नेपाल–भारत ‘वारपार’ गर्न नदिन सिमामा थप कडाई

विहीबार, ०४ बैशाख २०७७, ०७ : ४३
नेपाल–भारत ‘वारपार’ गर्न नदिन सिमामा थप कडाई

file Photo

काठमाडौँ । नयाँ वर्षको पहिलो दिन भारतको क्वारेन्टाइनमा रहेका चार जना नेपाली महाकाली नदी तरेर नेपाल छिरे । उनीहरूलाई स्थानीय प्रहरीले पक्राउ गरी महाकाली नगरपालिकाले बनाएको क्वारेन्टाइनमा राख्यो । यो समस्या महाकालीमा मात्र होइन, अनौपचारिक नाका धेरै हुँदा समस्या ठूलै छ । सीमा वारपार हुन नदिन सीमामा कडाइ भने बढिरहेकै छ ।

नेपाल–भारत दुवैतिर बन्दाबन्दी (लकडाउन)को अवधि थप गरेपछि दुवै देशका नागरिक आत्तिएका छन् । लकडाउनका कारण काठमाडौँ उपत्यकामा रहेकाहरू घर फर्किने प्रतीक्षामा छन् भने कतिपय पैदल हिँडेर घर जाने जोखिम लिइरहेका छन् । उता भारतमा पनि लकडाउनको अवधि बढाएका कारण थुप्रै ठाउँबाट क्वारेन्टाइनबाट निस्केर भागेका छन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले बुधबार एक विज्ञप्ति नै जारी गरेर सीमा नाकामा सुरक्षा कडाइ गर्न माग गरेको छ । राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले भन्नुभयो, “खुला सिमाना चुनौती बनेको छ, कोरोनाविरुद्ध लड्न अझै कडाइ गर्नुको विकल्प छैन । ” स्थानीयस्तरमा पनि सीमा नाकाबाट आउजाउमा रोक्ने प्रयास भइरहेको छ । कतै स्वयंसेवक खटिएका छन् भने कतै गाउँकै मान्छेले निगरानी बढाएका छन् तर दुवै देशमा आफन्त र चिनारु निकै भएका कारणले त्यति प्रभावकारी नहुँदा सुरक्षाकर्मी नै परिचालन गर्नुपर्ने उहाँको भनाइ छ ।

सिरहा इँटाटार सशस्त्र प्रहरी क्याम्पका सशस्त्र प्रहरीका देवेन्द्र रोक्काका अनुसार मङ्गलबार १ बजे राति छ जना नेपाली भारतबाट सिरहा औरही गाउँपालिकाको इँटाटार नाकाबाट नेपाल पस्ने प्रयास गरेका थिए । सशस्त्र प्रहरीले थाहा पाएर रोक्यो । अहिले उनीहरू औरही गाउँपालिकाको क्वारेन्टाइनमा छन् ।
पहिला स्थानीयस्तरबाट पनि समूह बनाएर गस्ती हुन्थ्यो तर अहिले सुरक्षामा जनशक्ति बढाएपछि स्थानीयस्तरको गस्ती हटेको निरीक्षक रोक्काले जानकारी दिनुभयो ।

झापामा पनि सीमा आहोरदोहोर हुँदा प्रहरीलाई चुनौती थपिएको थियो तर त्यसको अग्रसरता स्थानीय व्यक्तिले लिएको झापा सशस्त्र सीमा बलका वरिष्ठ प्रहरी उपरीक्षक रमेशकुमार थकसुले जानकारी दिनुभयो । स्थानीयले त्यसका लागि १६ वटा सीमा निगरानी समिति गठन गरेका छन् । सशस्त्र प्रहरीको जनशक्ति पनि थपिएकाले सुरक्षा निगरानी कडा पारिएको उहाँले बताउनुभयो । भारतको विहार र पश्चिम बङ्गाल राज्यसँग प्रदेश १ का जिल्ला इलाम, झापा, मोरङ र सुनसरीको सीमावर्ती क्षेत्र जोडिएको छ । विहारसँग जोडिएको प्रदेश २ मा प्रदेश १ भन्दा अहिले चुनौती बढी छ ।

पर्सा जिल्लाका सशस्त्र प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक दीपेन्द्र कुँवरले भन्नुभयो, “काठमाडौंँबाट आएका भारतीयको चाप यहाँ बढी देखिएको छ । काठमाडौँबाट थुप्रै मान्छे यहाँ बोर्डरसम्म आइपुगेका छन् तर यहाँबाट छिर्न नदिएपछि सबै जनालाई क्वारेन्टाइनमा राखिएको छ । ” पर्सामा तीन जनामा कोरोना पोजेटिभ देखिएपछि स्थानीय सचेत भएका छन् । ठोरी गाउँपालिकामा युवाले समूह बनाएर नै गस्ती गरिरहेका छन् । गोरखापत्र दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस