काठमाडौ । अर्को वर्ष हुने आईसीसी टी-२० विश्वकपमा छनोट भइसकेको नेपालले घरेलु टोली ओमानविरुद्ध शानदार जित निकालेको छ।
आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्समा नेपालसँग पराजित भएपछि ओमानको अपराजित यात्रामा पूर्णविराम लागेको छ। बुधबार भएको खेलमा नेपालले ओमानलाई ३८ रनले हराएको हो। योसँगै नेपालले छनोटमा अपराजित यात्रालाई कायम राखेको छ।
जितसँगै ४ खेलबाट नेपाल ८ अंक बटुलेको नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। समान खेलबाट ६ अंक भएको ओमान दोस्रो स्थानमा झरेको छ। ४ खेलबाट ४ अंक भएको यूएई तेस्रो छ।
नेपालले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १३ रन मात्र बनाउन सक्यो। ओमानलाई रोक्न नेपालका लागि गुल्सन झाले तीन विकेट लिए। सोमपाल कामी र नन्दन यादवले समान २ विकेट झारे। सन्दीप लामिछानेको नाममा एक विकेट रह्यो।
ओमानका लागि विनायक शुक्लाले ३२ र मोहम्मद नदिमले २५ रन बनाए। कप्तान जितेन्द्र सिंहले १४ रन बनाए। आर्यन विष्टले ११ रन थपे।
त्यसअघि ओमानको अल एमिरेट क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५१ रनको योगफल तयार पारेको थियो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६९ रनको योगदान दिए। उनले ५१ बलमा ७ चौका र १ छक्का प्रहार गर्दा जितेन रामानन्दीको बलमा एलबीडब्लु धरापमा परे।
पहिलो विकेटका लागि कुशल र आशिफ शेखले ७.३ ओभरमा ६१ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए। अर्का ओपनर आशिफ शेख २० बलमा २ चौका र १ छक्का सहयोगमा २४ रन बनाउँदा नदिम खानको बलमा बोल्ड आउट भए।
गुल्सन झा १० बलमा २ छक्का सहयोगमा १८ रन बनाउँदा क्याच आउट हुन पुगे। १५ बलमा ३ चौका सहयोगमा १६ रन बनाएका मोहम्मद आदिल आलम सुफयान मेहमुदको बलमा क्याच आउट हुन पुगे।
कुशल मल्ल ७ रन बनाउँदा नदिम कै बलमा क्याच आउट हुन पुगे। कप्तान रोहित पौडेल १ बलमा नदिम खान कै बलमा बोल्ड आउट भए। नन्दन यादव ९ रन बनाउँदा रन आउट हुन पुगे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० असोज २०८२, ०६ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी-२० विश्वकप छनोटमा नेपालले कतारविरुद्ध पहिला ब्याटिङ गर्दै
टी-२० विश्वकप छनोटमा युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल
टी-२० विश्वकप छनोट: कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल
टी-२० विश्वकप छनोटका लागि १५ सदस्यीय नेपाली टोली घोषणा
टी-२० विश्वकप छनोट : नेपालको समूहमा कुवेत र जापान