आफ्नो गुटको अस्तित्व संकटमा परेपछि सिटौलाको नयाँ चालबाजी

मंगलबार, ०४ चैत्र २०७६, ०७ : २४
आफ्नो गुटको अस्तित्व संकटमा परेपछि सिटौलाको नयाँ चालबाजी

काठमाडौं । काँग्रेसमा तेश्रो धार निर्माणको कोसिस गरिरहेका कृष्ण सिटौलाले सोमबार बत्तिसपुतलीमा पत्रकार सम्मेलन आयोजना गरे । त्यहाँ उनले युवा नेताहरु गगन थापा र प्रदीप पौडेलहरुलाई साथ लिएर भने–पार्टीमा हाम्रो छुटटै समुह छ । काँग्रेसभित्र तेश्रो धार निर्माण गरेर सिटौलाले पार्टीका भातृ संगठन देखि हरेक निकायमा भागबण्डामा आफु निकट नेताहरुको ब्यवस्थापन गर्न सफल भएका थिए ।

पार्टीभित्रका बलिया दुई धुव्रका नेताहरु सभापति शेरबहादुर देउवा पक्ष र देउवा इतर कोइराला– पौडेल पक्षका नेताहरुका बीचमा रहेर सिटौलाले आफना मान्छेहरुको ब्यवस्थापन गर्न सफल हुदै आएका थिए । तर जब काँग्रेसमा आन्तरिक विवाद उत्र्कषमा पुग्दै गयो, महाधिवेशनको मिति पनि तोकियो, सिटौलालाई उनको आफ्नो धार मेटिदै गएको र उनी सभापति देउवासँग विलिन हुन खोजेको आरोप लाग्यो । त्यक्ति मात्र होइन सिटौलालाई उनीसँग रहेका नेताहरुले पनि साथ छोडेको आरोप पनि लाग्यो ।

पार्टीमा आफनो धार नरहेको र आफुलाई साथ दिदै आएका नेता कार्यकर्ताले समेत छोडेको आरोप लागेपछि उनले आफु निकट नेताहरुलाई साथ लिएर आफ्नो पार्टीमा छुटटै समुह यथावत रहेको पत्रकारहरुलाई बोलाएर सार्वजनिक गरेका छन् । गगन र प्रदीपहरुले आफुलाई नछोडेको र फरक छुटटै धार रहेको सन्देश उनले पत्रकार सम्मेलनमार्फत दिन अनेक कोसिस गरेका थिए । काँग्रेस सुधारका लागि आफुहरुको प्रयास जारी रहेको र त्यसका लागि प्रयास पनि आफुहरुले आफ्नो ठाँउबाट सक्दो गरिरहेको भन्दै सिटौलाले आफु रोडम्याप नै बनाएर लाग्न खोजेको बताएका थिए ।

काँग्रेसमा पछिल्लो पटक देउवा र पौडेल–कोइराला पक्षका बीचमा चर्काे आरोप प्रत्यारोप चलिरहेको छ । सभापति देउवाले पौडेल पक्षका पश्चिम नवलपरासीका नेतालाई कार्यवाहक जिल्ला अध्यक्षवाट हटाएर आफु निकट नेतालाई जिम्मेवारी सुम्पेपछि विवाद झन उत्र्कषमा छ । सभापति देउवाले महाधिवशेनलाई प्रभावित पार्ने गरि केन्द्रीय समितिमा मनोनित गर्ने, विभागहरु फुटाएर धेरै विभाग बनाई त्यहाँ नेताहरुलाई जिम्मेवारी दिने र कोइराला–पौडेल पक्षका नेता कार्यकर्तालाई पनि विभिन्न प्रलोभनमा तान्ने प्रयासमा देउवा लागेपछि काँग्रेसभित्र अन्तरविरोध चर्काे छ ।

यो विवादभित्र सिटौला पक्ष हराएको थियो । उनलाई सभापतिसँग मिल्न खोजेको आरोप जब पार्टीमा उठ्यो, त्यसपछि सिटौलाले अकस्मात पत्रकार सम्मेलन आयोजना गरेका थिए  । उनी निकट एक नेताका अनुसार, संस्थापन पक्ष र इतर पक्षको विवादमा आफुहरुको समुह कुनै एकमा विलिन भएको सन्देश जान थालेपछि अस्तित्व रक्षाका लागि पनि पत्रकार सम्मेलन गर्ने निर्णयमा सिटौला पक्ष पुगेको हो ।

सिटौलाले नयाँ वर्षबाट देशब्यापी आफ्ना गुट निर्माणमा जोड दिन खोजेको छ । यद्यपी, यसको घोषणा भने सिटौला पक्षले आफ्नो पत्रकार सम्मेलनमा भने ब्यक्त गरेको छैन । कोइराला–पौडेल पक्ष र देउवा पक्षका वीचमा खेलेर सिटौलाले पार्टीका हरेक निकायमा अहिले आफ्ना मान्छे सेटिङ गर्ने तिरै ध्यान केन्द्रीत गरेको छन् ।

काँग्रेसमा महाधिवशेन सम्म पुग्दा तीन धार नरहने र दुई धारमा सिटौला पक्ष बीचमा तानातानमा पर्ने र आफु निकट नेताहरुलाई त्यसैभित्रबाट ब्यवस्थापन गर्न सक्ने ठानी सिटौलाले आफनो समुह पार्टीभित्र जिवित रहेको सन्देश दिन खोजेका छन् । त्यही आधारमा उनले बत्तीसपुतलीमा पत्रकार सम्मेलन गरेर आफनो समुह पार्टीभित्र छुटटै समुहको रुपमा रहेको बताएको राजनीतिक विश्लेषण हुन थालेको छ ।