राष्ट्रपतिसँग प्रधानमन्त्रीले किन गरे यस्तो रोदन ?

पार्टीभित्रै आफुलाई अप्ठयारो पार्ने प्रयास भएको र त्यस्तो प्रयास तोडने प्रयासमा आफु रहेको प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई जानकारी गराएका थिए

सफल खबर संवाददाता

सोमबार, १० चैत्र २०७६, ०९ : ४९
राष्ट्रपतिसँग प्रधानमन्त्रीले किन गरे यस्तो रोदन ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रै आफुलाई नेताहरुले मिलेर घेराबन्दी गर्ने र अप्ठयारो पार्ने प्रयास गरेको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको आइतबारको भेटमा प्रधानमन्त्री ओलीले आफुलाई नेताहरु मिलेर असफल बनाउने र घेराबन्दी गरेर सिध्याउने षडयन्त्र रचेको बताएका हुन् ।

शितल निवास स्रोतका अनुसार, राष्ट्रपति भण्डारीले पार्टीभित्र देखा परेको विवादका विषयमा प्रधानमन्त्री ओलीसँग चासो राखेपछि उनले त्यस्तो बताएका हुन् । भण्डारीसँगको भेटमा ओलीले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमको कार्यशैलीसँग अलिक बढी असन्तुष्टि पोखेका थिए । उनले गौतम र खनाललाई आफुले उपयुक्त पद दिएर ब्यवस्थापन गर्न खोज्दा पनि प्रचण्डसँग मिलेर आफुलाई घेराबन्दी गर्न खोजेको आरोप लगाएका थिए ।

शितल निवास स्रोतका अनुसार, गौतमलाई आफुले विधान संसोधन गरेर उनकै लागि मात्र उपाध्यक्ष पद दिलाएको, संगठन विभागको महत्वपूर्ण जिम्मेवारी सुम्पिएको र आवश्यकताका आधारमा सांसद बनाउन पनि खोजिएको भएपनि उनले प्रचण्डसँग मिलेर आफु विरुद्ध मोर्चाबन्दीको प्रयासमा लागेको गुनासो ओलीले राष्ट्रपतिसँग गरेका थिए । त्यस्तै खनाललाई माधव नेपाललाई पन्छाएर पूनः वरियतामा अगाडी ल्याईएको, खनालका छोराको चिनियाँसँगको डामाडोल हुदै गएको ब्यापारलाई मिलाउने काममा भूमिका खेलिदिदा समेत पनि आफु विरुद्ध सार्वजनिक अभिब्यक्ति दिदैं हिडेको गुनासो राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीले गरेका थिए ।

प्रचण्डले पूर्व एमालेभित्रको समिकरणभित्रबाट खेलेर आफुलाई अप्ठयारोमा पार्न खोजेको, खनालले १४ फागुनको सचिवालय निर्णय पछि पार्टी निर्णय कठालो समातेर भने पनि कार्यान्वयन गराई छोड्ने अभिब्यक्ती दिएको भन्दै ओली बढी चिढिएका थिए । राष्ट्रपति कार्यलय स्रोतका अनुसार, पार्टीभित्रको राजनीतिका कारण प्रधानमन्त्री ओली अलिक चिन्तित देखिएका थिए ।

राष्ट्रपतिले मनोनित गर्ने एउटा रिक्त कोटामा पनि आफुलाई घेराबन्दीमा पार्नका लागि नेताहरुले अलग्गै बैठक बसेर निर्णय लिएर आएको र आफु त्यस्तो निर्णयमा मुकदर्शक मात्र बन्नु पर्ने अवस्था आएको ओलीको भनाई थियो । उनले आफु इतर नेताहरुले जे भन्यो, त्यही निर्णय गर्दै जादा कमजोर देखिने र त्यसलाई तोडनका लागि पनि नझुक्ने निश्र्कषमा पुगेको धारणा पनि ओलीले राष्ट्रपतिलाई सुनाएको स्रोतले बताएको छ ।

‘वामदेव र युवराज खतिवडाका सवालमा मैले रोज्दा पनि वामदेव नै रोज्ने थिए, पार्टीमा गरेको योगदान सबै हिसाबले तर जसरी वामदेवलाई अगाडी सारेर प्रचण्ड लगायत नेताहरुले म विरुद्ध घेराबन्दीको प्रयास गरे, त्यसमा म किन पछि हट्ने ? ’ प्रधानमन्त्रीको भनाई उदधृत गदै राष्ट्रपति निवास स्रोतले भन्यो ।  राष्ट्रपति भण्डारीले भने पार्टीभित्र मजबुत एकताका लागि सकभर प्रयास गर्न र मिलेरै कसलाई राष्ट्रिय सभा पठाउने भन्नेमा सिफारिस गर्न सुझाएको स्रोत बताउँछ ।

