प्रधानमन्त्री ओलीले किन हप्काए, बालुवाटारमा दुई मन्त्रीलाई ?

मन्त्री देखि सल्लाहकार सम्म फेर्ने तयारीमा प्रधानमन्त्री

सफल खबर संवाददाता

शुक्रबार, २१ चैत्र २०७६, ०९ : ३०
प्रधानमन्त्री ओलीले किन हप्काए, बालुवाटारमा दुई मन्त्रीलाई ?

काठमाडौं । औषधी तथा स्वास्थ्य उपकरण खरिद प्रकरणमा चरम आर्थिक अनियमितताको आरोप लागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारमा आफ्नै क्याविनेटका दुई मन्त्रीलाई बोलाएर हप्काएका छन् । 

आफुलाई समेत गुमराहमा राखेर स्वास्थ्य सामग्री खरिदमा अनियमितताको फेहरिस्त तयार पार्न भूमिका खेलेको र आर्थिक लाभलाई केन्द्रविन्दुमा राख्न खोजेको भन्दै प्रधानमन्त्रीले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई हप्काएका हुन् । आफ्नै निजी सल्लाहकारहरु, मन्त्रीहरु र स्वास्थ्य सेवा विभागका महानिर्देशक सम्मको संग्लनतामा स्वास्थ्य उपकरण खरिद प्रकरणमा अनियमतिताका लागि योजना बनाएको संकेत पाएपछि ओलीले पोखरेल र ढकाललाई बालुवाटार बोलाएर एकै साथ राखेर खरिद प्रकरणमा भएको के हो ? किन विवादमा आयो भन्दै प्रष्टिकरण शैलीमा हप्काएका हुन् । 

‘म उस्तै प¥यो भने आफनो अर्काको भन्दिन्, विश्वास गरेकाहरुले नै आफुलाई समेत जानकारी नदिई मनखुसी गर्ने काम किन भयो ? मलाई यस्ता विषय सहैय छैन’ प्रधानमन्त्री ओलीले पोखरेल र ढकाललाई खरिद प्रक्रियाको यथार्थ बताउन भन्दै आक्रोश पोखेको बालुवाटार स्रोतले बतायो । पोखरेल र ढकाल दुवै पार्टीमा ओली निकटका नेता हुन् । 
पोखरेलले त अझ आफुलाई ओली समुहमा ओली पछिको उत्तराधिकारीकै रुपमा उभ्याउँदै आएका छन् । 

स्रोतका अनुसार, ओली आफ्नै भन्नेहरुको घेरावन्दीमा पर्दा आलोचित हुन थालेपछि आक्रोशित देखिएका छन् । आइतबारको मन्त्रिपरिषद् बैठकमा पनि प्रधानमन्त्री ओलीले यस बारेमा चासो देखाउदै कँहा मिलेन ? किन विवादमा आयो ? भन्दै जिज्ञासा राखेका थिए । क्याविनेट बैठकमा यस बारेमा प्रधानमन्त्रीले चासो देखाउँदा सम्म चुप बसेका उपप्रधानमन्त्री पोखरेल र स्वास्थ्यमन्त्री ढकाललाई उनले छुट्टै यस विषयमा बुझन चाहेर बुधबारसँगै राखेर हप्काएका हुन् । पोखरेल र ढकालले भने यस विषयमा कुनै अनियमितता नभएको र सबै काम पारदर्शी ढंगले भएको भन्दै आफ्नो बचाउ कोसिस गरेका थिए ।  

त्यसपछि पनि प्रधानमन्त्री विश्वस्त हुन नसकेपछि उनले आफु अब यसरी चुप नबस्ने, आवश्यक परे आफ्नो टिमको मन्त्री भनेर माया गरेर नराख्ने बताएका थिए । त्यसपछि नै ओलीले ‘ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि’ (ओबिसिआई) सँगको सम्झौता रद्द गर्न निर्देशन दिएका थिए । पार्टीभित्रै सरकारको चर्काे आलोचना हुन थालेपछि ओलीले ओम्नीसँगको सम्झौता रद्द गर्ने निर्णय लिएका थिए ।

‘अहिलेलाई ओम्नीसँगको खरिद सम्झौता रद्द गर्नुहोस, सरकारले अर्काे प्रयास थाल्नेछ,’ प्रधानमन्त्रीको ठाडो निर्देशन पछि बुधबार त्यसपछि स्वास्थ्य सेवा विभागले खरिद सम्झौता रद्ध गर्ने, ओम्नीको ५ करोड धरौटी जफ्त गर्ने र उक्त कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय लिएको थियो । त्यसबेला नयाँ प्रक्रियाका विषयमा कुनै निश्र्कष प्रधानमन्त्रीले सुनाएका थिएनन् । तर बिहीबार प्रधानमन्त्रीले (सरकारबाट सरकार) जीटुजी बाट स्वास्थ्य सामग्री खरिद गर्ने गरि निर्णय लिने योजना मन्त्रीहरुलाई सुनाएका थिए ।

