‘सुलभ अग्रवाल प्रकरणले महावाणिज्यदूतको गरिमामा धक्का’

मंगलबार, १६ बैशाख २०७७, ०७ : ३८
‘सुलभ अग्रवाल प्रकरणले महावाणिज्यदूतको गरिमामा धक्का’

काठमाडौं । नेपाली उद्योगी व्यवसायीहरूका लागि प्रतिष्ठाको पद रहेको अवैतनिक महावाणिज्यदूतप्रति अविश्वास उत्पन्न भएको छ । जगदम्बा ग्रुपका सञ्चालक एवम् नेपालका लागि कीर्गिस्तानका अवैतानिक महावाणिज्यदूत सुलभ अग्रवाल कालोबजारी गर्दैगर्दा कूटनीतिक नियोगको नम्बर प्लेटको गाडीसहित पक्राउ परेपछि अवैतनिक महावाणिज्यदूतहरूको विश्वसनीयतामाथि प्रश्न उठेको हो ।

एक चरणको व्यावसायिक सफलतापछि उद्योगी व्यवसायीले आफ्नो ‘सान–सौतक’ का निम्ति विभिन्न देशको नेपालस्थित अवैतनिक महावाणिज्यदूत बन्ने होडबाजी हुँदै आएको छ । दुई देशबीचको आर्थिक, सामाजिक, सांस्कृतिक राजनीतिकलगायतका सम्बन्ध विस्तारका निम्ति महावाणिज्यदूतहरूले पहल गर्नुपर्ने सामान्य सिद्धान्त रहे पनि महावाणिज्यदूत पदको दुरुपयोग गर्दै व्यावसायिक क्षेत्रमा आफ्नो प्रतिष्ठा प्रस्तुत गर्ने गतिलो माध्यम बन्दै आएको स्वयम् उद्योगी व्यवसायीहरूको भनाइ छ ।

सरकारले पछिल्ला केही वर्षयता दर्जनौंको संख्यामा थपिएका महावाणिज्यदूतहरूको एकमुष्ठ सुविधा कटौती गरेपछि अब अवैतानिक महावाणिज्यदूतको औचित्यमाथि समेत प्रश्न उठेको छ । कालोबजारीमा रंगेहात समातिएका सुलभ अग्रवालका कारण सिंगो अवैतनिक महावाणिज्यदूतका साथसाथै व्यावसायिक जगत्समेतको बद्नाम भएकोे एक पक्षको भनाइ छ भने अर्को पक्षले एउटा व्यक्तिको गलत क्रियाकलापका कारण सिंगो समुदायलाई नै मुछ्न नहुने भनाइ राख्दै आएको छ ।

सुलभ अग्रवाल प्रकरणपछि अवैतनिक महावाणिज्यदूतको परिभाषा, जिम्मेवारी, दायित्व एवम् अधिकारका विषयमा पुनर्भाषा गर्नुपर्ने आवश्यकता पनि औंलाइएको छ । दुई देशबीचको सम्बन्ध बिस्तार गर्नुको साटो आफ्नो निहित अभिष्ट पूरा गर्नका निम्ति यो पदको दुरुपयोग भएको हुनसक्ने सुलभ अग्रवाल प्रकरणले देखाएको छ । महावाणिज्यदूतमा हालसमेत कार्यरत रहेका एक प्रतिष्ठित व्यवसायीले नेपाल समाचारपत्रसँग भने ‘अब महावाणिज्यदूत नियुक्त गर्दा सरकारले गम्भीर हुनुपर्ने अवस्था आएको छ, कुनै उद्योगी व्यवसायीले प्रस्ताव लैजादैमा तुरुन्तै निर्णय गर्न नहुने देखिएको छ ।’

‘कसैले सम्बन्धित देशबाट प्रस्ताव ल्याएको अवस्थामा स्वीकृति दिइहाल्ने भन्ने जुन अहिलेको प्रवृत्ति छ, यसले महावाणिज्यदूतमा विकृति भित्र्याएको छ । साथै कूटनीतिक मर्यादामा समेत गम्भीर आँच उत्पन्न भएको उनको भनाइ छ । ‘आफू यही समुदायमै बस्ने भएको हुँदा साथीभाइको खुलेर आलोचना गर्न अलि सुहाउँदैन । तसर्थ, मेरो नाम उल्लेख नगरिदिनुस्’ भन्दै उनले भने– ‘कतिपय उद्योगी व्यवसायीमा महावाणिज्यदूत बन्ने लोभ अथवा आफ्नो अभिष्ट पूरा गर्ने लालच उच्च देखिन्छ, त्यसैको परिणामस्वरुप एउटै परिवारभित्रबाट कयौं सदस्य दूत बनेका छन् ।’ अहिले एउटाले गल्ती गर्दा सबैलाई एउटै घानमा हाल्न नहुने उनको तर्क छ ।

