कोरोना संक्रमणको तथ्यांक चीनले लुकायो : अमेरिकी राष्ट्रपति ट्रम्प

सफल खबर संवाददाता

शुक्रबार, १४ चैत्र २०७६, ०७ : २३
कोरोना संक्रमणको तथ्यांक चीनले लुकायो : अमेरिकी राष्ट्रपति ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उद्गमस्थल रहेको चीनले तथ्याङ्क लुकाएको आरोप लगाएका छन् । ‘चीनले कोरोनाको संक्रमणको जुन तथ्याङ्क बाहिर देखाएको छ, त्यो सत्य होइन । चीनमा संक्रमितको संख्या तथ्याङ्कमा देखाइएको भन्दा अत्याधिक छ ।’

उनले अमेरिकामा कोरोना संक्रमितको संख्या धेरै हुनुको कारणलाई धेरै परिक्षणको नतिजा’ बताएका छन् । उनले एक पत्रकार सम्मेलनमा भने, ‘हामीले अत्यधिक मात्रामा परीक्षण गरेका छौँ, त्यही भएर अत्याधिक संक्रमित भेटिनुको नतिजा यहि हो ।’ अमेरिकामा पुष्टि भएका संक्रमितको संख्या विश्वमा सबैभन्दा धेरै पुगेको छ । पछिल्ला केही दिन १० हजार भन्दा बढीका दरले नयाँ संक्रमित थपिएको अमेरिकामा कुल संक्रमितको संख्या कोरोना भाइरसको उत्पति भएको चीनमा भन्दा धेरै भएका छन् ।

पछिल्लो २४ घण्टामा १४ हजार ९९५ जनामा नयाँ संक्रमण पुष्टि भएपछि अमेरिका विश्वमै सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित हुने देश बनेको हो । चीनमा कुल संक्रमितको संख्या ८१ हजार २८५ छ भने अमेरिकामा त्यो भन्दा बढी ८३ हजार २०६ पुगेको छ । तेस्रो स्थानमा रहेको इटालीमाम कुल संक्रमितको संख्या ८० हजार ५९८ पुगेको छ । पछिल्लो २४ घण्टामा इटालीमा ६ हजार २०३ जना नयाँ संक्रमित थपिएका हुन् । यस्तै स्पेनमा ८ हजार २७१ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ५७ हजार ७८६ पुगेको छ।

पछिल्लो केही दिनयता स्पेनमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या लगतार तीव्र गतिमा बढेको छ । पछिल्लो २४ घण्टामा ७१८ जनाको मृत्यु भएपछि कोरोना भाइरसका कारण स्पेनमा ज्यान गुमाउनेको संख्या ४ हजार ३६५ पुगेको छ । इटालीमा पनि पछिल्लो २४ घण्टामा ७१२ जनाको ज्यान गएपछि कुल मृत्यु हुनेको संख्या ८ हजार २१५ पुगेको छ । संक्रमण अति डरलाग्दो दरमा बढेको अमेरिकामा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १७४ ले थपिएपछि कुल ज्यान गुमाउनेको संख्या १२ सय एक पुगेको छ ।

विश्वभर अहिलेसम्म ५ लाख २९ हजार १४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये २३ हजार ९६८ जनाको मृत्यु भएको छ । अहिलेसम्म एक लाख २३ हजार ३८० जना निको भएर घर फर्किएका छन् । महामारीको रुपमा लिईसकेको कोरोनाको रोकथामका लागि विभिन्न सतर्कता अपनाईएपनि संक्रमण रोकिएको छैन । 

प्रतिक्रिया दिनुहोस