पर्सा निकुञ्जमा सेना र तस्करबिच गोली हानाहान, एकजनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १४ चैत्र २०७६, २० : ३२
पर्सा निकुञ्जमा सेना र तस्करबिच गोली हानाहान, एकजनाको मृत्यु

प्रतिकात्मक फोटो

वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जमा नेपाली सेना र तस्करको समुहबीच गोली हानाहान भएको छ । निकुञ्जको सुरक्षार्थ खटिएका सेना देखेपछि तस्करको समुहले गोली चलाउदा दुवै पक्ष बिच गोली फायर भएको हो । सेनाको गोली लागि एकजना तस्करको मृत्यु भएको छ । 

निकुञ्जको सुरक्षार्र्थ खटिएको नेपाली सेनाको टोली, निकुञ्ज कर्मचारी र वन्यजन्तु चोरी शिकारी गर्ने तस्कहरुको समूहबिच शुक्रबार भिडन्त भएको राष्ट्रिय वन्यजन्तु तथा संरक्षण विभागका प्रवक्ता विष्णु कुमार कार्कीले जानकारी दिए ।

‘निकुञ्जको कोर एरियाबाट गोली चलेको आवाज आएपछि सेना र कर्मचारीको टोलीले गएर हेर्दा गोली चलेको देखियो, कार्कीले भने, ‘सोही क्रममा सुरक्षार्थ खटिएको गस्ती टोलीले पनि जवाफी फायरिङ गर्दा एकको मृत्यु भएको हो ।’ सेनाको जवाफी फायरिङबाट तस्कर समूहका एक जनाको मृत्यु भएको छ भने एकजनालाई नियन्त्रणमा लिइएको छ । मृतकको पहिचान भने खुल्न नसकेको कार्कीले बताए ।

सुरक्षा गस्ती टोलीले मकवानपुरका मोहनसिंह दोङ्गलाई पक्राउ गरेको उनले जानकारी दिए । घटनास्थलबाट २ थान बन्दुक, खुकुरी लगायतका अन्य हातहतियार बन्दोबस्तीका सामान समेत बरामद भएको कार्कीले बताए । गोली हानाहानमा नेपाली सेनाका जमदार मिनबहादुर छन्त्याल घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस