नारायणकाजीले किन लेखिरहेछन यस्ता टिवट् ?

नेकपाका प्रवक्ता श्रेष्ठका दिनहुँ सामाजिक सन्जालमा आउन थालेका टिव्टहरु निक्कै अर्थपूर्ण देखिन थालेका छन् । किन गरिरहेछन श्रेष्ठले यस्ता टिवट्, यस्ता छन् कारण ?

सफल खबर संवाददाता

शुक्रबार, २६ बैशाख २०७७, ०९ : २०
नारायणकाजीले किन लेखिरहेछन यस्ता टिवट् ?

काठमाडौंं । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ अचेल दिन बिराएर सामाजिक सन्जालमा छाउन थालेका छन् । ट्वीटरमार्फत उनले आफना भावनाहरु अचेल पोखिरहेका छन् । प्रवक्ता श्रेष्ठको सामाजिक सन्जालमा अहिले एउटै भावका टिवट्हरु आउन थालेका छन् ।

त्यो हो, पार्टी एकताको चिन्ता, पार्टी निर्णय र समझदारीको कार्यान्वयन । प्रधानमन्त्री केपी ओलीले २० वैशाखको सचिवालयमा भएको सहमति र समझदारीको मूल मर्म अनुसार पछाडी हटनु, तय भएको स्थायी समिति बैठक राख्नै नचाहनु र आवश्यक पर्दा पार्टी निर्णय समेत नमान्ने चेतावनी दिन थालेपछि नेकपाभित्र साम्य हुदै गएको भनिएको विवाद फेरि नयाँ ढंगले बल्झिएको छ ।

ओलीले विधानको ब्यवस्था लाई समेत उल्लंघन गदै पार्टीका २५ प्रतिशत स्थायी समिति सदस्यले लिखित रुपमा बैठकको माग गर्दा बैठक राख्न पर्ने विधानको ब्यवस्थालाई पनि अहिले धज्जी उडाईरहेका छन् । स्थायी समिति सदस्य भीम रावलका भनाईमा, स्थायी कमिटीको बैठक प्रधानमन्त्री  र पार्टी अध्यक्ष ओलीको विरोधका कारण स्थगित भएको र त्यसले पार्टीको विधि, पद्धति र मान्यता अनुसार नचल्ने र आफुखुशी निर्णय गर्ने शैली र व्यवहारले नै पार्टीमा समस्या उत्पन्न भएको टिप्प्णी गरेका छन् ।

नेकपाको अन्तरिम विधानको धारा ५९ (४) मा कमिटिका २५ प्रतिशत सदस्यहरुले लिखित माग गरेको खण्डमा केन्द्रीय समितिको बैठक एक महिनाभित्र र मातहात कमिटिको बैठक १५ दिनभित्र बोलाउनु पर्ने ब्यवस्था छ । १० वैशाखमै ४४ सदस्यीय स्थायी समिति मध्येका २० सदस्यले लिखित रुपमा पार्टी बैठक माग गरेका हुन् । उनीहरुले बैठक माग गरेको आज १६ दिन पुगेको छ । विधान अनुसार हिजै बैठक बस्नुपर्दथ्यो । स्थायी समितिको बैठकको मिति हिजोका लागि तोकिएको पनि थियो । तर प्रधानमन्त्री ओलीको अनिच्छाका कारण बैठक अनिश्चितकालका लागि स्थगित हुन पुगेको छ । 

स्थायी समिति सदस्यहरुले बैठक अनिश्चित बनेपछि झन आफ्नो मोर्चालाई कस्दै लगेका छन् । यो परिस्थितीमा पार्टीमा गम्भीर विभाजनको खतरा प्रवक्ता नारायणकाजी श्रेष्ठले देखिरहेका छन् । २० वैशाखमा पार्टीभित्र देखा परेका कमीकमजोरीको आत्मआलोचना गरेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीनै आफ्नो अडानबाट पछि हटेर पूरानै ढंगमा अगाडी बढ्न खोजेपछि नेकपाभित्रको विवाद फेरि अस्वस्थ्य बन्न पुगेको छ । यही चिन्तामा प्रवक्ता श्रेष्ठले दिन बिराएर सामाजिक सन्जालमा आफना भावना पोख्न थालेका छन् । पार्टी एकता बचाउन र सुढृढ एकताको पक्षमा उभिन उनले अपिल गरिरहेका छन् ।
 
केही दिन यता श्रेष्ठका टिवट्हरु यस्ता छन् :
मे ४ : अस्तिको सचिवालयको निश्कर्षबाट बिचलनले पार्टीमा पुनः संकट आउनेछ । अतः अन्यथा हुनै सक्दैन, गर्नै मिल्दैन । पार्टी एकताको रक्षा, बिधि पद्धतिको पालना, पार्टीद्वारा सरकार सञ्चालन, सरकारबाट समाजवादउन्मुख समृद्धिको काम र त्यसको लागि आत्मालोचनासहित नयाँ शिराबाट काम गर्ने सँकल्प–यो हो निश्कर्ष ।

