हेटौँडा–भरतपुर प्रसारण लाइन निर्माणका लागि ठेकेदार छानियो

रासस

शुक्रबार, ३० फागुन २०७६, १४ : ४९
हेटौँडा–भरतपुर प्रसारण लाइन निर्माणका लागि ठेकेदार छानियो

चितवन । तोकिएको काम पूरा नगरेपछि ठेक्का सम्झौता खारेज गरेर अगाडि बढेको नेपाल विद्युत् प्राधिकरणले हेटौँडा–भरतपुर खण्ड निर्माणका लागि ठेकेदार छनोट गरेको छ ।

प्राधिकरणले प्रसारण लाइन निर्माणका लागि गत असोजमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दै ठेक्का प्रक्रियामा सहभागी हुन आग्रह गरेको थियो । 

सो आयोजना हेटाँैडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको आयोजना हो । प्रसारण लाइन निर्माणको ठेक्का सबैभन्दा कम रकम कबोल गर्ने भारतीय कम्पनी केइसी इन्टरनेशनल लिमिटेडले पाएको आयोजना प्रमुख ईश्वरीप्रसाद जैसवालले जानकारी दिनुभयो । आयोजनाले केही दिन पहिले ठेकेदार छनोट गरिएको जनाएको छ । 

कम्पनीले ५४ लाख ३५ हजार अमेरिकी डलर र रु ३६ करोड ८८ लाख ११ हजार ९करबाहेक०मा ठेक्का पाएको हो । प्रसारण लाइन निर्माणका लागि पाँच कम्पनीले प्रस्ताव पेश गरेका थिए । भारतीय कम्पनी आइकम टेल लिमिटेडको कामको प्रगति सन्तोषजक नभएपछि प्राधिकरणले कम्पनीसँगको ठेक्का गत वैशाखमा तोडेर नयाँ प्रक्रियामा गएको थियो ।

प्राधिकरणले प्रसारण लाइनको बाँकी काम गर्न ठेकेदार छनोट गरेको हो । कम्पनीले ठेक्का सम्झौता कार्यान्वयनमा आएको १५ महिनाभित्रमा प्रसारण लाइनको निर्माण गरिसक्नुपर्ने कार्यादेश छ ।   कूल ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनमा पर्ने २२६ टावरमध्ये १७३ को जग हालिएको छ । यस्तै, कूल ११९ खडा गरिएको छ भने १६ किलोमिटर क्षेत्रमा मात्रै तार तानिएको छ । प्रसारण लाइन निर्माणका लागि निजी जग्गा प्राप्ति, वन क्षेत्रको प्रयोगलगायतमा कुनै समस्या नरहेको आयोजनाले जनाएको छ । 

प्रसारण लाइन निर्माणका लागि प्रााधिकरण र भारतीय कम्पनी आइकम टेलबीच २०६५ को फागुनमा ९६ लाख ३६ हजार अमेरिकी डलर र रु १९ करोड ७३ लाख १५ हजारमा ठेक्का सम्झौता भएको थियो । काम नगरी रणनीतिक महत्वको प्रसारण लाइनको काम अलपत्र पारेपछि प्राधिकरणले ठेक्का तोडी कम्पनीले कार्यसम्पादन जमानतबापत राखेको ३० लाख ५७ लाख अमेरिकी डलर पनि जफत गरेको थियो । 

यसैगरी प्राधिकरणले काम ढिला गरेबापत करिब १६ लाख डलर बिलम्व जरिवाना पनि लगाउने निर्णय गरेको थियो । प्राधिकरणले यसअघि आयोजनाअन्तर्गतको भरतपुर–बर्दघाट खण्डको सेन्ट्रल चाइना पावर ग्रिड सिसिपिजीसँगको ठेक्का तोडेको थियो । प्राधिकरणको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले नेपालको ठेक्कापट्टामा तीन वर्षसम्म भाग लिन नपाउने गरी सिसिपिजी कालोसूचीमा राख्ने निर्णय गरेको थियो । 

आयोजनाअन्तर्गतको भरतपुर–बर्दघाट निर्माणका लागि नयाँ बोलपत्र आह्वान गरी चिनियाँ कम्पनी हेङटन अप्टिक्स इलेक्ट्रिकसँग २०७५ साउनमा ५५ लाख ७५ हजार डलरमा ठेक्का सम्झौता भएको थियो । चितवनको भरतपुरदेखि नवलपरासीको बर्दघाटसम्मको २२० केभी प्रसारण लाइनको पनि निर्माण धमाधम भइरहेको छ ।

नेपालभित्रको प्रसारण लाइन सुदृढ तथा विश्वसनीय बनाउन र पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत्् प्रवाहका लागि हेटाँैडा–भरतपुर–बर्दघाट प्रसारण लाइनको निर्माण गर्न लागिएको हो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण कर्जामा आयोजनाको निर्माण भइरहेको छ । 

सो प्रसारण लाइन पूर्वको विद्युत् पश्चिम लैजान र पश्चिमको विद्युत्् पूर्व लैजानका लागि महत्वपूर्ण मानिएको छ । यस्तै राजधानीमा आवश्यक पर्ने विद्युत्् उपलब्ध गराउन तथा बढी भएको विद्युत्् देशका अन्य स्थानमा लैजानसमेत सहयोगी हुने ठानिएको छ । सरकारले महत्वपूर्ण प्रसारण लाइन निर्माणका लागि आवश्यक सहजीकरण गरिरहेको भए पनि निर्माण व्यवसायीको लापर्वाहीका कारण समस्या पर्दै आएको छ ।

समस्या समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र प्राधिकरणले गरेको सार्थक प्रयोगसमेत सफल हुन सकिरहेको छैन । केही आयोजनामा अझै पनि वन क्षेत्रको जग्गा प्रयोग तथा वनको रुख कटाउन र रुख बिरुवा हटाउने विषयले समेत प्राथमिकता पाउन सकेको छैन ।