लक्ष्मीपूजा आज: धन, ऐश्वर्य र समृद्धिकी देवीको आराधना गरिँदै

सफल खबर संवाददाता

सोमबार, ०३ कार्तिक २०८२, ०६ : ५७
लक्ष्मीपूजा आज: धन, ऐश्वर्य र समृद्धिकी देवीको आराधना गरिँदै

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझमा धन, ऐश्वर्य र सम्पन्नताकी अधिष्ठात्री देवी लक्ष्मीको भक्तिपूर्वक पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदै छ । लक्ष्मीलाई धन र समृद्धिको देवी मानिन्छ । धार्मिक विश्वासअनुसार सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन्, त्यसैले आज बिहानै उठेर घर, आँगन, झ्यालढोका र सम्पूर्ण घरपरिवार सफा गरी फूलमालाले सजाउने चलन रहेको छ ।

यस दिन श्रद्धालुहरू दिनभर उपवास बसेर बेलुका दीपावली गरेर नुहाइधुवाई गरी धनलक्ष्मी, धान्यलक्ष्मी, गजलक्ष्मी, सन्तानलक्ष्मी, विद्यालक्ष्मी, विजयलक्ष्मी, ऐश्वर्यलक्ष्मी र धैर्यलक्ष्मीका रूपमा देवीको पूजा आराधना गर्छन् । स्कन्द पुराण, पद्य पुराण र विष्णु पुराणमा उल्लेख भएअनुसार यी आठ रूपहरूले जीवनका आर्थिक, ज्ञान, शक्ति, परिवार, सफलता, धैर्य, खेती र विजयका पक्षहरूलाई प्रतिनिधित्व गर्छन् ।

कात्तिक कृष्ण औँसीको रातलाई ‘सुखरात्रि’ पनि भनिन्छ । यस दिन बेलुका आँगनदेखि मूलढोका हुँदै पूजा कोठासम्म गाईको गोबर र रातो माटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाइन्छ । पाइलैपिच्छे केराको सुत्लो वा माटाको पालामा दियो बालेर लक्ष्मीको आगमनको बाटो देखाइन्छ ।

दीपावली गरेपछि पूजा कोठामा लक्ष्मी, गणेश र कलश स्थापना गरी सुनचाँदीका गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला अर्पण गरेर विधिपूर्वक पूजा गरिन्छ । आरती र मन्त्र उच्चारणपछि परिवारका सबै सदस्यले फलफूल र मिठाई प्रसादस्वरूप ग्रहण गर्छन् । कन्या र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा दिने प्रचलन पनि छ ।

घरमा लक्ष्मीपूजा सकेपछि धन, पैसा वा कुनै सामान बाहिर पठाउने परम्परा छैन, किनभने यसो गर्दा लक्ष्मी बाहिर जाने विश्वास गरिएको छ । मध्यरातमा घरका नारीहरूले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस्, लक्ष्मी र धनधान्यको आगमन होस्’ भनेर कामना गर्ने शास्त्रीय विधि पालन गरिन्छ ।

धार्मिक ग्रन्थअनुसार समुद्र मन्थनको समयमा लक्ष्मीदेवी अमृत कलश हातमा लिएर प्रकट भएकी थिइन्, र त्यो दिन यही कार्तिक औँसीको रात परेकाले यसै दिनदेखि लक्ष्मीपूजाको परम्परा सुरु भएको हो । लक्ष्मी धनकी मात्र होइन, शुद्धता, सकारात्मकता र कर्मशीलताको प्रतीक समेत मानिन्छिन् । त्यसैले लक्ष्मीपूजा आत्मिक र आध्यात्मिक दुवै दृष्टिले अत्यन्त महत्त्वपूर्ण पर्व हो ।

पूजामा आवश्यक सामग्रीहरू

कलश, धूप, दीप, फूल, अक्षता, फलफूल, मिठाई, धान, सिक्का, नयाँ नोट, तस्बिर, पान सुपारी, रङ्गोलीको रङ आदि ।

मन्त्र 

“ॐ श्रीं ह्रीं क्लीं महालक्ष्म्यै नमः” वा
“ॐ महालक्ष्म्यै च विद्महे, विष्णुपत्नी च धीमहि, तन्नो लक्ष्मीः प्रचोदयात् ।”

प्रतिक्रिया दिनुहोस