प्रधानमन्त्रीकै अगाडी इश्वर पोखरेलमाथी मुख्यमन्त्रीहरुको प्रहार

मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई भने–‘आवगेमा आएर कुनै निर्णय नगरौं, एक घण्टा पनि कसैलाई कतै निस्कन नदिऔं’

आइतबार, ३० चैत्र २०७६, ०९ : ३०
प्रधानमन्त्रीकै अगाडी इश्वर पोखरेलमाथी मुख्यमन्त्रीहरुको प्रहार

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले हिजो बुधबार सात वटै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स गरे । कोरोनासँग जुध्ने तयारीका विषयमा गरिएको तयारी लगायतका विषयमा समिक्षा गर्न उनले आफनै कार्यालय सिंहदरवारको एक्सन रुमबाट मुख्यमन्त्रीहरुसँग अन्र्तक्रिया गरेका थिए । 

३ बैशाखबाट लकडाउन खुकुलो पार्ने र सीमापारीका नेपालीलाई भित्राउनेमा सरकार लचिलो बनेको सन्देश गईरहेका बेला ओलीले मुख्यमन्त्रीसँग प्रदेशको अवस्था जानकारी लिने र आवश्यक निर्देशन गर्ने योजनाका साथ भिडियो कन्फरेन्स आयोजना गरेका थिए ।

तीन दिन अगाडी मात्रै दुई दिनका लागि केन्द्रमा उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठन गरिएको उच्चस्तरीय समितिले दुई दिन काठमाडौंबाट घर जान चाहनेलाई घर जान छुट दिने गरि गरेको निर्णय (जुन पछि सरकार आफैले निर्णय नै नभएको भनी ढाट्ने काम गरेको थियो)  भावनामा बहकिएर गरेको भन्दै मुख्यमन्त्रीहरुले पोखरेलेको आलोचना गरेका थिए । 

दाँया बाँया गृह र रक्षामन्त्रीलाई राखेर एक्सन रुपमा बसेका प्रधानमन्त्रीसँग प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले उपप्रधानमन्त्रीको समितिले भावनामा बगेर निर्णय गर्न खोजेको भन्दै विरोध जनाएका थिए । उनीहरुले भारतले खतराको घण्टी बजाईसकेको र नेपालले लकडाउन थप बढाएर सीमा नाका थप कडाई गर्नुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

‘यो बेला कुनै पनि निर्णय आवेग र भावनामा बगेर गर्ने होइन, जस्तो तीन दिन अगाडी काठमाडौंवाट दुई दिन मान्छेहरुलाई घर जान दिने निर्णय भयो, त्यो भावनामा बगेर गरिएको निर्णय थियो, हामीले विरोध ग¥यौं, अन्तत फिर्ता भयो, यस्तो निर्णय गर्नुहुन्न’, गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले भने,–‘बरु सरकारले खान बस्न समस्या भएका मजदुर, गरिब श्रमजिवीहरुका लागि खान बस्नको ब्यवस्था गर्नुपर्छ, राहात उपलब्ध गराउनुपर्छ, तर अहिले जो जँहा बसेका छन्, त्यहाँबाट अन्यत्र कसैलाई पनि जान छुट दिनुहुदैन , त्यसमा कडाई गर्नुपर्छ । यो नै कोरोनासँग जुध्न सक्ने मुख्य हाम्रो अस्त्र हो ।’ 

उनले उपप्रधानमन्त्री पोखरेल नेतृत्वको समितिले भावनामा बगेर निर्णय लिन थालेकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताए । ‘कुनै पनि बहानामा सीमा नाकाबाट मान्छे आवतजावत गर्न दिनुहुदैन । काठमाडौंबाट पनि एक दिन होइन एक घण्टा पनि कसैलाई बाहिर निस्कन दिनु हुदैन,’ गुरुङले भने ।
 
भारतको सीमाना थप कडाई गरौं
मुख्यमन्त्रीहरुले भारततिरको सीमाना थप कडाई गर्नुपर्ने बताएका छन् । नेपाल भारत सीमा क्षेत्रमा नेपालीहरु आएर बसेका, उनीहरुलाई भारत सरकारले एकै स्थानमा भेडाबाख्रा कोचे जसरी राखेको र उनीहरुलाई स्वदेश ल्याउनु पर्ने माग उठिरहेका बेला प्रदेशका मुख्यमन्त्रीहरु भने त्यसमा सकारात्मक देखिएका छैनन् । उनीहरुले जे जे व्यवस्था मिलाउनु पर्ने हो । त्यही त्यही ब्यवस्था मिलाउनु पर्ने तर आवातजावत गर्न दिन नहुने धारणा राखेका छन् । 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सीमानामा थप कडाई गर्न आग्रह् गरेका थिए । उनले प्रहरीका अस्थायी पोष्टहरु थप गरेर भएपनि सीमानाबाट कोही एक जनालाई पनि नेपाल प्रवेश गर्न दिनै नहुने धारणा राखेका थिए । प्रर्याप्त औषधी र उपकरणको ब्यवस्था मिलाईदिन र सीमानाका नाकामा कडाई गरिदिएमा नेपालले कोरोनासँग जुध्न सक्ने धारणा मुख्यमन्त्री राईले राखेका थिए । त्यस्तै धारणा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पनि राखेका थिए ।

उनले भारतमा संक्रमणको संख्या दिन प्रतिदिन बढेकोले यता सजगता अपनाउनु पर्ने बताएका थिए ।  मुख्यमन्त्रीहरुले हचुवाका भरमा, आवेगमा निर्णय नलिन प्रधानमन्त्रीलाई सुझाव दिएपछि प्रधानमन्त्रीले पनि लकडाउन छिटैं अन्त्य नहुने धारणा राखेका थिए । उनले लकडाउन थपिने र कसैलाई पनि भावनामा बगेर निर्णय नगरिने प्रष्टाएका उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका थिए ।