‘प्रधानमन्त्री ओली आफ्नै क्याम्प भित्र यसरी परे घेराबन्दीमा’

पार्टीको स्थायी समितिसम्म प्रधानमन्त्री ओलीका निकट नेता भनेर चिनिने सबैजसो नेताहरु कुनै न कुनै विवादमा मुछिएपछि ओली क्याम्पमा खैलाबैला हुन थालेको छ

सफल खबर संवाददाता

शनिबार, २२ चैत्र २०७६, १० : ५३
‘प्रधानमन्त्री ओली आफ्नै क्याम्प भित्र यसरी परे घेराबन्दीमा’

काठमाडौं । कुनै मान्छे शक्ति र सत्तामा छ  । तर पनि उ निक्कै कमजोर छ भन्दा जो कोहीलाई पनि विश्वास नलाग्न सक्छ । शक्तिमा रहेको मान्छे कसरी कमजोर ? आम मानिसमा जिज्ञासा उठन सक्छ ।

बाहिर बलियो बोक्रो देखिएपनि भित्र खोक्रो हुदाँको पीडा अहिले यदि कसैलाई थाहा छ भने त्यो प्रधानमन्त्री केपी ओलीलाई मात्र थाहा छ । उनी अहिले आफै समेत अध्यक्ष रहेको नेकपामा र सरकारमा समेत आफुलाई कमजोर बाहिरी रुपमा देखाउन चाहदैनन । तर भित्री रुपमा उनी यति कमजोर छन की उनी पार्टी र सरकारमा एक पछि अर्काे संकट टार्ने उपायमा मात्र तल्लिन हुनुपर्ने अवस्था निम्तिन थालेको छ ।

आफ्ना निकट नेताहरु एकपछि अर्काे काण्डमा बदनाम हुदै जान थालेपछि उनलाई पार्टी नेताको बचाउमा उत्रन पनि अप्ठ्यारो हुन थालेको छ । सरकारमा त उनको दुई वर्षे अवधी पूरै निरासामा मात्र बितेको छ । उनले जतिसुकै सरकारको काम प्रभावकारी ढंगले अगाडी बढेको बताएपनि जनताले ब्यवहारतः सरकारको अनुभूति गर्न सकेका छैनन् ।

ओलीलाई विगत चार महिनायता यता आईपरेका संकट यस्ता छन् :
सभामुख प्रकरण : माओवादी धारका नेता कृष्णबहादुर महराको नैतिक कमजोरीमा प्रधानमन्त्री ओली आफैं फिल्डमा उत्रिए । महरा सकाउदा माओवादी धारका नेताहरुलाई नै सिध्याउन सकिने विश्वासमा उनले महरा काण्डमा अनावश्यक हस्तक्षेप सम्म गर्न भ्याए ।  विकास र सहयोग सम्बन्धी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसि) मा महराले सदनमा प्रस्ताव टेबुल गर्न नमानेको भन्दै उनले त्यसको रिस महरा माथी खन्याउन थाले ।
त्यसको परिणाम महराको नैतिक कमजोरीमाथी खेलेर महरालाई फसाउन उनले षडयन्त्र गरेको आभास पूर्व माओवादी धारमा सधै रहिर्हयो । त्यसपछि प्रधानमन्त्री ओलीले सभामुख सुवास नेम्वाङलाई बनाउन चाहे । तर त्यसमा पनि उनी सफल भएनन् । २१ पुसमा उपाध्यक्ष वामदेव गौतम निवासमा बसेको बहुमत सचिवालय सदस्यको बैठकले सभामुखमा अध्यक्ष प्रचण्डको प्रस्तावलाई समर्थन गर्ने निधो गरे । त्यसपछि सभामुखमा चुनिए अग्निप्रसाद सापकोटा । यही विन्दुवाट ओली पार्टी र सरकारमा देखिने गरी नै कमजोर अवस्थामा पुगेका थिए ।

एमसिसि प्रकरण : प्रधानमन्त्री ओली एमसिसि परियोजना सर्वसम्मत रुपमा पार्टीमा पारित गर्न चाहन्थे । सदनबाट सिधा प्रस्ताव लगेर अनुमोदन उहिल्यै गराउन चाहन्थे । तर उनले भने जस्तो सहज पार्टीमा यो प्रकरण पनि बन्न सकेन । उनले नचाहँदा नचाहँदै पार्टी केन्द्रीय समिति बैठकले एमसिसि अध्ययन गर्न कार्यदल बनायो । वरिष्ठ नेता झलनाथ खनाल संयोजकत्वको कार्यदलले एमसिसि यथास्थितीमा पारित हुन नसक्ने भन्दै परिमार्जन पहिले गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन दियो । उनको इच्छा विपरितको कार्यदल बन्न्, कार्यदलले परिमार्जन विना एमसिसि जस्ताको तस्तै परित गर्न नसक्ने गरी प्रतिवेदन दिनुले ओलीलाई दोश्रो धक्का लाग्यो । उनको इच्छा मुताविक नभएपछि अहिले यो नेकपा सचिवालयमा पुगेर थन्किएको छ । यो यही अवस्थामा नेकपाले पारित गर्ने सम्भावना क्षीण छ । त्यसका लागि पहिले सम्झौता परिमार्जन अनिवार्य बनेको छ ।

वामदेव प्रकरण : उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको रिक्त एक पदमा पार्टीका तर्फबाट सिफारिस गर्ने निर्णय नेकपा सचिवालयले सर्वसम्मत लिएको छ । प्रधानमन्त्री ओली सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने यो एउटा बाँकी सिटमा अहिलेकै अर्थमन्त्री डा. युवराज खतिवडालाई नै दोहो¥याउन चाहिरहेका छन् । तर त्यो सम्भव भईरहेको छैन ।
वामदेव प्रकरणमा ओलीले चाहेजस्तो नभएपछि यो विषय पनि नेकपाभित्र त्यक्तिकै थन्किएको छ । प्रधानमन्त्री ओलीको दोश्रो पटकको मृगौला पून प्रत्यारोपण र कोरोना भाइरसको कारणले मात्र यो विषयमा प्रधानमन्त्रीले तत्काल पार्टीभित्र चुनौती सामना गर्न नपरेपनि यदि त्यो अवस्था थिएन भने उनी नैतिक रुपमा कमजोर बन्दै पार्टी निर्णय कार्यान्वयनमा बाध्य हुनुपर्दथ्यो । निर्णय कार्यान्वयन नगरे उनी विरुद्ध स्थायी समितिमा प्रस्ताव पारित हुने अवस्था सम्म थियो ।

गोकुल प्रकरण : सरकारमा ओलीका बलियो र भरपर्दाे सारथी थिए पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा । तर उनी ७० करोड लेनदेन काण्डमा मुछिए । लेनदेन गर्दै गरेको अडियो नै सार्वजनिक भएपछि उनले सरकार छोडन बाध्य हुनुपरयो । ओली उत्तः अडियो काण्ड आउदा सम्म पनि बाँस्कोटालाई बचाउ गर्न खोज्दै थिए । तर पार्टीका अन्य नेताहरुको चर्काे दबाबका कारण ओलीले बाँस्कोटालाई सरकारमै थाम्न सकेनन । जसकारण उनलाई अहिले सरकारको बलियो गरी बचाउ गर्ने जर्नेलकै खाचो परेको छ ।

स्वास्थ्य उपकरण खरिद प्रकरण : पछिल्लो पटक उनकै विश्वासप्राप्त उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायत नै स्वास्थ्य खरिद प्रकरणको आर्थिक अनियमिततामा मुछिए । उनीहरुले आफुलाई समेत गुमराहमा राखेर खरिद प्रकरणमा आर्थिक कमिसनको खेल चालेपछि उनी यो खरिद प्रकरणमा समेत अप्ठयारोमा परेका छन्  ।

सरकार र पार्टीमा समेत यी ५ प्रकरणले ओलीलाई नमज्जाले धक्का लगाईदिएको छ । त्यसमाथी पार्टी स्थायी समिति सम्म अहिले ओलीका लागि दाग नलागेका नेता भेटनै मुश्लिक परेको छ ।

