कुनै क्षेत्रमा कोरोना भाइरसको संक्रमण देखिएमा  ‘लक डाउन’ गर्ने सरकारको योजना

सफल खबर संवाददाता

विहीबार, २९ फागुन २०७६, १८ : ३०
कुनै क्षेत्रमा कोरोना भाइरसको संक्रमण देखिएमा  ‘लक डाउन’ गर्ने सरकारको योजना

काठमाडौं । देशको कुनै क्षेत्रमा कोरोना भाइरसको संक्रमण देखिएमा निश्चित क्षेत्र तोकेर ‘लक डाउन’ गर्ने योजना सरकारले बनाएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी दिएका हुन् । उनले भने, ‘अत्यावश्यक बाहेक अन्य बन्द गर्नेदेखि लिएर पकेट एरिया लक डाउन गर्ने, विभिन्न उपकरण र जनशक्ति एकत्रित गरेर परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।’

कोरोना संक्रमण विकसित भएअनुसार व्यवस्थापन गर्ने गरी तयारी गरेको देवकोटाले बताए ।

उनका अनुसार ४३ वटा सीमा नाकामा सम्बन्धित स्थानीय तहले स्वास्थ्यकर्मी परिचालन गरेका छन् ।

अहिलेसम्म साढे ४ सयको परीक्षण गर्दा एकजनामा बाहेक अरुमा संक्रमण देखिएको छैन । अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोथग अस्पतालमा ४ र पाटन अस्पतालमा २ जना गरी ६ जना आइसोलेसनमा रहेको उनले बताए ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस  (कोभिड - १९) को संक्रमण विश्वभर फैलिएको छ ।