पर्यटकीय क्षेत्रमा अलपत्र परेका १ सय ३७ पर्यटकको उद्धार

पत्रपत्रिकाबाट

शुक्रबार, १४ चैत्र २०७६, ०७ : १३
पर्यटकीय क्षेत्रमा अलपत्र परेका १ सय ३७ पर्यटकको उद्धार

सांकेतिक तस्बिर ।

काठमाडौँ  । देशभर लागू भएको लकडाउनको तेस्रो दिन बिहीबार विभिन्न पर्यटकीय क्षेत्रमा अलपत्र परेका १ सय ३७ पर्यटकको उद्धार गरिएको छ । पर्यटन बोर्डका सीइओ धनञ्जय रेग्मीका अनुसार बुधबारयता देशभरबाट १ सय ३७ जना विदेशीलाई उद्धार गरिएको हो।

यीमध्ये मुस्ताङको जोमसोम बजारबाट ४६ जना पर्यटकसहित नेपालीलाई बिहीबार बिहान काठमाडौं ल्याइएको छ। उनीहरु ठमेलस्थित विभिन्न होटलमा आफैं आइसोलेसनमा बसेका छन्। त्यस्तै बोर्डले काठमाडौंस्थित फ्रान्सेली दुताबाससँगको सहकार्यमा लुक्लाबाट बिहीबार ६ जना फ्रेन्चसहित अन्य युरोपियन मुलुकका १४ जनालाई तारा एयरको विमानबाट काठमाडौं ल्याउन सघाएको छ।

उनीहरु नयाँ बानेश्वरस्थित होटल एभरेष्ट र केही ठमेलका पर्यटकीय होटलमा आइसोलेसनमा बसिरहेका छन्। त्यस्तै बिहीबारै पोखराबाट ५८ फ्रेन्च काठमाडौंमा र चार जना फ्रेन्चलाई काँडेबाट पोखरामा ल्याइएको छ। ती चारजनालाई शुक्रबार काठमाडौं ल्याइने छ। त्यस्तै १० जना विदेशीलाई गोरखाको माछीखोला र आरुघाटबाट उद्धार गरिएको छ।गोरखा प्रशासनको सहयोगमा ३ अष्ट्रेलियन र २ स्पेनिस नागरिकलाई गोरखाबाट काठमाडौं ल्याइएको छ।

बोर्डले गोरखाको जगत र माछीखोलामा २५ जना र लुक्लामा १ सय ५० जना पर्यटक त्यही रहेको जनाएको छ। लुक्लामा रहेका १ सय ५० जनालाई खुम्बु पासाङल्माहु गाउपालिकाले निशुल्क खानबस्न प्रबन्ध गरेको सीइओ उपाध्यायले बताए। उनले देशभर रहेका सबै पर्यटकलाई उद्धार गरेर स्वदेश फर्काउन सघाउने बताए। कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस