कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या अमेरिकामा ४० हजार नाघ्यो, युरोपमा भने केही मत्थर

सोमबार, ०८ बैशाख २०७७, ०९ : ०६
कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या अमेरिकामा ४० हजार नाघ्यो, युरोपमा भने केही मत्थर

एजेन्सी । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा ४० हजार भन्दा बढीको मृत्यु भएको छ । कोरोनाको संक्रमण दिन प्रति दिन बढ्दै जांदा अमेरिका सबैभन्दा बढी प्रभावित बन्न पुगेको छ । 

जोन हप्किन्स विश्वविद्यालयलका अनुसार अहिलेसम्म अमेरिकामा ४० हजार ६ सय ६५ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ । यस्तै संक्रमितको संख्या पनि ७ लाख ५९ हजार भन्दा बढी पुगेको छ। सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा मात्रै १४ हजार ४ सय ५१ जनाको ज्यान गइसकेको छ । अमेरिकामा हालसम्म ३८ लाख ६५ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण रहे–नरहेको थाहा पाउन परीक्षण पनि गरिसकिएको छ । 

विश्वभर हालसम्म १ लाख ६५ हजार भन्दा बढीको ज्यान गइसकेको छ । यस्तै विश्वभर संक्रममित हुनेको संख्या पनि २४ लाख भन्दा बढी पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको आइतबारको ब्रिफिङ्गको क्रममा विश्व स्वास्थ्य संगठन, चीन र विश्व व्यापार संगडन (डब्लुटिओ) को आलोचना गरेका छन् । यस्तै उनले इरानलाई कोरोना भाइरसको महामारीसँग जुध्नका लागि सहयोग दिने तयारीमा पनि रहेको उल्लेख गरेका छन् ।

कोरोनाको संक्रमण बढ्दै जाँदा ट्रम्पका विवादास्पद भनाई र आलोचना आउने क्रम बढेकोछ । यसैबिच युरोपमा भने कोरोनाको कहर केही मत्थर देखिएको छ । इटाली, स्पेन तथा फ्रान्समा कोभिड–१९ बाट मृत्यु हुने तथा संक्रमण भइ अस्पताल भर्ना हुनेको संख्या लगातार कम हुँदै गएको छ । इटालीमा आइतबार पछिल्लो एक हप्ता यताकै सबैभन्दा कम व्यक्तिको ज्यान गएको छ । आइतबार कोभिड–१९ बाट इटालीमा ४ सय ३३ जनाको ज्यान गएको हो ।

आइतबार ३ हजार ४७ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । अघिल्लो दिन इटालीमा ३ हजार ४ सय ९१ जनामा संक्रमण पुष्टि भएको थियो । इटालीमा हालसम्म २३ हजार ६ सय ६० जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ लाख ७८ हजार ९७२ रहेको छ ।

यस्तै स्पेनमा पनि आइतबार एक महिना यताकै सबैभन्दा कम व्यक्तिको कोभिड–१९ बाट मृत्यु भएको छ । आइतबार स्पेनमा ४१० जनाको ज्यान गएको छ भने नयाँ संक्रमितको संख्या ४ हजार २ सय १८ रहेको जनाइएको छ । स्पेनमा हालसम्म २० हजार ४ सय ५३ जनाको ज्यान गएको छ । यस्तै संक्रमितको संख्या एक लाख ९८ हजार ६ सय ७४ रहेको छ ।

यस्तै फ्रान्समा आइतबार अस्पतालमा २ सय २७ तथा नर्सिङ्ग होममा १ सय ६८ जनाको मृत्यु भएको छ । फ्रान्समा अहिलेसम्म १९ हजार ७ सय ४४ जनाको ज्यान गएको छ । संक्रमितको संख्या १ लाख ५४ हजार ९७ पुगेको छ । आइतबार कोरोना भाइरसको संक्रमण भएका कुल ३० हजार ६ सय १० जना बिरामीको उपचार जारी छ ।