यूएईमा श्रमिकको मागपत्र प्रमाणीकरण बन्द

सोमबार, ०३ चैत्र २०७६, १६ : २०
यूएईमा श्रमिकको मागपत्र प्रमाणीकरण बन्द

काठमाडौं । यूएईस्थित नेपाली दूतावासले श्रमिकको मागपत्र प्रमाणीकरणको काम अनिश्चितकालका लागि बन्द गर्ने भएको छ ।

विश्वव्यापी कोरोना भाइरसको कारण युएईमा दिइँदै आएको श्रमिकको मागपत्र प्रमाणीकरणको काम चैत ४ गते मंगलबारदेखि बन्द गरिने यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । अर्को सूचना जारी नहुँदासम्म प्रमाणीकरण सेवा बन्द रहने दूतावासले जनाएको हो ।

ट्राभल डकुमेन्ट, शव नेपाल पठाउने, एनओसी जारी गर्ने, म्याद सकिएको राहदानी बनाउनेजस्ता आवश्यक सेवा भने सुचारू हुने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले फागुन २९ गतेदेखि विदेश जाने नेपालीको हकमा श्रम स्वीकृति बन्द गर्ने निर्णय गरेसँगै विदेशमा रहेका नेपाली दूतावास तथा नियोगहरुले समेत श्रम र कन्सुलरसम्बन्धी सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।