जबर्जस्ती लोला हान्नेलाई पक्राउ गर्न उपत्यकाका सडकमा २२ सय प्रहरी खटिँदै

सोमबार, २६ फागुन २०७६, ०८ : २५
जबर्जस्ती लोला हान्नेलाई पक्राउ गर्न उपत्यकाका सडकमा २२ सय प्रहरी खटिँदै

file photo

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण विश्वभर फैलिँदै गएपछि जोखिम कम गर्न भन्दै यसपटकको होलीलाई उत्सवका रूपमा मनाउन निषेध गरेको छ ।

कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले ठूला सभा समारोह, भेला तथा कार्यक्रम गर्न रोक लगाएकामा होलीका दिनमा समेत यसपटक सामूहिक रूपमा भेला हुने, भीडभाड गर्ने, लोला पानी हान्ने, रङ दल्ने लगायत गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

गृह मन्त्रालयले शनिबार विज्ञप्तिमार्फत यस्ता गतिविधि नगर्न आग्रह गरेको थियो । प्रहरीले भने सरकारको निर्देशनको पालना गराउन र होलीका दिनमा हुन सक्ने सम्भावित चुनौती कम गर्न काठमाडौं, भक्तपुर र ललितपुरमा गरी २२ सय बढी प्रहरी परिचालन गर्ने तयारी गरेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाको होली सुरक्षाका लागि तीनै जिल्लामा गरी २२ सय बढी प्रहरी खटाउने भएको हो, जसअनुसार काठमाडौंमा १३ सय, ललितपुरमा ५ सय तथा भक्तपुरमा ४ सय प्रहरी खटिनेछन् । त्यसबाहेक सडकमा ट्राफिक प्रहरीसमेत उल्लेख्य रूपमा परिचालन गरिनेछ । उपत्यकाका तीनै जिल्लामा गरी ६ सय ट्राफिक प्रहरी परिचालन हुनेछन् । राजधानी दैनिकमा खबर छ ।