सुलभ अग्रवाल कालोबजारी प्रकरण: प्रहरीले तयार पार्यो चार मुद्दा

पत्रपत्रिकाबाट

सोमबार, १५ बैशाख २०७७, ०७ : ५८
सुलभ अग्रवाल कालोबजारी प्रकरण: प्रहरीले तयार पार्यो चार मुद्दा

काठमाडाैँ । कोरोना महामारीका कारण मुलुक थलिएका बेला स्वास्थ्य सामग्री थर्मल गनमा कालोबजारी गरेको अभियोगमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवालविरुद्ध चारवटा कसूूरमा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । नेपाल समाचारपत्रमा खबर छ । 

यही चैत २५ गते ६७ थान ज्वरो नाप्ने थर्मल गनसहित नक्सालबाट पक्राउ परेका अग्रवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंले कालोबजारी, अवैध भण्डारण तथा नाफाखोरी र कृत्रिम अभाव सिर्जना र सार्वजनिक पदको दुरुपयोगका चारवटा कसूूरमा मुद्दा चलाउन सिफारिस गरेको हो ।

मुद्दामा १५ लाख ७८ रुपियाँ बिगो र तीन वर्ष कैद तथा सार्वजनिक पद धारण गरेको अवस्थामा अपराध भएकोमा थप डेढी सजाय मागदाबी गरिएको छ ।
व्यवसायीहरूको संस्था सीएनआईका उपाध्यक्षसमेत रहेका अग्रवाल तीन दोब्बरभन्दा बढी मूल्यमा स्वास्थ्य सामग्री कालोबजारी गर्दैगर्दा प्रहरीको स्ट्रिङ अप्रेसनमा पक्राउ परेका थिए ।

किरगिस्तानका अवैतनिक महावाणिज्यदूत अग्रवाललाई मुलुकी फौजदारी सजाय निर्धारण तथा कार्यान्वयन–२०७४ अनुसार सार्वजनिक पदको दुरुपयोग गरी कसूूर गर्ने व्यक्तिलाई कसूूरमा हुने सजायको थप डेढी सजाय हुने बलियो आधार छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार आरोपित अग्रवालविरुद्धको अनुसन्धान सकिएको छ ।
अग्रवालविरुद्ध कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन–२०३२ को दफा २ (क), दफा ३ (१), दफा ५ र मुलुकी फौजदारी सजाय निर्धारण तथा कार्यान्वयन ऐन–२०७४ को एउटा दफा गरी ४ वटा कसूूरमा मुद्दा चलाउन सिफारिस गरिएको छ ।

पदको दुरुपयोग गरी अपराध गरेको कसूूरमा मुलुकी फौजदारी सजाय निर्धारण तथा कार्यान्वयन–२०७४ को परिच्छेद २ को दफा १५ को उपदफा २ अनुसार पनि मुद्दा चलाउन माग गरिएको छ ।

प्रहरी अनुसन्धानको थप अध्ययन गरेर सरकारी वकिलको कार्यालयले अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ । थर्मल गनको कालोबजारीमा अग्रवालले कूटनीतिक सुविधाबापत लिएको गाडीसमेत प्रयोग गरेकाले यसरी प्रयोग भएको गाडी अहिले प्रहरी नियन्त्रणमा छ ।
कालोबजारीविरुद्धको ऐनको दफा २ (क) मा सरकारले मोल निर्धारण गरिदिएकोमा सो मोलमा र मोल निर्धारण नगरेकोमा राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको माल वस्तुको मोलभन्दा बढी लिएर सामान बिक्री गरेमा बरामद सामान जफत गरी आरोपितलाई एक वर्षसम्म कैद र १० लाख रुपियाँसम्म जरिवानासमेत हुने उल्लेख छ।

त्यस्तै दफा ३ को उपदफा १ मा सयकडा २० भन्दा बढी मुनाफा लिएमा वा अभावको लाभ उठाई नाफा लिइएर बिक्री गरेमा १ वर्ष कैद वा २ लाख ५० हजार रुपियाँ जरिवाना वा दुवै सजाय हुन सक्छ । सोही ऐनको दफा दफा ५ अनुसार कुनै मालवस्तुको मूल्यवृद्धि गराएर अनुचित नाफा लिई वस्तु संग्रह गरी बिक्री नगरी जम्माखोरी गरेमा १ वर्ष कैद वा २ लाख ५० हजार रुपियाँ जरिवाना वा दुवै सजाय हुन सक्छ ।

प्रहरीका अनुसार चीनबाट ३ हजारमा खरिद गरेको थर्मल गन नेपालमा १५ देखि २० हजार रुपियाँसम्म लिएर उनले बिक्री गर्दै आएका थिए । प्रहरी आफैं ग्राहक बनेर अग्रवालसँग थर्मल गन किन्न गएको थियो । त्यही क्रममा उनी नक्सालबाट पक्राउ परेका थिए । उनी हाल महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस