नेपालमा कम्युनिस्ट आन्दोलन र आजको दायित्व

बुधबार, १० बैशाख २०७७, १५ : ४२
नेपालमा कम्युनिस्ट आन्दोलन र आजको दायित्व

- युवराज चौलागाई

आजभन्दा ७० बर्ष अगाडि अप्रिल २२ को दिन कमरेड पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । आजबाट नेपालमा कम्युनिस्ट आन्दोलन संगठित रुपमा ७१औं बर्षमा प्रवेश गरेको छ । 

नेपालमा कम्युनिस्ट आन्दोलनका अनेकानेक संगठित स्वरूप देखिएपनि यसका मूलतः २ धारा देखा परे, आमूल परिवर्तनको धारा र सुधारको धारा । गत दशकसम्म ती धाराहरुले अलगअलग रुपमा आफ्ना नीति कार्यक्रमहरुको बिकासमा जोड दिए पनि नेपालमा संबिधान सभाबाट ऐतिहासिक नयॉ संबिधान जारी भएपछि मूलतः एमाले र माओवादीको एकतामार्फ़त  ती धाराहरु नयॉ संश्लेषणमा पुगेका छन् । 

त्यस प्रकारको संश्लेषण बैचारिक रुपले मार्क्सवाद( लेनिनवाद, राजनैतिक रुपले जनताको जनवाद, संगठनात्मक रुपले नेपाल कम्युनिस्ट पार्टी र नेतृत्वका रुपमा कमरेड केपी ओली र कमरेड प्रचण्डसहित हजारौं नेतासम्म आइपुगेको छ ।  भनिरहनु पर्ने कुरा होइन कि न्यूनतम रुपमा उपरोक्त तथ्यहरु स्वीकार नगर्ने मान्छे आजको नेपाली कम्युनिस्ट  वा कमसेकम नेकपाको सदस्य हुन सक्दैन । 
आजको सन्दर्भमा निम्न तथ्यहरु सबैले मनन् गर्दा उपयुक्त हुन्छ । 

१) नेकपा आजको कुनै जीवित नेताले स्थापना गरेको पार्टी नभइन हस्तान्तरित नेतृत्व मार्फ़त अघि बढ्दै आएको हुनाले कोही नेता वा समूह बिशेषले पनि यसलाई आफ्नो इच्छाको साधन वा शक्तिको असीमित हतियार ठान्नु भूल हुनेछ । 

२) पुष्पलाल, तुल्सीलाल, मनमोहन वा निर्मल लामा जस्ता नेताहरु मात्र होइन, झापा आन्दोलन वा जनयुद्ध जस्ता शक्तिशाली आन्दोलन समेत आफ्नो समयमा बहस, बिबाद र बिश्लेषणका बिषय बने । कोही पनि व्यक्ति, प्रवृत्ति वा घटना बिश्लेषणबाट मुक्त छैन । कसैले पनि आफू प्रश्न वा बिश्लेषणबाट माथि भन्ने नठाने हुन्छ । 

३) विश्वभर कम्युनिष्टहरुले धक्का खॉदा समेत नेपालमा कम्युनिष्टहरुले जुन सफलता र उचाई हासिल गरेका छन्, त्यसको श्रेय यहॉको उत्पादन प्रणाली, राज्यको पछौटे बिकास पद्दती र कम्युनिस्ट पार्टिको सहि नीति र मेहनती कार्यकर्ताहरुलाई जान्छ । हामी कम्युनिष्टहरु सरकारमा गएर स्विकार गरेको चुनौती भनेको अघिल्ला दुई तथ्यलाई बदल्ने र पछिल्लो तत्व वा कार्यकर्ताहरुको यथोचित व्यबस्थापन र परिचालन गर्ने कुरा संग प्रत्यक्ष सम्बन्धित छ । यसमा पार्टी र सरकार कति सफल भयो समीक्षा जरुरी भएको छ । 

४) नेपाली कम्युनिस्टले लोकतन्त्रका लागि गरेको योगदान कथित लोकतन्त्रवादीको भन्दा कम छैन, बरु बढी नै छ । आजको संबिधान र व्यवस्थाको फराकिलो राजमार्ग हामी कम्युनिष्टहरुले नै बनाएको हो । तसर्थ, यसको बिकास र यस मार्फ़त राष्ट्रको बिकास र सम्वृद्धिमा कम्युनिस्ट शक्तिलाई नेतृत्व मानेर सहयोग गर्नु सबैको दायित्व हो । 

सबैमा ७१ औं नेकपा स्थापना दिवसको हार्दिक शुभकामना ।