‘लकडाउन’ मा आफ्नो स्वास्थ्यको ख्याल कसरी गर्ने ?

शनिबार, १५ चैत्र २०७६, ०८ : ००
‘लकडाउन’ मा आफ्नो स्वास्थ्यको ख्याल कसरी गर्ने ?

काठमाडौं । विश्वभरि फैलिएको कोरोना संक्रमणका कारण नेपाल पनि यतिखेर लकडाउन अवस्थामा छ। यो बन्दाबन्दीको समय लम्बिन सक्ने संकेत सरकारले दिएको छ। यसो हुनु भनेको लामो समय घरभित्रै बस्दा व्यक्तिको जीवनशैलीमा आउने परिवर्तन पनि हो। यस्तो जीवनशैलीले दीर्घरोगी तथा स्वस्थ व्यक्ति दुवैमा विभिन्न किसिमका स्वास्थ्य समस्या निम्त्याउन सक्ने चिकित्सकले औंल्याएका छन् ।

चिकित्सकका अनुसार विशेष गरी बन्दाबन्दीका कारण घरभित्रै बस्ने र मिठामिठा परिकार बनाएर खाने गरेको देखिन्छ। कतिपयले समय कटाउन मदिरा सेवन, अनावश्यक मात्रामा चिल्लो तथा गुलियो पदार्थ पनि खाने गरेको सुनिन्छ। घरभित्रै बस्ने र व्यायाम नगर्नाले मधुमेह, रक्तचाप, कोलस्ट्रोल बढ्ने तथा मुटुका रोगीमा धड्कन बढ्नेजस्ता समस्या आउन सक्छन्। यीसँगै मानिसहरु घरभित्र कोरोनाको त्रास बोकेर बसेका कारण पनि रक्तचाप बढ्ने, छाती दुख्ने, स्वाँस्वाँ बढ्नेजस्ता समस्या देखिएका छन्। मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलका अनुसार अहिले रोगभन्दा डरका कारण यस्ता लक्षण बढी देखिने गरेका छन्।

कोरोनाको जोखिमका कारण रक्तचाप, मुटु तथा अन्य दीर्घरोगी सीधै अस्पताल पुगेर उपचार गर्न सक्ने अवस्था नभएपछि विभिन्न सामाजिक सञ्जालमार्फत बिरामीको सूचना संकलन गरी परामर्श दिनेगरेको मनमोहन कार्डियो भास्कुलर तथा थोरासिक सेन्टरका मुटुरोग विशेषज्ञ डा. रत्नमणि  गजुरेल बताउँछन्। ‘विशेष गरी मुटु, रक्तचाप, मधुमेह र  गम्भीर खालको उपचार गराइरहेका बिरामीका हकमा अनलाइन परामर्श दिइरहेका छौं’, डा. गजुरेलले भने। लामो समय लकडाउन भएमा यी दीर्घरोगीमा विभिन्न समस्या आउन सक्छन्।

त्यसैले यस्ता बिरामी र अन्य स्वस्थ व्यक्तिले पनि लकडाउनको बेला आफ्नो मानिसिक र शारीरि क स्वास्थ्यप्रति सचेत हुन आवश्यक रहेको चिकित्सक बताउँछन्। लामो समय कोरोनाको त्रासमा घरभित्रै बसिरहनुपर्दा भावनात्मक समस्या पनि आउन सक्ने त्रिवि शिक्षण अस्पतालका मानसिक रोग विभाग प्रमुख डा. सरोजप्रसाद वझा बताउँछन्। उनका अनुसार त्रासका कारण निद्रा नलाग्ने, तनाव बढ्ने, डराउनेजस्ता समस्या आउन सक्छन्। तनावले व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्यमा असर पार्ने भएकाले बन्दाबन्दीका बेला स्वस्थ भएर जिउने कला हरेकमा हुनु जरुरी छ। 

लकडाउनका बेला हुन सक्ने सम्भावित जोखिमबाट बच्न स्वस्थ खाना खाने, अनावश्यक चिल्लो, भुटेतारेको खाना नखाने र चिकित्सकले सिफारिस गरेका औषधि नियमित सेवन गर्नुपर्छ। ‘दीर्घरोगीले खानपिनमा अलिकति पनि बिगार्नुभएन’ डा. अनिलले भने। बन्दाबन्दीका बेला जथाभावी खानाले स्वस्थ व्यक्तिमा पनि झाडापखाला, ग्यास्ट्रिकको समस्या आउन सक्छ। 

यो समयमा घर बाहिर निस्केर व्यायाम गर्न नमिल्ने भएकाले घरभित्रै गर्न सकिने व्यायाम गरेर पनि स्वस्थ रहन सकिने डा. अनिल औंल्याउँछन्। उनका अनुसार घरबाहिर हिँडडुल गर्न नमिले पनि दैनिक आधा घण्टाजति घरभित्रै भ¥याङमा तलमाथि गर्ने, स्किपिङ खेल्ने, घर कम्पाउन्मा हिँडिरहने, नाच्ने गर्न सकिन्छ। यस्ता व्यायामले पनि तौल तथा रक्तचाप सन्तुलनमा राख्न सकिने डा. अनिल सुझाउँछन्। घरभित्रै गर्न सकिने शारीरिक व्यायाम गर्दा मानसिक रुपमा तयार भएमा रोगसित लड्ने क्षमतासमेत बढ्ने डा. गजुरेल बताउँछन्। उनका अनुसार घरभित्रै जगिङ, प्राणायम, स्किपिङ गर्न घरको छत उपयोग गर्न सकिन्छ। ‘केही भएमा अस्पताल जान सकिने अवस्था छैन, स्वास्थ्यको ख्याल गरौं’, उनले भने। नागरिक दैनिकमा खबर छ ।