क्याबिनेट निर्णयमा किर्ते 
(सरकारबाट सरकार) जीटुजी बाट स्वास्थ्य सामग्री खरिद गर्नका लागि मन्त्रिपरिषद् बैठकले निर्णय लिनुपर्ने हुन्छ । अत्यावश्यक सामग्री खरिदका लागि एक दिन ढिलाई गर्नु भनेको आपतकालिन अवस्था आईलागे ठूलो जोखिम निम्तन सक्ने अवस्था छ । कोरोना महामारीले विश्व आतंकित बनिरहेका वेला स्वास्थ्य सामग्री भित्रायाउन ढिलाई गर्दा सरकारको आलोचना झन उत्तिकै बढने देखिन्छ । 

त्यसपछि प्रधानमन्त्री ओलीको ठाडो निर्देशनमा मन्त्रिपरिषद् बैठकको निर्णयमै किर्ते भएको छ । चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले यस बारेमा कुनै निर्णय लिएको थिएन् । ओलीले सरकारले खरिद गर्ने निर्णय लिएको सामग्री खरिद प्रक्रिया विवादमा किन आएको भन्दै आक्रोश मात्र पोखेका थिए । 
तर बिहिवार मन्त्रीहरुलाई पठाईएको क्याबिनेट बैठकको निर्णयको सुर्कलरको चौथो बुँदामा स्वास्थ्य सामग्री खरिद प्रक्रिया सरकारबाट सरकार (जीटुजी) बाट गर्ने र त्यसको जिम्मा नेपाली सेनालाई दिने निर्णय पनि उल्लेख थियो । 

उक्त सर्कुलरमा ‘कोविड १९ रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक पर्ने औषधी, उपकरण तथा अन्य सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी आवश्यकता अनुसार रक्षा मन्त्रालयले नेपाली सेना मार्फत सरकारबाट सरकार (जीटुजी) विधिबाट खरिद गर्ने’ उल्लेख छ । जब, क्याबिनेट निर्णयको यो सर्कुलर मन्त्रीहरुले हेरे मन्त्रीहरु समेत अचम्मित भए । यो सम्बन्धी निर्णय क्याबिनेट बैठकमा भएकै थिएन । हुनतः मन्त्रिपरिषद् बैठकको निर्णय लिनका लागि प्रधानमन्त्रीले बैठकमा जे भन्छन्, त्यही निर्णय हुन्छ । तर त्यसदिन निर्णय नभएको विषयमा निर्णयकै रुपमा कसरी आयो भन्नेमा मन्त्रीहरु समेत अनभिज्ञ छन् । निर्णयमै किर्ते भएको मन्त्रीहरुले अनुमान लगाएका छन् । 

मन्त्री देखि सल्लाहकार सम्म फेर्ने तयारी 
खरिद प्रकरण विवादमा आएपछि उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकालमाथी छानविनको माग चौतर्फी उठेको छ । पोखरेलमाथी छानविन गर्नुपर्ने र ढकाललाई तत्काल बर्खास्त नै गर्नुपर्ने आवाज पनि उठेको छ । अख्तियारमा समेत उजुरी परेको छ । दुई दिन यता दुई ओटा उजुरी अख्तियारमा परेको छ ।
आफ्नै नीजि सचिवालयका केही सल्लाहकार समेत यो प्रकरणमा मुछिएका छन् । खासगरी मुख्य सल्लाहकार विष्णु रिमाल, आइटी विज्ञ अलि असगर लगायतका मान्छे विवादमा परेपछि ओली सचिवालय देखि मन्त्रिपरिषद् समेत हेरफेरको सोचाईमा पुगेका छन् ।

उच्च स्रोतका अनुसार, ओलीले आफुलाई केही सहज हुने देखिए लगत्तै सचिवालय देखि मन्त्रिपरिषद् सम्म हेरफेरको तयारी गरिरहेको स्रोत बताउँछ । त्यसका लागि उनी तयार देखिएको स्रोतको भनाई छ । 

सत्तारुढ दल नेकपाका शीर्ष नेताहरुले समेत स्वास्थ्य सामग्री खरिद प्रकरण पार्टीमा छलफलको विषय बनाइनुपर्ने र आर्थिक अनियमिततामा जोडिएकामाथी कडा कारवाही हुनुपर्ने माग सहित पार्टी बैठक बोलाउन दबाब बढेको छ । त्यो दबाब थेग्न र आफैं पार्टीमा अप्ठयारो परिरहेका बेला थप अप्ठयारो पार्ने गरी आएको यो विषयमा थप कडा निर्णयमा प्रधानमन्त्री पुग्न सक्ने बालुवाटार स्रोतको भनाई छ ।