चीनबाट मेडिकल सामग्री समयमै आइपुग्ला त ?

सफल खबर संवाददाता

शनिबार, १५ चैत्र २०७६, १४ : १६
चीनबाट मेडिकल सामग्री समयमै आइपुग्ला त ?

फाईल फोटो

काठमाडौँ । नेपालमा लक डाउन गरेर मानिसलाई घरभित्रै राखिएको छ । यही बीचमा थप चार जनामा कोरोना भाइरसको संक्रमण देखियो । अझै परिक्षण गराउनेको भिड उस्तै छ । रुघाखोकी र भाइरल लाग्ने अनुकुल समयमा कोरोनाको त्रास थपिदो नै छ । नेपालमा उपलब्ध नहुँदा परिक्षण किट लगायतका विविध मेडिकल सामग्रीको खाँचो पुरा गर्न छिमेकी म्ुलुकको सहायता लिइदै छ । 

जस अनुसार छिमेकी मुलुक चीन र भारतले आवश्यक परेका बेला असल मित्र बनेर सघाउने बाचा गरेका छन् । भारतले चिकित्सकीय सहयोग पठाउने भनेको हो । त्यो बारेमा कुनै पहल भएको छैन । चीनको बाचा अनुसार भने मेडीकल सामग्री छिट्टै आउने हल्ला चलेको एकसाता वितिसक्यो छ । आजभोली नै आउने भनेको पनि तीनचार दिन नै भयो । किट उपलब्ध नहुँदा प्रदेश स्तरमा परिक्षण हुन सकेको छैन । जसका कारण टेकु स्थित प्रयोगशाला नै एकमात्र स्थान परिक्षणका लागि रहेको छ । ह्वात्तै संक्रमण बढेमा किट नहुँदा यकिन हुन सक्दैन । जसका कारण समयमै पहिचान गर्न नसके मानिसको ज्यान पनि जान सक्छ । 

स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय र सरकारले गठन गरेको उच्चस्तरीय समितिले भने अनुसार दुइपक्षीय सम्बन्धका आधारमा ल्याउने भनेको मेडिकल सामग्री आउनै ढिला भएको हो । यो ढिलाइको पूर्ति गर्न सरकारले नीजि क्षेत्रले पनि ल्याउन सक्नेगरी अर्को निर्णय गर्यो । त्यसपश्चात भने दुबै थरी माध्यमबाट सामान छिटो आइपुग्ने आश्वासन झन बढ्यो ।

पछिल्लो समय चीनबाट सरकारी सम्बन्धको आधारमा र नीजि स्तरको पहलमा दुबै माध्यमबाट सामग्री ल्याउने तयारी भएको सरकारी स्रोत बताउँछ । तर आज वा भोली भन्ने भनाइमा भने कमि आएको छैन् । ‘जे होस आइतबार प्रदेश स्तरमा वितरण गर्ने योजनामा छौँ,’ स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठ भन्छन्, ‘चीनमा संकलन भएको सामग्री आउन लागेको हो ।’ 
तर उनको भनाइ विपरित ति सामग्री संकलनमा ढिलाई हुँदा आइतबार साँझसम्म मात्र नेपाल भित्रने उच्च स्रोतले जानकारी दिएको छ । 

शुक्रबारदेखि चीनतर्फको दुई नाका खुलेपछि चीनले सहयोग गर्ने भनेको किट शनिबार बिहान मात्र बेइजिङबाट यता पठाइदै छ । माघ १५ मा बन्द भएको नाका यही सामग्रीकै लागि खुलेको हो । तातोपानी भन्सार विभागका महानिर्देशन सुमन दाहालका अनुसार पनि आइतबार बिहान तातोपानी आइपुग्नेछ । त्यही दिन साँझमा काठमाडौं आइपुग्नेछ । यस अनुसार बल्ल सोमबारमात्र अन्यत्र वितरण हुन सक्छ । यसरी आउने सामग्रीमा दुइ हजार परिक्षण किट प्रमुख रहेको छ । यतिबेलासम्म यस अघि रहेका दुई हजार किटमध्येबाट आठसयको परिक्षण भैसकेको छ । तर पछिल्लो समय एक दुई दिनमै संक्रमित भेटिन थालेपछि थप सतर्कता र किट अत्यावश्यक भएको स्वास्थ्य मन्त्रालय बताउँछ । 

तातोपानीसँगै रसुवा नाका समेत खुलेपछि अन्य मेडिकल सामग्री , उपकरण , औषधी आयात हुनेछ । सामग्री बाहेकका मानिसलाई भने नाकामै १४ दिन क्वारेन्टाइनमा राखिने योजना छ । 
अर्कोतर्फ बाचा अनुसारका ठूलो मात्राका विविध मेडिकल सामग्री लिनका लागि नेपाल वायु सेवा निगमको  जहाज आजै चीन उडेको छ । वाइडबडी ए–३३० जहाज आज साढे १२ बजे चीनको ग्वाङ्जाओका लागि उडेको हो ।  प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार समन्वय र प्रक्रिया पुरा भएपछि जहाज चीन पठाइएको जनाइएको छ । जहाजको क्षमता अनुसार करिब ३० टन मेडिकल सामग्री रहने अनुमान छ । यो सामग्री भने शनिबार राती नै काठमाडौँ आइपुग्ने जनाइएको छ । 

जहाजले कोभिड–१९ परीक्षण गर्ने किट र पिपीइ, भेन्टिलेटर, मास्क, थर्मोमिटर, एम्बुलेन्स लगायतका मेडिकल सामग्री लिएर नेपाल आउन लागेको हो । यसरी हवाई र नाका हुँदै आउनेमध्ये कुन सामग्री छिटो आइपुग्छ । त्यो भने प्रतिक्षाकै बिषय बनेको छ ।