पूर्वसचिव भीम उपाध्याय पक्राउको काँग्रेसद्वारा विरोध

विहीबार, ११ बैशाख २०७७, १५ : ०८
पूर्वसचिव भीम उपाध्याय पक्राउको काँग्रेसद्वारा विरोध

काठमाडौं । नेपाली काँग्रेसले पूर्वसचिव भीम उपाध्यायलाई सामाजिक सञ्जालमा भ्रमपूर्ण अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

सो पार्टीले बनाएको छाया सरकारका सूचना तथा सञ्चार मन्त्रालय संयोजकबहादुर सिंह लामाले बिहीबार एक विज्ञप्ति जारी गर्दै संविधानले दिएको स्वतन्त्रताको हकलाई वर्तमान सरकारले कुण्ठित गर्ने प्रयास गरेको आरोप लगाएका छन् । 

‘नेपालको संविधानले प्रत्येक नेपाली नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता प्रदान गरेको छ । सबै नेपालीले आफ्नो विचार राख्न पाउनु नैसर्गिक अधिकार हो’, विज्ञप्तिमा भनिएको छ, ‘संविधानले दिएको स्वतन्त्रताको हकलाई वर्तमान सरकारले सयम–सयममा कुण्ठित गर्ने कार्य गर्दै आइरहेको छ । राज्यका सबै अंग र प्रत्येक नेपालीले संविधानको पूर्ण पालना गरी यसको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो । तर यसको ठिक विपरित वर्तमान सरकारले दिनप्रतिदिन संविधानको ठाडो उल्लंघन गर्दै आइरहेको छ । सरकारको यस किसिमका गैरजिम्मेवारी कार्य प्रति गम्भीर आपत्ति प्रकट गर्दै घोर भत्र्सना गर्दछौं ।’ 

विज्ञप्तिमा उपाध्यायलाई विनासर्त तत्काल रिहा गर्न पनि माग गरिएको छ । उपाध्यायलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको थियो ।