१० फागनुमा सचिवालय बैठकले संविधान संसोधन कार्यदल (जुन पछि १४ फागुनको सचिवालय बैठकले भंग गर्ने निर्णय लिएको थियो) बनाउने निर्णय गरेकै दिन ओली राष्ट्रपति भण्डारीलाई भेट गर्न शितल निवास पुगेका थिए ।
त्यही दिन राष्ट्रपति भण्डारीले प्रचण्डसँग पनि भेट गरेकी थिइन् । उनले संविधान संसोधनमा आफुलाई संकटकालिन अधिकार थप गर्न र राष्ट्रिय सभामा मनोनित कोटको संख्या ३ बाट बढाएर ९ पु¥याउन लविङ गरिरहेकी थिइन् ।

नेकपा सचिवालय बैठकमा त्यसपछि संविधान संसोधन कार्यदल बनाउने प्रस्ताव प्रधानमन्त्री ओलीबाटै आएको थियो । ओलीले संसदीय दलका उपनेता समेत रहेका स्थायी समिति सदस्य सुवास नेम्वाङको संयोजकत्वमा कार्यदल बनाउन चाहेका थिए । तर सचिवालयको स्पिरिट अनुसार नहुने र सचिवालयबाटै वरिष्ठ नेताले कार्यदलको नेतृत्व लिने निर्णय पछि वरिष्ठ नेता माधव नेपालको संयोजकत्वमा नेम्वाङ र खिमलाल देवकोटा रहेको तीन सदस्यीय कार्यदल बनाउने निर्णय भएको थियो ।

कार्यदल संयोजक आफुले भने अनुसारको नभएपछि ओलीले यसलाई आफु इतरको चलखेलका रुपमा एक्सपोज गराएर तुहाउने र अन्य नेताहरुलाई नङग्याउने चालबाजी चाले । अन्ततः जनस्तरबाट विरोध भएपछि कार्यदल नबन्दै विघटन गर्ने निर्णयमा नेकपा पुगेको थियो ।  राष्ट्रपति भण्डारीले यो बीचमा नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल लगायतसँग पनि छलफल गरेकी थिइन् । आइतबार भने ओलीसँग पनि छलफल गरेकी हुन् ।

सरकारको नियमति बिफ्रिङको नाममा भण्डारी र ओली बीच ओलीको स्वास्थ्य अवस्था र पार्टीभित्रको अप्ठयाराका विषयमा छलफल भएको स्रोत वताउँछ । दुई जना बिच झण्डै दुई घण्टा छलफल भएको थियो । छलफलमा ओलीको अबको विकल्पका बारेमा पनि छलफल भएको बताइएको छ । पहिलो विकल्पका रुपमा दुई अध्यक्ष बीचको मिलाप, दोश्रोमा माधव नेपालसँगको मिलाप र तेश्रो विकल्पका रुपमा माओवादी धारका नेताहरु रामबहादुर थापा र नारायणकाजी श्रेष्ठलाई आफुतिर तान्ने प्रयास सम्मका विकल्पका बारेमा पनि छलफल भएको बताइएको छ । 

यी तीन ओटै विकल्प के कति सम्भव छ भन्ने ढंगवाट पनि छलफल भएको बुझिन्छ, ओली निकट एक नेताले राष्ट्रपतिसँगको ओलीको भेटपछि भने, पहिलो र तेश्रो विकल्पमा भन्दा दोश्रो विकल्पमा जादा सकभर सम्भावित जोखिमवाट आफु बच्न सक्नेमा प्रधानमन्त्री ओली देखिएका छन् । त्यसैका लागि उनले माधव नेपाललाई फकाउने अनेक कोसिस गरिरहेका छन् ।

तर नेपालले ओलीको विगतको कार्यशैली र स्वभावका कारण शंकाको लाभका आधारमा उनले ओलीलाई हेरिरहेका छन् । ओलीलाई विश्वब्यापी महामारीको रुपमा फैलेको कोरोना प्रभावले पनि पार्टीभित्र तत्काल पेचिलो पर्ने मुद्दामा निर्णयमा पुगिहाल्न केही समय मिलेको छ । यसले पनि ओलीलाई राजनीतिक रुपमा भने थोरै भएपनि राहत मिलेको स्रोतको भनाई छ ।