काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ‘कोभिड–१९’ को सङ्क्रमण नेपाल भित्रिन सक्ने खतरा औंल्याउँदै प्रभावकारी बन्दोबस्तीका लागि सरकारलाई गम्भीर भएर कार्य गर्न अपिल गर्नुभएको छ । उहाँले आज एक विज्ञप्तिमार्फत सीमा नाकामा प्रभावकारी र भरपर्दो कडाई हुन नसक्दा कुनैपनि समय सङ्क्रमण नेपाल भित्रिन सक्ने खतरा औंल्याउनुभएको छ । साथै कोरोना भाइरसले विश्वव्यापी रूपमा महामारीको रुप लिइसकेको स्थितिमा नेपालले अपनाउनुपर्ने सतर्कताबारे सबै गम्भीर हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
यसको जोखिम सामना गर्न सरकारलाई सम्पूर्ण साथ रहने घोषणा गरिसकेको स्मरण गराउँदै सभापति देउवाले युद्धस्तरमा कार्य गर्न सरकारलाई आग्रह गर्नुभएको छ । उहाँले सम्भावित जोखिम सामनाका लागि दक्षजनशक्ति तयार राख्न, जरुरी उपकरणदेखि आइसोलेसन वार्ड, वैकल्पिक क्वारेन्टाइन तथा आइसियुसम्मको अभाव हुन नदिन सरकारले युद्धस्तरमा कार्य गर्नुपर्ने औँल्याउनु भएको छ ।
पर्यटन क्षेत्र प्रत्यक्ष मारमा परेको र कतिपय उद्योग र अन्य व्यावसायिक क्षेत्र सङ्क्रमण पूर्वको असर भोगिरहेको बताउँदै सभापति देउवाले समग्र निजी क्षेत्रको मनोबल उच्च राख्न बैंक कर्जाको ब्याजदर घटाउन तथा ऋण चुक्ताको समयावधि थप्न जरुरी रहेको उल्लेख गर्नुभएको छ । सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने स्थिति आएमा विशेष गरी गरिबीको रेखामुनि रहेका, न्यून आय भएका नागरिक एवं दैनिक ज्यालादारीबाट जीवन गुजारा गरिरहेकालाई अत्यन्तै कष्टकर अवस्था बन्ने बताउँदै उहाँले त्यस्ता व्यक्तिका लागि राहतको योजना ल्याउन सरकारसँग माग गर्नुभएको छ ।
विद्यार्थीको शैक्षिक भविष्यलाई असर नपर्नेगरी जोखिमबाट विद्यार्थीलाई जोगाउन आवश्यक निर्णय र सतर्कताका लागि सरकारको ध्यानाकर्षण गराउँदै उहाँले स्वदेश र विदेशमा रहेका समस्त नेपालीलाई कोरोनाबाट सतर्क रहन र एक भएर यसको सामना गर्न अपिल गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०३ चैत्र २०७६, २१ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अब मेरो राजनीतिबाट रिटायर्डको बेला भयो: देउवा
कांग्रेसको सहमती अनुसार नै सरकार अघि बढेको छ: शेरबहादुर देउवा
अबको बाटो संकल्प र कार्यान्वयनको हो, कुराभन्दा काममा ध्यान दिऔँ : देउवा
मधेसमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छ : सभापति देउवा
जलवायु परिवर्तनका असरबाट नेपाल सबैभन्दा बढी प्रभावित छ : सभापति देउवा
सिंहदरबारमा शीर्ष नेताहरूबिच छलफल हुँदै