एउटा महावाणिज्यदूतले कालोबजारी गरेको अवस्थामा सबै दूतहरू कालोबजारिया होइनन्, समाजमा परेको यो छाप मेटाउन सरकार र स्वयम् महावाणिज्यदूतले पनि पहल गर्नुपर्छ उनले भने । अवैतनिक महावाणिज्यदूतहरूको संगठन अनररी कन्सुलर कर्पस् नेपाल ९एचसीसीएन० का डिन एवम् दक्षिण अफ्रिकाका अवैतानिक महावाणिज्यदूत रहेका प्रदीपकुमार श्रेष्ठले आम नागरिकले अवैतानिक महावाणिज्यदूतहरूले धेरै सुविधा लिने गरेको जस्तो लागे पनि आफूहरूले त्यस्तो विशेष केही सुविधा र तलब नहुने स्पष्ट पार्नुभयो ।

उहाँले आफूहरूले आफ्नो मुलुकमा अप्ठ्यारोे पर्दा उताबाट सहयोग ल्याउनेलगायतका अन्य कूटनीतिक काम गर्ने गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो–‘हामीले दुवै मुलुकका बीचमा पुलको भूमिकामा काम गर्छौं । तर, ती कामहरू सबै तलबविनाका हुन् ।’ उहाँले सुलभ अग्रवाल प्रकरणमा एक व्यक्तिले गरेको गल्तीमा सबैलाई मुछ्न नहुने तर्क गर्नुभयो । उहाँले भन्नुभयो– ‘सबैलाई एउटै खाल्डोमा हाल्न हुँदैन, गल्ती गर्नेलाई मात्रै कारबाही गर्नुपर्छ ।’ लकडाउन खुलेपछि आफूहरूले सरकारसँग आफ्नो धारणा राख्ने बताउँदै उहाँले अहिले भने सबै दूतहरूले सरकारको निर्णयलाई मानेको बताउनुभयो । सरकारले कसैले अनैतिक काम गरेको प्रमाणित गरेर कारबाही गरेमा त्यसमा आफूहरूले पनि समर्थन गर्ने बताउनुभयो ।

अफ्रिकी मुलुक मोरक्कोका वाणिज्य दूत वसन्त चौधरीले गल्तीगर्नेलाई सरकारले कारबाही गर्नु स्वाभाविकभएको बताउँदै बिनागल्तीअन्य वाणिज्यदूतहरूको सुविधा कटौती भने गर्न नहुने बताउनुभएको छ । नेपालका लागि गिरगिस्तानका अवैतनिक महावाणिज्यदूत अग्रवाल कूटनीतिक नम्बरप्लेटको गाडीसहित कालोबजारी गर्दागर्दै पक्राउ परेपछि अन्य वाणिज्यदूतलाई समेत पक्षपातपूर्ण व्यवहार भएको सम्बन्धमा चौधरीले नेपाल समाचारपत्रसँग यस प्रकारको धारणा राख्नुभएको हो ।

उहाँले अग्रवालप्रकरणपछि मिडियाले पनि वाणिज्य दूतबारे आफूखुशी धारणा बनाएको उल्लेख गर्दै भन्नुभयो– ‘वाणिज्य दूतमा गलत मानिस गएमा त्यसमा सरकार, मन्त्रीलगायत सबैको गल्ती देखिनुपर्ने हुन्छ ।’ उहाँले ‘दृष्टिदोष’भएका केही पात्रले एउटाको गल्तीमा सबै वाणिज्य दूतमाथि गलत आरोप लगाएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो– ‘दृष्टिदोष भएका पात्रले हामीलाई गलत भने । विनोद चौधरी र हामीहरूलाई नराम्रो भने । एक व्यक्ति गलत हुँदैमा सबै गलत हँदैनन्– यसबारे खुला बहस गर्न म तयार छु ।’

त्यस्तै पोल्याण्डका वाणिज्य दूत लोकमान्य गोल्छाले एक जनाले गल्तीगर्दा सबै मानिस सजायको भागिदार हुन नहुने बताउनुभयो । नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले सरकारले केही समयका लागि आफूहरूको सुविधा स्थगित गरेको बताउँदै यसलाई पुनः सुचारू गर्ने विश्वास व्यक्त गर्नुभयो ।  उहाँले भन्नुभयो– ‘हामी लकडाउन खुलेसँगै सरकारसँग सुविधा दिलाउन आग्रह गर्छौं, यसमा सरकारले दिनपनि सक्छ, सरकारले सुविधा दिएमा राम्रो हुन्छ’ उहाँले गल्ती गर्नेलाई सजाय दिने र नगर्नेलाई सजाय दिन नहुने बताउनुभयो । नेपाल समाचारपत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस