लिपुलेकमाथि हस्तक्षेप गर्दै भारतले सडक निर्माण थालेपछि त्यसका विरुद्ध सङ्घर्ष सुरु गर्ने विप्लवको चेतावनी

सफल खबर संवाददाता

शनिबार, २७ बैशाख २०७७, २१ : ३२
लिपुलेकमाथि हस्तक्षेप गर्दै भारतले सडक निर्माण थालेपछि त्यसका विरुद्ध सङ्घर्ष सुरु गर्ने विप्लवको चेतावनी

काठमाडौं । विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले नेपालको भूमि लिपुलेकमाथि हस्तक्षेप गर्दै भारत सरकारले सडक निर्माण थालेपछि त्यसका विरुद्ध राष्ट्रिय स्वाधीनताको सङ्घर्ष सुरु गर्ने चेतावनी दिएको छ । 

पार्टी केन्द्रीय समितिका तर्फबाट पार्टी सचिवालय सदस्य एवम् अन्तर्रा्ष्ट्रिय ब्युरोका इन्चार्ज कञ्चनले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली भूमि मिचेर भारतले बाटो बनाउन खोज्दा, नेपालको भूभाग भारतीय नक्सामा सामेल गर्दा र नेपालका सीमाहरू मिचिँदा पनि संसद्वादी सत्ता मूकदर्शक देखिएकाले नेपाललाई दिन–प्रतिदिन भारतले नेपाललाई पराधीन बनाउन लागेको प्रस्ट पारेका छन् । 
उनले यस्तो दलाल पुँजीवादी सत्ताको अन्त्यका लागि सङ्घर्षमा उठ्न नेपाली जनता, सबै राजनीतिक पार्टीहरूलगायत नेपाली सेना र नेपाल प्रहरीलाई अपिल पनि गरेका छन् ।

ब्युरो इन्चार्ज कञ्चनद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यही मिति २०७७ साल वैशाख २५ गते भारतले नेपालको लिपुलेक हुँदै चीनको सिमाना जोड्ने सडकको उद्घाटन गरेको समाचार प्रकाशनमा आएको छ । भारतीय साम्राज्यवादको यो हर्कत सन् १९६२ देखि नेपालका लिम्पियाधुरा, कालापानीमा पनि सैनिक अखडा गर्ने प्रक्रियाको निरन्तरताको एक उत्कर्षका रूपमा आएको छ । त्यसले नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि हमला गरेको छ । हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी नेपालको भूमि हडप्ने भारतीय साम्राज्यवादी हर्कतको भत्र्सना विरोध गर्दछ ।

’कञ्चनको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘त्यस क्षेत्रबाट भारतीय हर्कत पूर्ण रूपले बन्द गरी नेपालको सार्वभौमिकताको सम्मान गर्न भारतीय सरकारसँग माग गर्दछ । साथै त्यहाँबाट नहटेमा राष्ट्रिय स्वाधीनताको सङ्घर्ष गर्ने चेतावनी दिन चाहन्छौँ । नेपाली भूभागमा भारतले बेरोकटोक बाटो बनाउँदा पनि चुपचाप बस्ने सामाजिक दलाल पुँजीवादी केपी वली सरकारको भारतीय साम्राज्यवादप्रतिको दलाली र लाचारी खुला रूपमा प्रकट भएको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘भारतले बाटो बनाउन खोज्दा, नेपालको भूभाग भारतीय नक्सामा सामेल गर्दा र नेपालका सीमाहरू ठाउँठाउँमा मिचिँदा पनि संसद्वादी सत्ता मूकदर्शक देखिएकाले नेपाललाई दिन–प्रतिदिन पराधीन बनाउन लागेको छ । यस्तो नपुंसक, दलाल पुँजीवादी सत्ताको अन्त्यका लागि सङ्घर्षमा उठ्न नेपाली जनता, सबै राजनीतिक पार्टीहरूलगायत नेपाली सेना र नेपाल प्रहरीमा हार्दिक अपिल गर्दछ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘भारतले नेपालको भूभाग हडप्ने प्रक्रियामा परोक्ष–अपरोक्ष सहभागी नहुन जनवादी गणतन्त्र चीन सरकारलाई हाम्रो पार्टी अपिल गर्दछ । नेपालको सार्वभौमिकतामाथि भारतीय साम्राज्यवादले हमला गरेको मामिलामा संयुक्त राष्ट्र सङ्घलगायत अन्तर्रा्ष्ट्रिय निकायहरूलाई ध्यान पुर्याउन पनि हाम्रो पार्टी आग्रह गर्दछ ।’

प्रतिक्रिया दिनुहोस