गरेपछि मात्रै नेपाल सरकारले औपचारिक प्रतिक्रिया जनाएको छ । व्यासका चन्द्रसिंह बुढाले चुनावताका कालापानीको कुरा उठाउने र सत्तामा पुगेपछि कुरा नगर्ने राजनीतिक दल र नेताहरूका कारण भारतले नेपाली भूमिमै सडक खन्न भ्याएको बताए ।

‘हाम्रा नेताहरू सत्तामा हुँदा र चुनाव बाहेकको समयमा कालापानीको विषयमा बोल्दैनन्,’ उनले भने, ‘भारत र चीनले लिपुलेक नाका खोल्ने सहमति गरेपछि केही नेताहरू बोलेका थिए । पछि त्यत्तिकै सामसुम भयो । त्यसको परिणाम भारतले सडक बनायो ।’ भारतले व्यास क्षेत्रमा पञ्चायतकालदेखि नै अतिक्रमण गर्दै आएको उनले सुनाए । ‘तर त्यसविरुद्धमा कडा रूपमा प्रस्तुत हुने नेतृत्व कहिल्यै पाइएन,’ उनले भने । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस