गैंडाकोट ४ को ३ विगाहा प्लटिङ्गमा वडाले लगायो ट्याक्टर

मंगलबार, २३ बैशाख २०७७, १७ : ३२
गैंडाकोट ४ को ३ विगाहा प्लटिङ्गमा वडाले लगायो ट्याक्टर

– प्रकाश सिग्देल
चितवन । कोरोनाले आम सर्वसाधारणलाई धेरै त्रास र पिडा दिएको छ । धेरैको रोजगार खोसेको छ । विश्व अर्थतन्त्र तहसनहस बनाएको छ । तर लकडाउले धेरै अवसरहरु समेत सृजना गर्ने सम्भावना भने अधिक बोकेर आएको छ । कहिल्यै कुटो कोदालो नछुनेहरु आफ्नै खेतबारी, करेसा बारीमा तरकारी फलाएर खान थालेका छन् । बाँझा पाखा र बारीहरु अहिले अन्न उब्जाउको मुख्य थलो बनेका छन् । लकडाउले पार्न सक्ने खाद्य संकटलाई महसुस गरी अहिले सरकारले पनि जग्गा बाँझो राख्न नपाइने व्यवस्था गरेको छ । 

यता गैंडाकोट नगरपालिका वडा नम्वर ४ ले पनि वडाभित्र रहेका खेतीयोग्य जमिन बाँझो नराख्ने अभियान थालनी गरेको छ । गैंडाकोट वडा नम्वर ४ को खानेपानी टंकि पछाडी जयश्री खोला किनारसँगै जोडिएको करिव ३ विगाहा प्लटिङ्गमा गैंडाकोट नगरपालिका वडा नम्वर ४ ले ट्याक्टर लगाएको हो । 

घडेरीका लागि व्यापारिले व्यवस्थित बाटो बत्तिसहित विक्रीका लागि टुक्रा गराएर राखेको जमिनमा गंैडाकोट नगरपालिका वडा नम्वर ४ ले अन्न फलाउने उद्देश्यसहित ट्याक्टर लगाएको हो । वडा अध्यक्ष कृष्णप्रसाद न्यौपानेले वडाभित्र रहेका खाली जमिनदेखि प्लटिङ जो खेतीयोग्य छन्, सबै जोत्ने र कृषि उत्पादनमा प्रयोग गर्ने गरी अभियानको थालनी गरिएको बताउनु भयो । 

आफ्नो वडाका श्रमिक वर्गहरुलाई काममा परिचालन गर्न पनि पाइने र त्यहाँ खेती गरी उत्पादन गरेपछि खाली घरमै बस्ने किसानले पनि लाभ लिने हुँदा यसले अन्नको उत्पादनसँगै स्वरोजगार बनाउने न्यौपानेको भनाइ छ । 

आफूहरुले समाजमा सकारात्मक सन्देश दिँदै अब कृषिमा जोड गरी अर्थतन्त्र सबल बनाउन सकिन्छ भन्ने सन्देश आम मानिसमा प्रवाह गर्न यस्तो कार्यक्रमको थालनी गरिएको वडा सदस्य तेजप्रसाद घिमिरेले बताउनु भयो । 
यो कार्यक्रमले काम गरेर खान चाहानेहरुका लागि ठुलो लाभ गर्ने उहाँको भनाइ छ । 

धेरै क्षेत्रफल जग्गा ओगटेर बाँझो राख्ने जग्गाधनी स्वयमलाई खेती गर्न लगाउने यदि गर्न नचाहे उनीहरुको जग्गा कृषिकर्म गर्न चाहानेलाई दिने गरी वडाले निर्णय गरेको र सोही अनुरुप कृषि गर्न दिइने अध्यक्ष न्यौपाने बताउनु हुन्छ । 

केही जग्गा धनिहरु आफै काम गर्न तयार देखिएको र आफूले गर्न नसकेको हकमा अन्यलाई गर्न प्रोत्साहन गर्ने गरी आफूहरु अगाडि बढेको न्यौपाने बताउनु हुन्छ । अहिलेसम्म ५० जनाले नाम दर्ता गरिसकेको बताउँदै उहाँले कही समयमा यो भुमि हराभरा हुने दावी गर्नु भयो । धेरै समयदेखि बाँझो रहेको जमीनमा स्थानीय किसानले भैंसी, बाख्रा, गाई चराउने गर्दै आएका थिए । सोही जमिनसँगै जोडिएर चितवनका व्यवसायी दिनेश कुमार चुकेको जग्गा पनि रहेको र उनलाई पनि जग्गा बाँझो नराख्न आग्रह गररिहेको बताउँदै न्यौपानेले चुकेले कृषिकर्म नगरे अन्यलाई काम गर्न जग्गा दिने बिचारमा आफूहरु रहेको न्यौपानेले बताउनु भयो । 

नगरपालिकाले बीउ, सिचाई आदि क्षेत्रमा लगानी गर्ने भएकाले किसानलाई राहत पनि पुग्ने न्यौपाने बताउनु हुन्छ । यो व्यक्तिको नीजि जमीनमा हस्तक्षप नभै समझदारीमा मजदुरी गर्नेहरुलाई मौका दिन यो कार्य थालनी गरेको उहाँको भनाइ छ । यदि जमीन अन्य प्रयोजनमा जग्गाधनीले माग गरे एक खेती अगाबै सूचना दिनुपर्ने र त्यसपछि छोडीदिने पनि न्यौपानेले बताउनु भयो ।