भारतबाट फर्केकाहरु क्वारेन्टाइनमा नबसिदिदा स्थानिय त्रसित

तास, फुटबल खेलेर हिड्दा स्थानियमा भय

सफल खबर संवाददाता

विहीबार, १३ चैत्र २०७६, ०९ : ४८
भारतबाट फर्केकाहरु क्वारेन्टाइनमा नबसिदिदा स्थानिय त्रसित

सांकेतिक तस्बिर ।

नुवाकोट । कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण सरकारले देशभरि लकडाउनको घोषणा गरेको छ । देशका विभिन्न भुभाग स्वस्फुर्त बन्द जस्तै भएको छ । तर भारतमा श्रमिक कामगर्ने विभिन्न स्थानबाट गाउँ फर्किएकाहरु भने आ–आफु खुसी गर्दै हिडन थालेका छन् । उनीहरु सेल्फ क्वारेन्टाइनमा नबसेको पाइएको छ ।

भारतमा अहिले कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएको र त्यहाँबाट गाउँ फर्किएकामा संक्रमणको जोखिम भएपनि उनीहरु क्वारेन्टाइनमा नबसिदिँदा समस्या भएको तारकेश्वर गाउँपालिकाका स्थानीयहरुले गुनासो गरेका छन् । 
सरकारले भारतसँगको सीमानाका बन्द गर्नुअघिसम्म भारतबाट करीब २ सय जना  तारकेश्वरमा फर्किएको तारकेश्वर गाउँपालिकाका प्रमुख रमेश वस्तीले जानकारी दिए । 

उनले  अन्य मुलुकबाट हालै घर फर्किएकाहरु क्वारेन्टाइनमा बस्नुपर्ने भएपनि नबसेको गुनासो आएको भन्दै यसविषयमा गाउँपालिका गम्भीर रहेको बताए ।  गाउँ फर्किएकाहरु क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने भएपनि नबसेको गुनासो आएको छ, हामीले रोग लागेका नै मान्छे आएका भन्न खोजेका होइन तर सम्बन्धितलाई सावधानी अपनाउन भनेका छौं’, उनले भने, ‘सम्झाइ बुझाइ गरिरहेका छौं तैपनि क्वारेन्टाइनमा नबसेकाले अब कसरी अघि बढ्ने भन्नेमा हामी छलफलमा छौं ।’

त्यसमध्ये कतार एयरलाइन्सको बिमानबाट आउनेमा तारकेश्वरका एक युवा पनि रहेको आफूले जानकारी पाएको भन्दै वस्तीले उनीसँग सम्पर्कको पटक पटक प्रयास गरेपनि सम्भव हुन नसकेको बताए । कतार एयरलाइन्सको विमानमा आउने एक नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएकाले यसबारे गाउँपालिका गम्भीरताका उनीसँगको सम्पर्कको प्रयासमा लागिपरेको वस्तीले बताए । सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गर्दा नमान्ने बरु त्यस्ता मान्छेहरु तास लेख्ने र जथाभावी गाउँमा हिँड्ने गरेको पाइएको समेत वस्तीले बताए । 

अहिले यो रमाइलो गर्ने बेला नभइ सुरक्षित रहने बेला भएका भन्दै अध्यक्ष वस्तीले भारतबाट आएकाहरुलाई अनिवार्यरुपमा क्वारेन्टाइनमा बस्न आग्रह गरे । तर उनीहरु आफुखुसी हिडेका कारण स्थानिय त्रसित बन्न बाध्य भएका छन् । गाँउपालिकाले कोरोना संक्रमण रोकथाम तथा सतर्कताका लागि ६ बेडको क्वारेन्टाईन निर्माण समेत गरेको छ । 

यद्यपि अहिलेसम्म गाउँपालिकामा कसैमा पनि कोरोनाको संक्रमण नदेखिएपनि बेलैमा सावधानी अपनाउन गाउँपालिकाले ६ बेडको क्वारेन्टाइ निर्माण गरेको समेत वस्तीले जानकारी दिए ।