कोरोना लागेका मान्छे के साँच्चै मरिहाल्छन् ?

कोरोना भाइरस संक्रमण भएका १ हजार बिरामीमध्ये पाँचदेखि ४० जनासम्मको ज्यान जाने गरेको अनुसन्धानकर्ताहरूको अनुमान

सफल खबर संवाददाता

बुधबार, २१ फागुन २०७६, ०९ : २३
कोरोना लागेका मान्छे के साँच्चै मरिहाल्छन् ?

बीबीसी । अहिले कोरोनाभाइरसले विश्व आतंकित छ । विश्व स्वास्थ्य संगठन (डब्लु एचओ)ले जटिल अवस्थामा रहेको भन्दै सजगता अपनाउन विश्वलाई आग्रह गरिरहेको छ । कोरोना भाइरस विरुद्धको खोप अहिलेसम्म पत्ता लागि नसकेका कारण पनि मानसिहरुमा डर उत्तिकै देखा परेको छ ।

कोरोना भाइरस संक्रमण हुने बित्तिकै के मान्छे मरिहाल्छन् ? अहिले यस्ता प्रश्नहरु पनि उत्तिकै मात्रामा उठिरेहको छ । तर डराईहाल्नुपर्ने अवस्था छैन । कोरोना भाइरस संक्रमण भएका १ हजार बिरामीमध्ये पाँचदेखि ४० जनासम्मको ज्यान जाने गरेको अनुसन्धानकर्ताहरूको अनुमान छ । त्यति संख्यामा संक्रमण हुँदा नौ जना अर्थात् एक प्रतिशतको मृत्यु हुने अनुमानलाई सबैभन्दा उपयुक्त मानिएको छ ।

यूकेका स्वास्थ्यमन्त्री म्याट ह्यान्ककका अनुसार सरकारले गरेको सबैभन्दा उत्तम आँकलनमा मृत्युदर दुई प्रतिशत वा त्यो भन्दा कम देखिएको छ । तर मृत्युदर विभिन्न कुरामा निर्भर गर्छ । बिरामीको उमेर, लिङ्ग र सामान्य स्वास्थ्य तथा स्वास्थ्य प्रणालीमा पनि भर पर्छ ।

यो विद्यावारिधि तहजत्तिकै कठिन छ । संक्रमणको गणना गर्न पनि निकै गाह्रो हुन्छ । भाइरसले गर्ने अधिकांश संक्रमणको गणना नै हुँदैन । किनभने मानिसहरू साधारण लक्षण देखिँदा चिकित्सक कहाँ जाँदैनन् । विश्वभरि भिन्न स्थानमा भिन्न मृत्युदर देखिएको छ ।

भाइरसका भिन्न संस्करणका कारण त्यस्तो हुने सम्भावना देखिँदैन । देशहरूमा संक्रमण पत्ता लगाउने र गणना गर्ने क्षमतामा एकरूपता नभएकाले मृत्युदर भिन्न देखिएको लन्डनस्थित इम्पीरीअल कलेजको अनुसन्धानले देखाएको छ । तसर्थ जानकारीमा नआएका संक्रमणका कारण मृत्युदरको अधिक गणना गर्न सहज हुन जान्छ । तर यो ठ्याक्कै उल्टो पनि हुन सक्छ ।

कुनै पनि संक्रमण निको हुन वा त्यसका कारण मृत्यु हुन समय लाग्छ । संक्रमणको पूर्ण चक्र पार नगरिसकेका सबै जनालाई गणना गर्दा मृत्युदर कम आँकलन हुन जान्छ । किनभने अन्ततः मृत्यु हुने बिरामी छुट्न सक्छन् । मृत्युदरको स्थिति बुझ्न वैज्ञानिकहरू प्रत्येक प्रश्नसँग सम्बन्धित सबै प्रमाणहरू एकीकृत गर्छन् ।

उडानबाट फर्काइएका यात्रु, साधारण लक्षण देखा परेका र निकै कडा निगरानीमा राखिएका बिरामी तथा तोकिएको सानो समूहका मानिसको संक्रमणको अनुपात गणना गरिन्छ । तर त्यस्ता प्रमाणका अंशबाट आएको अलिकति फरक उत्तरले पनि समग्र चित्रमा ठूलो परिवर्तन गरिदिन सक्छ । अन्यत्रभन्दा उच्च मृत्युदर भएको चीनको हुबे प्रान्तको मात्र तथ्याङ्क प्रयोग गर्ने हो भने समग्र मृत्युदर निकै नै खराब देखिन्छ ।

