नयाँ मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओलीले पिसाब फेरे

एजेन्सी

बुधबार, २१ फागुन २०७६, १६ : १३
नयाँ मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओलीले पिसाब फेरे

फाईल फोटो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको प्रा. डा. प्रेमराज ज्ञवालीले बताएका छन्।

डा. ज्ञवालीको नेतृत्वमा गरिएको शल्यक्रिया र मिर्गौला प्रत्यारोपणको प्रक्रिया दिउँसो ३ बजे सकिएको थियो। त्यसमा झन्डै दुई दर्जन चिकित्सक सहभागी भए।

नयाँ मिर्गौलाले काम गर्न थालेको र प्रत्यारोपण सम्पन्न भएपछि ओलीले आधा लिटर पिसाब फेरेको डा. ज्ञवालीले बताए। ओलीको शरीरमा चार वटा मिर्गौला छन्।

शल्यक्रिया गर्नुअघि डा. ज्ञवालीले भनेका थिए, 'वहाँका आफ्नै दुइटा भए, एउटा १२ वर्ष अगाडि लगाएको भयो। अब अहिले लगाउने चौथो हो।'

ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा शल्यक्रियामा सहभागी भारतीय डा. अनन्त कुमार र अर्का एक मिर्गौलारोग विशेषज्ञ मङ्गलवार भारतबाट आएका थिए। बाह्र वर्षअघि ओलीले भारतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराएका थिए।

यसअघिको उपचार

मिर्गौलाको समस्या देखिएपछि ओलीले देश तथा विदेशमा परीक्षण तथा उपचार गराएका थिए। त्यसै क्रममा गत वर्ष अगस्ट महिनामा उनी डेढ साताका लागि सिङ्गापुर गएका थिए।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले सिङ्गापुरमा गरिएको परीक्षणमा ओलीको मिर्गौलाको क्रियाशीलता राम्रो भएको देखिएको बताएका थिए। तर त्यसको केही समयपछि ओली पुनस् उपचारका लागि सिङ्गापुर गए। पछि नेपालमै उनको डायलिसिस गरियो। गत नोभेम्बर महिनामा उनको अपेन्डिक्सको शल्यक्रिया पनि गरिएको थियो।

यसअघि भारतमा मिर्गौला प्रत्यारोपण गराएको र उपचारका लागि पटकपटक विदेश गएका भए पनि ओलीले यस पटक स्वदेशमै प्रत्यारोपण गराउने निर्णय गरेका थिए।

नेपालमा मिर्गौला प्रत्यारोपणको अवस्था

महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सकहरूका अनुसार सन् २००८ बाट नेपालमा मिर्गौला प्रत्यारोपण गर्न सुरु भएको हो।

हालसम्म शिक्षण अस्पतालमा मात्रै झन्डै ७०० जनाको मिर्गौला प्रत्यारोपण भइसकेको छ। विभिन्न निजी अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण गरिन्छ।

डा। ज्ञवालीका अनुसार सामान्यतया जीवित अङ्गदाताका हकमा प्रत्यारोपण सफल हुने सम्भावना ९० देखि ९५ प्रतिशतजति हुन्छ। शिक्षण अस्पतालमा सफलता अझै उच्च अर्थात् ९८ प्रतिशत छ।

यसअघि शिक्षण अस्पतालमै आठ पटक दोस्रो पटक गरिएको मिर्गौलाको प्रत्यारोपण सम्पन्न भइसकेको जानकारी डा। ज्ञवालीले दिएका थिए। त्यसमा भने शत प्रतिशत सफलता प्राप्त भएको बताइएको छ।

'प्रधानमन्त्री जस्तो मान्छेले विश्वको जुनसुकै स्थानमा गएर प्रत्यारोपण गराउन सक्नु हुन्थ्यो। तर उहाँले नेपालमै गराउने जुन अठोट गर्नु भयो त्यसले गम्भीर अर्थ राख्छ' ज्ञवालीले भने। (बीबीसी)

प्रतिक्रिया दिनुहोस