सचिवालय देखि स्थायी समितिमा ओलीका सारथीहरुको चर्चा पनि गरौं :
नेकपाको ९ सदस्यीय सचिवालयमा प्रधानमन्त्री ओली, महासचिव विष्णु पौडेल र सचिवालय सदस्य इश्वर पोखरेल मात्र उनका पक्षमा छन् । अन्य ६ नेता उनीसँग छैनन् । ओली आफै कमजोर शारीरिक अवस्थामा सरकारको नेतृत्वमा छन् । सरकारको काम प्रभावकारी देखाउन नसकेको भन्दै उनको नेतृत्व क्षमता माथी नै अहिले प्रश्न उठिरहेको छ । यही बीचमा उनका निकट महासचिव विष्णु पौडेल बालुवाटार जग्गा प्रकरणमा जोडिएका छन् । छोराका नाममा ८ आना बालुवाटारको सरकारी जग्गा घोटला काण्डमा भूमाफियासँगको साँठगाँठमा पौडेल मुछिएका छन् । यो प्रकरण पछि पौडेलले पार्टी नेता कार्यकर्ताका अगाडी शिर ठाडो पारेर उभिन सक्ने ल्याकत राख्दैनन ।

अर्का नेता उपप्रधन तथा रक्षामन्त्री इश्वर पोखरेल कोरोना महामारीका बेला स्वास्थ्य खरिद प्रकरणसँग जोडिन पुगेका छन् । भूकम्पका बेला पूर्व अर्थमन्त्री डा. रामशरण महतले जस्ता काण्ड मच्चाएको झंै कोरोनाका बेला उपप्रधानमन्त्री पोखरेल मुछिए । त्यो पनि ओलीलाई अत्तोपत्तो नै नदिईकन । यसको बदनामी अहिले कसरी ढाकछोप गर्ने भन्नेमा ओली र उनका सारथीहरुलाई हम्मेहम्मे पर्दै जान थालेको छ ।

अन्य स्थायी समितिमा ओली निकट नेताहरु हुन्,– किरण गुरुड, छविलाल विश्वकर्मा, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुड, रघुविर महासेठ, विष्णु रिमाल, सत्यनारायण मण्डल, शंकर पोखरेल र सुवासचन्द्र नेम्वाङ मात्रै छन् । किरण र शंकर पोखरेल, पृथ्वीसुब्बा प्रदेश सरकारमा छन् । गुरुड मन्त्री र पोखरेल र सुब्वा मुख्यमन्त्री । प्रदेश सरकारमै अल्मलिएका कारण पनि उनीहरु अहिले केन्द्रको राजनीतिमा ओलीलाई बलियो गरी साथ दिन सक्ने अवस्थामा छैनन । रिमाल मुख्य सल्लाहकार नै छन् । उनी पनि अहिले स्वास्थ्य सामग्री खरिद प्रकरणमा जोडिएका छन् ।  ज्ञवाली परराष्ट्रमन्त्री छन् । उनी एमसिसि प्रकरणमा जोडिएका छन् । सुवास नेम्वाङ बाहेक अहिले ओलीसँग भरपर्दाे नेता नै छैनन् ।

रघुविर महासेठ ओली तिर भएपनि उनी आफै विवादित छन् । उनको सम्बन्ध वामदेवसँग पनि छ । अन्य नेता विवादित बनेपछि ओली क्याम्पमा अहिले खैलाबैला मच्चिएको छ । पार्टीमा सत्ता र शक्तिमा रहदा पनि फेस सेभिङ गर्ने गरी बलियो नेताहरुको साथ छुटदै जान थालेको छ । बदनाम नेताहरुको झुन्डको पेरिफेरिमा घुम्ने र उनीहरुको बचाउमा आफनो सम्पूर्ण शक्ति खर्चिनु पर्दा ओलीसँग अहिले यथास्थितीमा रहने या आफनो दोषी घेरा तोडेर क्रमभंगतामा आउने भन्ने दुई मात्र विकल्प देखा परेको नेकपा नेताहरु तर्क गर्छन् ।