त्यसैले वैज्ञानिकहरू एउटा सीमा बताउँछन् र विद्यमान सर्वोत्तम अनुमानित संख्या पनि । तर त्यसले पनि सबै कुरा भन्दैन किनभने मृत्युदर एउटै मात्र छैन । कोरोना भाइरस संक्रमण हुँदा केही प्रकारका मानिसमा मृत्यु हुने सम्भावना अधिक हुन्छ । त्यस्ता व्यक्तिमा वृद्ध, अस्वस्थ र सम्भवतः पुरुष पर्छन् । चीनका ४४,००० भन्दा बढी संक्रमणको विश्लेषणसहित गरिएको पहिलो अनुसन्धानमा अधबैँसे उमेरका मानिसको तुलनामा वृद्ध मानिसको मृत्युदर १० गुना बढी भएको पाइएको थियो ।

तीस वर्षभन्दा मुनि उमेर समूहमा मृत्युदर एकदमै कम पाइएको थियो । त्यस्तो उमेर समूहका ४,५०० संक्रमणमा आठ जनाको मात्र मृत्यु भएको थियो । अनि मधुमेह, उच्च रक्तचाप, मुटु वा श्वासप्रश्वाससम्बन्धी समस्या भएका मानिसमा मृत्युदर पाँचगुना बढी पाइएको थियो । त्यस्तै महिलाको तुलनामा पुरुषको मृत्युदर केही बढी देखिएको छ । यी सबै कारणले एकअर्कालाई प्रभाव पार्छन् र हामीले अहिलेसम्म पनि सबै स्थानका प्रत्येक किसिमका मानिसका लागि कस्ता खतरा छन् भन्ने पूर्ण तस्बिर पाउन सकेका छैनौँ ।

चीनमा बस्ने ८० वर्षका पुरुषको समूह र युरोप वा अफ्रिकामा बस्ने त्यही उमेर समूहका पुरुषका लागि खतरा निकै फरक हुन सक्छ । तपाईंको रोगको निदान तपाईंले पाउने उपचारमा पनि भर पर्छ । के उपलब्ध छ ? र महामारी कुन चरणमा छ भन्नेमा पनि यो निर्भर हुन्छ ।  केही क्षेत्रमा मात्र विशेष स्वास्थ्यसेवा उपलब्ध छ । त्यसैले यदि महामारी फैलियो भने स्वास्थ्यसेवा प्रणालीहरू समस्याग्रस्त बन्न सक्छन् ।

हामी मृत्युदरलाई तुलना गर्न सक्दैनौँ किनभने सामान्य रुघाखोकीको लक्षणका बेला कहिल्यै पनि मानिसहरू चिकित्सककहाँ जाँदैनन् । त्यसैले हामीलाई प्रत्येक वर्ष कति रुघाखोकीका संक्रमण भए वा नयाँ भाइरस संक्रमण भए भन्ने थाहा हुँदैन । तर रुघाखोकीले लगातार मानिसहरूको मृत्यु भइरहेको छ र प्रत्येक वर्षको जाडोमा यस्तो हुने गर्छ ।  तथ्याङ्क परिपक्व हुँदै जाँदा वैज्ञानिकहरूले कोरोना भाइरसको प्रकोप आइपर्दा को सबैभन्दा बढी खतरामा हुनेछन् भन्ने स्पष्ट चित्र विकास गर्न सक्नेछन् ।

श्वासप्रश्वासबाट सर्ने भाइरसबाट जोगिन हात धुनुपर्ने सुझाव विश्व स्वास्थ्य सङ्गठनले दिएको छ । खोक्ने र हाछ्युँ गर्ने मानिसबाट जोगिएर र आफ्ना आँखा, नाक र मुख नछोएर पनि तपाईं आफूलाई भाइरसबाट केही मात्रामा बचाउन सक्नुहुनेछ ।  (बिबिसि अंग्रेजी संस्करणबाट नेपालीमा भावानुवाद गरिएको सामाग्री)