कोरोना भाइरस

कोभिड १९ को महामारी : मेरो लकडाउन डायरी

सूर्यप्रकाश कँडेल

विहीबार, २७ चैत्र २०७६, १२ : ०१
कोभिड १९ को महामारी : मेरो लकडाउन डायरी

- सूर्यप्रकाश कँडेल

विश्व आज कोभिड १९ को महामारी विरुद्ध लडिरहेको छ । नेपाल यसबाट अछुतो रहने कुरै भएन । कोरोना भाइरसको संक्रमण फैलन नपाओस् भनी नेपाल सरकारले चैत ११ गतेबाट देशभर लकडाउन गरेको छ । लकडाउनको अवधि वैशाख ३ गतेसम्म थपिएको छ । त्यसपछि पनि थपिने सम्भावना छ ।

लकडाउन हामी नेपालीहरुको लागि नयाँ अनुभव बनेको छ । यसअघि बन्द र आमहडताल भोगेका नेपालीले लकडाउनलाई पनि त्यही रुपमा बुझे । बिहान र साँझ दूध डेरी र किराना पसल अगाडि देखिने भीडले त्यही संकेत गर्छ ।

संचारकर्मी भएको नाताले मेरो कर्म हिजो माओवादी द्वन्द्व, जनआन्दोलन, नाकाबन्दी र भूकम्पमा रोकिएन । आज लकडाउन (बन्दाबन्दी) मा पनि रोकिएको छैन । मैले लकडाउनको पूर्णपालना गर्दै घरबाटै आफ्नो काम गरिरहेको छु । घरमा इन्टरनेट उपलब्ध भएकोले ल्यापटपमा काम गर्न सजिलो भएको छ । फोनबाट सूचना संकलन गरी समाचार तयार पार्ने गरेको छु । समाचारबाहेक कोरोना भाइरसको संक्रमण र यसले समाजका विभिन्न क्षेत्रमा पारेको असरबारे लेख पनि लेखियो ।

फिल्डमा कुद्नु पर्ने मान्छे घरभित्रै थुनिएर काम गर्नु पर्दा केही असहज त पक्कै भएको छ, तर कोरोना संक्रमणको साङ्लो तोड्न यो असजिलो स्वीकार गरेको छु । विश्वका मै हुँ भन्ने नामी देशहरुले पनि कोरोनाको कहर झेल्न मुश्किल परेको बेला नेपालमा संक्रमण फैलनु भनेको लासहरूको बिस्कुन सुकाए सरह हुनेछ। त्यसैले हामी सबै घरभित्रै बसौँ । घर सुरक्षित छ ।

लकडाउनले असजिलो समयमा पनि काम गर्न सिकाएको छ । एन ९५ (N 95) मास्कको अभावमा जोखिम मोलेर घरबाहिर निस्कन मन लागेन । आफ्नोमात्रै कुरो भए सुरो बन्न पनि हुन्थ्यो, केही गरी आफू कोरोनाको संक्रमणमा परियो भने सबैभन्दा पहिले आफ्नै परिवार र त्यसपछि छिमेक, टोल, वडा, स्थानीय तहहुँदै जिल्ला, प्रदेश र समग्र देश नै प्रभावित हुने सम्भावना रहन्छ । त्यसैले बहादुर बन्ने दुस्साहस गरिन । कसैले कायर भने भनिरहोस् ।

लकडाउनले परिवारसँग समय बिताउने अवसर दियो । केटाकेटीसंग लुडो, चेस खेल्ने परिस्थिति दियो, जसले घरका सबै सदस्यको मनस्थिति बलियो बनायो । सामाजिक सञ्जालमार्फत् सम्भव भएको साथीहरुसँगको अन्तर्क्रियाले समय बिताउन सहज भयो ।

पेशागत कर्म पूरा गर्न लकडाउन बाधक बन्न पाएको छैन । दिनहरु कटिरहेका छन् । म आत्तिएको छैन । अरूलाई पनि असहज समयलाई सहजरूपमा टार्न अनुरोध गर्दछु ।