काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा अलपत्र परेका नेपालीलाई तत्काल नेपाल फर्कनका लागि आवश्यक वातावरण तयार गर्न नेपाल सरकारसमक्ष माग गरेको छ । एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोको नेतृत्वमा आज एक प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई छबुँदे ध्यानाकर्षणपत्र बुझाउँदै खानाबस्नकै समस्या भोग्नेका लागि खाद्यान्नलगायत अत्यावश्यक वस्तु वितरण गर्न र विदेशबाट फर्कनेहरुलाई नेपालमा पुनःस्थापना गर्न माग गरेको छ ।
एनआरएनले अप्ठेरामा परेका र नेपाल फर्कन अति आवश्यक भएकाहरुका हकमा कुनै उपाय गरी स्वदेश फर्काउने वातावरण बनाउन तथा फर्केपछि अनिवार्य निश्चित समय क्वारेन्टाइन र सेल्फ आइसोलेशनमा बस्ने व्यवस्था गर्न आग्रह गरेको एनआरएन, कोभिड– १९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।
हाल खानाबस्नकै समस्या भोग्नेका लागि आफू र सम्बन्धित नेपाली नियोगसमेतको समन्वयमा खाद्यान्नलगायत अत्यावश्यक वस्तु वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गर्दै एनआरएनले सरकारले राख्ने रकमको अनुपातमा एक हिस्सा राख्न आफू पनि तयार रहेको जनाएको छ ।
विदेशबाट फर्कनेमध्ये आईसोलेशनमा रहने अवस्थामा मनोचिकित्सकको समेत सल्लाह पाउन सक्ने व्यवस्था मिलाउन र उनीहरुलाई नयांँ उद्योग व्यवसाय शुरु गर्न आवश्यक सूचना प्रवाह हुने र जानकारी दिने व्यवस्था मिलाउन एनआरएनले ध्यानाकर्षण गराएको छ ।
फर्कनेहरुलाई नेपालमा पुनःस्थापना गर्न र रोजगार वा स्वरोजगारमा लाग्न उत्प्रेरित गर्ने किसिमका कार्यक्रम ल्याउन, तिनको सीपको विवरण संकलन गरी नेपालमा प्रयोग गर्ने गरी सीप बैंकको स्थापना गर्न र यसको विवरण नेपाली उद्यमी व्यवसायीलाई उपलब्ध गराउन माग गरिएको छ । नेपालमा फर्कनेका लागि सस्तो ब्याजमा ऋण पाउने व्यवस्थाका साथ मुलुकभित्र रोजगारीका अवसर सिर्जना गर्न पनि आग्रह गरिएको छ ।
विदेशमा जानेले सिकेको सीपका आधारमा आफ्नै व्यवसाय शुरु गर्न चाहनेहरुलाई मद्दत गर्ने कार्यक्रम एवं तिनलाई सहज र सस्तो ब्याजमा ऋण पाउने व्यवस्था मिलाउन तथा मुख्यतः कृषिको आधुनिकीकरणका क्षेत्रमा प्रयोग गर्ने नीति लिन सुझाव दिइएको छ ।
प्रतिनिधिमण्डलमा एनआरएनका उपाध्यक्ष सोनाम लामा, बहराइनका पूर्वाध्यक्ष श्याम तामाङ, प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडीलगायतको सहभागिता थियो । यसैबीच एनआरएनअन्र्तगतको कोभिड–१९ उच्चस्तरीय समितिका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा आज टेलिकन्फ्रेन्समार्फत बसेको बैठकले विदेशस्थित नेपाली नियोग र नेपाल सरकारबीच आवश्यक छलफल गर्दै राहत वितरणलाई तीव्रता दिने निर्णय गरेको छ । बैठकमा पूर्वशिक्षामन्त्री गंगालाल तुलाधारलगायत समितिका सदस्यको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०७ बैशाख २०७७, २० : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा
एकताको मर्म बुझाउन ग्रासरुटमा एनआरएनए
एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने, प्रवक्ता गौतमको संयोजकत्वमा एकता समिती गठन
एनआरएनएको एकता कोशेढुङ्गा सावित हुनेछ: प्रधानमन्त्री कार्की
एनआरएनएद्वारा ७५ लाख ४४ हजार लागतमा काठमाडौं ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण
संकटको सारथि बन्दै श्रेष्ठ नेतृत्वको एनआरएनए