मे ५ : हाम्रो पार्टीमा पार्टी एकताको रक्षा गर्दै कमजोरीहरुलाई सच्याएर नयाँ शिराबाट काम गर्ने सहमति भएपछी हिजो देखि फेरि झुटा भ्रमात्मक समाचारहरु प्रचारित हुन थालेका छन् । पार्टीमा रडाको मच्चाउने योजनामा फेरि को लाग्दैछ ? सचेत होऔं । २० गतेको सचिवालय बैठकको निश्कर्ष लागू गरौं । अन्यथा नगरौं ।
 
मे ७ : समाजवाद सत्ताप्राप्ति वा सत्ता सञ्चालनमा सिमित अवधारणा होइन । यो त शोषित–श्रमजीवी वर्ग र अन्ततः सिङ्गै मानवजातीको मुक्तिको परियोजना हो । सत्ता उक्त उदेश्यका निम्ति साधन र जिम्मेवारी हो । यो सत्यलाई आत्मसात नगर्ने हो भने हामी मौका नपाएर बेईमान नभएका तुच्छ अवसरवादीमा परिणत हुनेछौं । के हुने ?
 
मे ७ : गणेशमानजी र किसुनजीले ‘नेकाँ’ एक राख्न पार्टी परित्याग सम्म गर्नुभयो । त्यो कदम ठीक थियो कि थिएन, बहस होला । तर पार्टी बचाउन गरिएको त्यागको उत्कर्ष हो त्यो । हामी पनि हाम्रो पार्टीलाई बचाउन जे गर्न पनि तयार हुनुपर्छ । तर पार्टीलाई फुटबाट मात्र होइन, बिसर्जनको खतराबाट पनि जोगाउनु पर्छ ।
 
मे ७ : अतः नेपाली जनताको भरोसाको प्यारो पार्टी नेकपालाई फुट र बिसर्जनको खतराबाट बचाऔं, एकता र रुपान्तरणको पक्षमा उभिऔं । आ–आफ्नो ठाँउबाट भुमिका खेलौँ, योगदान गरौं । पार्टी एकता र देश तथा जनताको पक्षमा सरकारको सफलता हाम्रो आजको केन्द्रीय कार्यभार हुन् । नीजि स्वार्थ त्यागौं, यो काम पुरा गरौं ।

किन आईरहेछन श्रेष्ठका यस्ता टिवट् ?
प्रवक्ता श्रेष्ठले गत २० वैशाखको सचिवालय बैठकमा भनेका थिए,– म कसैका ब्यक्तीगत स्वार्थमा आधारित रहेर चलाइने गुटबन्दीको छलफल बैठकहरुमा अब देखि सहभागी नै हुन्न । तर त्यसको दुई दिन पछि नै प्रवक्ता श्रेष्ठकै निवासमा नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्दय भलनाथ खनाल र माधव नेपाल पुगे । चार नेताका बीचमा पार्टीमा उत्पन्न समस्याको समाधानका विषय, पार्टी सचिवालयको २० गतेको समझदारी र त्यसको कार्यान्वयन, स्थायी समिति बैठक लगायतका विषयमा छलफल भएको थियो । 

तर प्रधानमन्त्री ओलीले उक्त छलफललाई अहिले आफनो कमजोरी ढाकछोप गर्ने अस्त्र बनाउन खोज्दैछन् । बाहिर बाहिर गुट भेला गरेको आरोप लगाउदैछन् । तर श्रेष्ठले प्रधानमन्त्रीले पनि त्यस्ता छलफल बोलाए, पार्टीको विवाद समाधानका लागि गर्न खोज्ने छलफलमा सहभागी हुन निम्तो पठाए, आफु त्यहाँ पनि जाने उनको केही अगाडी देखिकै घोषणा थियो । पार्टी विवाद समाधानका लागि हुने छलफललाई उनले अन्यथा लिन नहुने बताउदै आएका छन् । तर भलै त्यसलाई कसैका ब्यक्तीगत स्वार्थ पूरा गराउने अस्त्र बनाउन नहुनेमा प्रवक्ता श्रेष्ठ प्रष्ट छन् ।

अहिले उनले प्रधानमन्त्री ओलीको निर्णय गर्ने र लगत्तै पछि हटने प्रवृतिबाट नेकपामा रोपिएको विभाजनको खतराबाट चिन्तित देखिएका छन् । पार्टीमा उस्तै योगदान गरेका नेताहरुको अपमान हुने गरी प्रधानमन्त्री ओली अगाडी बढने र पार्टी र सरकार सञ्चालनमा मनमौजी गर्ने प्रवृतिबाट दिग्दारीमा छन् ।

यसले कतै पार्टी नेताहरु बीचको विश्वासको वातावरण फराकिलो बनाउने र विभाजनको तहमै पार्टीलाई पु¥याउने पो हो की भन्ने श्रेष्ठले अहिले चिन्ता ब्यक्त गर्न थालेका हुन् । उनी निकट एक नेताका अनुसार, श्रेष्ठले पार्टीभित्रका खराबीप्रति सचेत हुन आम कार्यकर्तालाई बेलैमा अपिल गर्नुपर्छ भनेर अहिले खबरदारीको टिवट्हरु लेख्न थालेका हुन् । 
 

प्रतिक्रिया दिनुहोस