लकडाउनका बेला डा. बाबुराम भट्टराईको भिडियो सन्देश : हामीलाई जीवन र स्वतन्त्रता दुबै चाहिन्छ

विहीबार, २७ चैत्र २०७६, १५ : ५१
लकडाउनका बेला डा. बाबुराम भट्टराईको भिडियो सन्देश : हामीलाई जीवन र स्वतन्त्रता दुबै चाहिन्छ

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना भाइरस (कोभिड–१९) बारे बोल्दै भिडियो सन्देश जारी गरेका छन् ।

६ मिनेट लामो भिडियोमा उनले तनाव र चिन्ता कम गर्न तथा सकारात्मक सोच विकास गर्न सुझाव दिएका छन् । ‘यो बेला हामी सबैले बडो विचित्रको अनुभव गरिरहेका छौं । सबै आआफ्नो घरभित्र थुनिएका छौं । यस्तो बेलामा मनमा विभिन्न आशंका र तनाव उत्पन्न हुन सक्छ । यस्तो तनावलाई जति पन्छाउन सक्यो त्यति नै हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।’ उनले भिडियोमा भनेका छन् ।

‘तनाव र चिन्ता गर्ने होइन, चिन्तन गर्ने हो,’ उनले भने, ‘महाव्याधिपछि पनि संसार रहन्छ । जीवन रहन्छ भन्ने सोच राख्नुपर्छ।’ राज्य र नागरिकको सहकार्यले मात्रै कोरोना परास्त गर्न सकिने उनले उल्लेख गरेका छन् ।

डा. भट्टराईले जीवन र स्वतन्त्रतामा एक रोज्न नसकिने पनि बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संकटको बेला जीवन ठूलो हुन्छ कि वैयक्तिक स्वतन्त्रता भनेर गरेको प्रश्नलाई ईंगित गर्दै उनले भनेका छन्, ‘यस्तो बेला जीवन र स्वतन्त्रतामध्ये एक रोजौं भन्ने होइन । हामीलाई दुवै चाहिन्छ ।’

डा. भट्टराईले राज्यले जनतालाई राहत दिनुपर्ने बताएका छन् । ‘कोरोनापछि पनि देशलाई समृद्ध बनाउने, पुनर्निर्माण र नवनिर्माणका योजनामा राज्यले भूमिका निर्वाह गर्नुपर्ने हुन्छ,’ उनले भनेका छन् ।

डा. भट्टराईले कोरोनाको नियन्त्रणमा अहोरात्र खटिइरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ कामदारलगायतको प्रशंसा गरेका छन् । ‘कोरोनासँग जुध्न अग्रपंतिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई धन्यवाद दिन चाहन्छु,’ उनले भनेका छन्, ‘खाद्यान्नलगायत आपूर्तिमा लाग्ने र सरसफाइका कर्मचारीलाई धन्यवाद दिन्छु ।’

 

प्रतिक्रिया दिनुहोस