एकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मिलाउन रोविन शेरचनको पहल

सफल खबर संवाददाता

शुक्रबार, ०१ फागुन २०८२, १८ : ५४
एकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मिलाउन रोविन शेरचनको पहल

काठमाडौँ । दुई समूहमा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा मंंसिर दोस्रो साता एकीकृत भयो । १० बुँदे सहमतिको जगमा बद्री केसी र महेश श्रेष्ठ समूहबिच एकता भएर १२औँ महाधिवेशनको घोषणा भएपनि दुई समूहबीच समस्या भने अझै कायमै छ ।

विशेषगरी एकता महाधिवेशन कसरी गर्ने भन्ने सन्दर्भमा कुरा नमिल्दा संस्थामा समस्या कायमै रहेको हो। महेश श्रेष्ठ एकता महाधिवेशनमै पक्षमा रहेको भएपनि उनी निकटस्थ मानिने केही अभियन्ताहरु चाहिँ अहिलेकै अवस्थामा फागुन ३० देखि चैत २ गतेसम्म महाधिवेशन भए आफूहरुलाई अमान्य हुने बताउँछन् ।

एनआरएनएका अभियन्ता डा केशव पौडेलले अहिलेको आवश्यकता भौतिक उपस्थितमा निर्वाचन भएको बताउँदै यही अवस्थामा पेलेर निर्वाचन गर्न खोजिए आफूहरुले नमान्ने बताए । उनले एकता महाधिवेशन गराउनका लागि बनेको ११ सदस्यीय स्टेरिङ कमिटीलाई समेत पेलेर बद्री केसी पक्ष अघि बढ्न खोजेको आरोप लगाए ।

 अहिलेको अवस्थामा संस्था सुधारका लागि उनले तीनवटा मुख्य एजेण्डा अगाडि सारेका छन् । जसमा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूको व्यवस्थापन, प्रतिनिधि (डेलिगेट्स) छनौटको पारदर्शी मापदण्ड र भौतिक उपस्थितिमै गरिने मतदान रहेका छन्।

पौडेलका अनुसार, अहिले धेरै देशहरूमा दुई देखि तीनवटा सम्म समानान्तर एनसीसीहरू क्रियाशील छन्। यी एनसीसीहरूलाई वैधानिक रूपमा समायोजन नगरी र विवाद समाधान नगरी केन्द्रको निर्वाचन गर्नुको कुनै नरहने उनको भनाइ छ। दोस्रो महत्वपूर्ण विषय डेलिगेट्स छनौटको रहेको छ। भोट हाल्ने प्रतिनिधिहरू कसरी छनौट गर्ने, सबै सदस्यले भोट हाल्न पाउने कि निश्चित मापदण्डका आधारमा प्रतिनिधि तोक्ने भन्ने विषयमा ठोस सहमति नभई अगाडि बढ्न नसकिने उनको जिकिर छ। सबैभन्दा पेचिलो विषय निर्वाचन प्रणाली बनेको छ। पौडेलले आगामी निर्वाचन पूर्णतः भौतिक उपस्थितिमै हुनुपर्ने अडान राखे। 

अनलाइन मतदानले वास्तविक काम गर्ने अभियन्ताहरूलाई पाखा लगाएको र वर्षौँअघि निष्क्रिय भइसकेका व्यक्तिहरूलाई प्रयोग गरेर नेतृत्व कब्जा गर्ने प्रवृत्ति बढेकाले माग पूरा नभएमा महाधिवेशनमा भाग नलिने उनले बताए ।

तर, परराष्ट्र मन्त्रालयले भने सकेसम्म धेरै भौतिक उपस्थितिमै महाधिवेशन गर्न र उपस्थित हुन नसक्नेलाई अनलाइनमा सहभागी हुन व्यवस्था मिलाउन सुझाव दिएको छ । परराष्ट्रले यस्तो सुझाव दिएपनि नयाँ नेतृत्व चयनका लागि मतदान भने अनलाइनमै हुने एनआरएनए अभियन्ताहरुको बुझाइ छ । तर, पौडेल भने भौतिक उपस्थिति भनेको भोटिङ पनि मतपत्रमै हुनुपर्छ भन्ने आफूहरुको धारणा रहेको बताउँछन् ।

