पेट्रोलिय पदार्थ बिक्रीमा कमी

रासस

सोमबार, ०८ बैशाख २०७७, ०६ : १८
पेट्रोलिय पदार्थ बिक्रीमा कमी

काठमाडौँ । सरकारले घोषणा गरेको लकडाउनका कारण पेट्रोलियम पदार्थको बिक्री वितरणमा ८० प्रतिशतले कमी आएको छ । कोरोना भाइरस नियन्त्रण गर्नका लागि गरिएको लकडाउनका कारण सवारी साधन नचल्दा पेट्रोल र डिजेलको ८० प्रतिशतले कमी आएको हो । 

नेपाल आयल निगम अमलेखगञ्ज डिपोमा पेट्रोल र डिपोको मौज्दात पूरा छ । उक्त डिपोको भण्डारण गर्ने डिजेल ट्याङ्कीमा दुई करोड लिटर डिजेल मौज्दात छ । त्यस्तै प्रोटोल ट्याङ्कीको क्षमता १९ लाख लिटर रहेको र त्यसमा १८ लाख लिटर पेट्रोल रहेको डिपोले जनाएको छ । बन्दका कारण डिजेल तीनदेखि चार लाख लिटर तथा पेट्रोल दैनिक एक लाख लिटर मात्र बिक्री भइरहेको डिपोका प्रमुख भरत रेग्मीले भन्नुभयो । रक्सोलबाट पाइपलाइनमार्फत आउने डिजेलको काम पनि रोकिएको उहाँले भन्नुभयो ।

ट्याङ्की्को क्षमता जति छ, त्यति डिजेल मोज्दात रहेकाले पाइपलाइनबाट डिजेल ल्याउने काम बन्द गरिएको छ । राजमार्गको पम्पमा डिजेल र पेट्रोल कमी हुन नदिन त्यस पम्पमा समेत प्राप्त मात्रामा डिजेल र पेट्रोल दिइएको बताइएको छ । अहिले गहँु काट्ने खेत जोत्ने बीउबिजन लगाउने र सिँचाइ गर्न समय भएकाले ग्रामीण क्षेत्रमा डिजेलको बिक्री बढेको प्रमुख रेग्मीले भन्नुभयो ।

अमलेखगञ्ज डिपोबाट विराटनगर तथा भैरहवा डिपोमा समेत डिजेल पठाइने गरिएको छ । आयल निगम विराटनगर शाखाको डिपोमा पेट्रोल र डिजेलको मोज्दात पूर्णरूपमा रहेको छ । कार्यालय प्रमुख अशोक साहका अनुसार डिपोमा डिजेल ८० लाख लिटर तथा पेट्रोल नौ लाख ६० लिटर रहेको छ । त्यस डिपोबाट डिजेल र पेटोल आइतबार र बिहीबार बिक्रीवितरण हुने गरेको छ । पम्पबाट सरकारी गाडी पास भएका मोटरसाइकल ट्र्याक्टर तथा ढुवानीको गाडीले खरिद गर्ने गरेको पम्प व्यवसायीहरु बताउने गरेको छ । नेपाल आयल निगम भैरहवा डिपोमा पनि पेट्रोलियम पदार्थको मोज्दात पूरा रहेको सो डिपोले जनाएको छ ।