पौडेलको जस्तै यस्तो धारण महेश श्रेष्ठ निकट मानिने बीआर लामा, गंगाधर गौतमसहितका अभियन्ताहरु पनि रहेका छन् ।

तर, बद्री केसी समूहचाहिँ कुनै पनि हालतमा अहिले विधानमा भएको व्यवस्था भन्दा बाहिर जान नहुने पक्षमा छ । विधानमा अनलाइन भोटिङको व्यवस्था रहेकाले त्यो भन्दा दायाँबायाँ गए अदालतमा मुद्दा पर्न सक्ने केहीअघि परराष्ट्र मन्त्रालयमा आयोजित छलफलमा उपाध्यक्ष हेमराज शर्माले बताएका थिए ।

यस्तो पृष्ठिभूमिका बिच एनआरएनएको एकता महाधिवेशन हुन लागेको सन्दर्भमा दुई जनाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान उपाध्यक्ष हेमराज शर्मा र रोबिन शेरचनले उम्मेदवारी घोषणा गरेका हुन् । शर्मा अनलाइन निर्वाचनकै पक्षमा रहँदा शेरचनले चाहिँ असन्तुष्ट पक्षको पनि भावना बुझेर अघि बढ्नुपर्नेमा जोड दिँदै आएका छन् । साथसाथै उनले आफूले सबैलाई मिलाउनका लागि मध्यमार्गी भूमिका खेल्ने समेत प्रतिबद्धता जनाए ।

आफूलाई साझा उम्मेदवारका रूपमा प्रस्तुत गर्दै शेरचनले एनआरएनए कुनै निश्चित समूह वा राजनीतिक दलको नभई सम्पूर्ण गैरआवासीय नेपालीहरूको साझा संस्था भएको उल्लेख गरे । उनले नेतृत्व तहमा देखिएको खिचातानीले गर्दा तल्लो तहका गैरआवासीय नेपालीहरूमा समेत नकारात्मक असर परेको र संस्थाप्रति नै वितृष्णा जाग्ने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरे ।

शेरचनले भने, 'अहिलेको अवस्थामा नेतृत्व वर्गले आफ्नो व्यक्तिगत पदभन्दा पनि संस्थाको हित र समग्र गैरआवासीय नेपालीको भविष्यलाई केन्द्रमा राख्नुपर्छ । रोबिन शेरचन कुनै पनि पक्ष वा पार्टीको नभई संस्थालाई बचाउनुपर्छ भन्ने मान्यताका साथ अघि बढेको छ ।' उनले आफू सबैलाई मिलाउने र सबैको भावनालाई समेट्ने 'साझा उम्मेदवार' बन्ने पक्षमा रहेको बताए ।

संस्थालाई फुटबाट जोगाउनु नै आफ्नो मुख्य लक्ष्य रहेको बताउँदै उनले यदि यसपटक पनि सहमति हुन सकेन र संस्था पुनः विभाजनतिर गयो भने एनआरएनएको अस्तित्व नै समाप्त हुने चेतावनी दिए । विवाद सुल्झाउनका लागि बद्री केसी र महेश श्रेष्ठ दुवै पक्षसँग निरन्तर छलफल गर्ने र आवश्यकताअनुसार अरु पक्षसँग पनि समन्वय गरेर अघि बढ्ने उनको योजना छ ।

'विभाजनले कसैको हित गर्दैन, यसले संस्थालाई मात्र कमजोर बनाउँछ,' शेरचनले थपे, 'त्यसैले सबै साथीहरूलाई आफ्नो व्यक्तिगत स्वार्थ त्यागेर संस्थाको अस्तित्व जोगाउन लाग्न म आग्रह गर्दछु । म दुवै पक्षलाई मध्यमार्गी बाटोमा ल्याउन हरसम्भव पहलकदमी लिनेछु ।'

दुई समूहबीचको टकरावले महाधिवेशन नै अन्यौलमा परिरहेका बेला शेरचनको यो सक्रियताले समाधानको सूत्र फेला पर्नेमा अभियन्ताहरुको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस